
काठमाडौं : जेनजी आन्दोलनपछिको कठिन परिस्थितिबाट देशलाई निकास दिन प्रधानमन्त्रीको कुर्सीमा पुगेकी थिइन्, पूर्वन्यायाधीश सुशीला कार्की । आन्दोलनकारी जेनजी र दलहरुको दबाब झेल्न नसकेपछि एक सय दिनमै उनी विरक्तिएकी छन् ।
तत्कालीन कांग्रेस–एमाले गठबन्धनको सरकार अपदस्त भएसँगै नेतृत्वविहीन भएको देशको बागडोर सम्हाल्न पुगेकी कार्कीले सुरुमा नागरिकले महसुस हुनेगरी जेनजीको भावनाअनुसार काम गर्ने उत्साह देखाएकी थिइन् । पुराना राजनीतिक दलहरूसँग छलफल नै नगर्ने, नेताहरुलाई छानबिनको दायरामा ल्याउने र फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रतिबद्धता देखिएकी कार्कीलाई यतिबेला आफ्नै पद निल्नु न ओकल्नु भएको हो । राजनीतिक दल, सर्वसाधारणदेखि युवा समूहसम्मबाट निरन्तर आलोचना र दबाब खेप्नुपरेको भन्दै उनले आफूहरू ‘कतै जाँदा पनि सुख नहुने’ अवस्थामा पुगेको गुनासो गरिन् ।
प्रधानमन्त्री कार्कीले आफूहरू राजनीतिक दलदेखि जेनजीसम्म सबैको निसानामा परेर अचानोजस्तो बनेको दुःखेसो गरिन् । ‘हामी अचानोजस्तो रहेछौं । राजनीतिक दलले पनि गाली गर्छन् । अहिले छोड्, भोलि नै छोड् भन्छन्’ बिहीबार एक सार्वजनिक कार्यक्रममा उनले बिलौना पोखिन्, ‘हामी पेन्डुलमजस्तो भयौं । तै पनि सकस गरेर, मेहनत गरेर धैर्यका साथ काम गर्दै छौं ।’ जेनजीकै २५÷३० वटा समूह रहेको भन्दै उनले फरक–फरक मागले हैरान भएको मात्र बताइन्, देश ‘बंगलादेश नबनोस्’ भन्ने कामनासमेत गरेकी छन् ।
गत भदौ २३ र २४ गते भ्रष्टाचारको विरोध, सुशासन कायम, सामाजिक सञ्जाल बन्द विरोध र भ्रष्टाचारीमाथि छानबिनको माग गर्दै जेनजी समूहले आन्दोलन गरेका थिए । पहिलो दिनको शान्तिपूर्ण आन्दोलनले एकाएक उग्ररूप लिँदा सरकार पक्षबाट आन्दोलनकारीमाथि वानेश्वरमा गोली चलाउँदा १९ आन्दोलनकारीको मृत्यु भएको थियो । त्यसैको प्रतिवादस्वरूप जेनजी, उनका परिवार र समर्थकहरूले २४ गते राज्यसत्ता नै परिवर्तन गरेका थिए । देशका प्रमख प्रशासनक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालयसहित देशभरका सरकारी संरचना ध्वस्त भएका थिए । त्यस्तै, कांग्रेस, एमाले, माओवादी नेकपा एससमेत राजनीतिक दलका कार्यालय र नेताका घर आन्दोलनकारीको निशानामा परेका थिए ।
यसै घटनाको वरिपरि रहेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा नभएको तर आफ्नो अभिभावकीय भूमिका उपयोग गर्दै कार्कीलाई भदौ २७ को मध्यरातमा प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनले सोही दिन प्रतिनिधि सभाको विघटन गरी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको नियुक्ति र उनले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको छ । विचाराधीन अवस्थामा रहेको उक्त रिटलाई बलियो बनाउन तत्कालीन सत्ता पक्षका अधिकांश सांसदहरूले संसद् पुनर्स्थापनाको माग गर्दै पूरक रिट दर्ता गराएका छन् । यसले उनीमाथि थप दबाब बढाएको छ । पुराना दलका शीर्ष नेताहरूसँग संवाद नै नगर्ने बताएकी कार्कीले मंगलबार राष्ट्रपतिको रोहवरमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेकी छन् । तर उक्त वार्तामा समेत उनलाई नेताहरूले चुनावमा जानेभन्दा पनि संसद् ब्युँताउनेतर्फ बढी दबाब दिएका थिए । दलहरूले आफ्नो राजनीतिक एजेन्डालाई लिएर दबाब दिँदै गर्दा उनलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका जेनजी अगुवा सुदन गुरुङ, मिराज ढुंगानासहितका युवाहरूले सरकार छाड्न दबाब दिइरहेका छन् ।
विभिन्न समूहमा विभाजित जेनजीका अगुवाहरूले छुट्टाछुट्टै भेट्ने र आआफ्ना माग राख्दै जाँदा प्रधानमन्त्रीले नियमित काम गर्नसमेत सकेकी छैनन् । प्रतिनिधि सभाको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने योजनासहित निर्वाचनको तयारी गरेको सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरू समेत तनावमा परेका छन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय केही युवाहरूले ‘निर्वाचन किन चाहियो ?’ भन्ने प्रश्न उठाइरहेको उल्लेख गर्दै वैधानिकता, कानुनी शासन र लोकतन्त्रको निरन्तरताका लागि निर्वाचन अनिवार्य हुने बताइन् । ‘यो संसारकै नियम रहेछ, कानुन रहेछ । वैधानिक र अवैधानिक छुट्याउने आधार नै निर्वाचन हो,’ उनले भनिन् । उनले सरकार निरन्तर रहिरहे तानाशाही हुन्छ भन्ने भाष्य निर्माण गरिएकोप्रति पनि असन्तुष्टि जनाएकी छन् । ‘यही सरकार चलिरह्यो भने तानाशाही हुन्छ, यिनीहरू सरकारमा खान आएका रहेछन्, टाँसेरै बसेका रहेछन् भन्ने आरोप लगाइन्छ,’ उनले भनिन् ।
निर्वाचनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा उनले लोकतान्त्रिक प्रणालीमा निर्वाचन अपरिहार्य रहेको दाबी गरिन् । ‘युवाहरूबाटै निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ । केही गर्दा पनि सुख नहुने । २५ वटा ३० वटा जेनजी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने कामना छ । बंगलादेशचाहिँ नहोस्,’ कार्कीले भनिन् । वर्तमान सरकार गम्भीर दिक्दारी र दबाबको अवस्थाबाट काम गरिरहेको उनले दुःखेसो पोखिन् । उनले पद छोडेपछि समेत आलोचना नरोकिने प्रवृत्ति हाबी हुने बताइन् ‘पद छोडेको भोलिपल्ट फेरि थुक्क पालो त दिएको थियो नि, औकात त तिमीहरूको छोडेर हिँड्ने न रहेछ भनेर अर्को भाष्य आउँछ,’ उनले भनिन् ।