
‘जेठो छोराले नेपाली राम्रै गरी बोल्छ तर लेख्न सक्दैन । कान्छोले अलिक अप्ठ्यारो मान्दै आधाउदी नेपाली बोल्छ । तर उसको कोठामा चारै तिर पशुपति, स्वयम्भु, बौद्ध र नेपालको नक्साका तस्बिर टाँसिएको छ । हामी उनीहरूले सिकुन् भनेर घरमा नेपाली नै बोल्छौं’, बेलायतका गैरआवासीय नेपाली अभियन्ता डा. हेमराज शर्माले सुनाए । शर्माका बेलायतमै हुर्केका दु्ई छोराहरू नेपालसँग जोडिएको महसुस गर्छन्, तर नेपाली पढ्न गाह्रो मान्छन् ।
काठमाडौंमा अहिले चलिरहेको एनआरएनएको १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका उनको उत्कट चाहना छ– आफ्ना सन्तानको रगतमा आफ्नो जैविक गुण जस्तै गरी सांस्कृतिक गुण पनि सर्लक्क छिरोस् । नेपाली धरातलबारे सकेसम्म बढी जानकारी राखुन् र नेपाललाई आफूूले जस्तै माया गरुन् ।
बृहत् एकताका लागि भनिएको यो महाधिवेशन भड्किएको संगठनात्मक एकतालाई लयमा ल्याउने प्रयास जस्तै अर्को विषयमा पनि ऐतिहासिक हुँदैछ, त्यो हो– विदेशमा जन्मेर हुर्केका वा प्रारम्भदेखि नै त्यतै शिक्षा लिएका सन्तानलाई नेपाल चिनाउने, बुझाउने र उनीहरूको मनमा नेपालका लागि केही गर्नुपर्छ भन्ने भावनाको विजारोपण गरिदिने संयन्त्रको निर्माण ।
यो संयन्त्रमार्फत नयाँ पुस्तामा नेपालीप्रति अपनत्वको भावना जगाउने र हुर्कँदै जाँदा उनीहरूको नेपाल कनेक्सन गाढा र गहिरो बनाउँदै नेपालको हितमा कुनै न कुनै ढंगले संलग्न गराउने कामको नेतृत्व गर्ने लक्ष्य छ । सबैभन्दा ठुलोे लक्ष्य, नेपालीपन र नेपालीत्वलाई पुस्तौं पुस्तासम्म अहिलेका एनआरएनए जस्तै गरी कायम राख्ने । यसका लागि एनआएनए संगठन मै दोस्रो पुस्ताको संरचना राखिएको छ । हंडकडमै जन्मे हुर्केर त्यहीको सौन्दर्य प्रतियोगिता जितेकी नयाँ पुस्ताकी एनआरएन दीपमाला ढकाललाई दोस्रो पुस्ताको एनआरएनए संयोजन गर्ने जिम्मा दिइएको छ ।
यसो गर्नुको मुख्य कारण उहीँ जन्मेका पुस्ताले नेपालसँगको नाता नबिर्सिउन् भन्ने नै हो । पहिलो र दोस्रो विश्वयुद्धमा नेपाल बाहिर गएर बर्मा, थाइल्याण्ड, मलेशिया र फिजी लगायत विश्वका अनेका ठाउँमा छोडिएका नेपालीहरुको पाँचौं पुस्ताबारे कमैले ध्यान दिने गरेको शर्मा बताउँछन् । ‘तिनीहरुले न नेपाली भाषा विर्षेका छन् न त सँस्कृति । बरु हामी बोल्दा धेरै शब्द अंग्रेजी मिसाएर बोल्छौं , उनीहरुको नेपाली शुद्ध छ’ , उनको भनाई छ ।
तर युरोप अमेरिका आदि समुद्रपारका देशमा जन्मिएका नेपालीहरुको अवस्था फरक छ । ठोस काम नगरे प्रारम्भिक शिक्षा देखि सबै कुरा उतैको देखे सुनेका दोस्रो पुस्ताका गैर आवासीय नेपाली सन्तानलाई नेपाली सँस्कृति सिकाउने र नेपालप्रतिको माया जगाउन कठिन छ भन्ने कुराको आभास हुन थालेपछि संस्थागत रुपमै यसलाई अघि बढाउन खोजिएको शर्मा बताउँछन् ।
सन् २००३ मा उपेन्द्र महतोहरुले गैरआवसीय नेपालको अभियान सुरु गर्दा विदेशमा सबै जसो नेपाल मै जन्मे हुर्केर अवसरको खोजीमा विदेश पुगेकाहरू मात्र थिए । त्यतिबेला खासै नसोचिएको यो विषय २३ वर्ष यता आउँदा सबैले ध्यान दिनुपर्ने अवस्थामा पुगेको छ । ‘विदेशमा नेपाली समुदायले नेपाली भाषा सिकाउन कक्षाहरु चलाईरहका छन् । ‘दशैं तिहार चाड पर्व पुरा समय दिएर र त्यहीँ जन्मेका नेपालीले राम्रोसँग बुझुन् भन्ने उद्देश्यका साथ मनाउने गरिएको छ’, शर्माले थपे ।
सकेसम्मका प्रयास गर्दा पनि नयाँ पुस्तालाई नेपाली माटोसँग आवश्यक मात्रामा जोड्न नसकिएको अनुभूति गरिएको शर्मा बताउँछन् । यसका लागि नयाँ पुस्ताका एनआरएनसँग सम्पर्क र समन्वय गर्न संयन्त्र स्थापना गर्न खोजिएको भनाई पनि उनको छ ।
ढकालको संयोजनमा बनेको समितिलाई विदेशमै जन्मिएका गैर आवासीय नेपालीहरुको पहिचान गर्ने, अभिलेख राख्ने र उनीहरुलाई नेपालसँग जोडने बाटाहरुको पहिचान गर्ने अधिकार दिइएको छ । यसक्रममा त्यो पुस्ताले भोगिरहेको समस्याको समेत पहिचान गरी समाधानका रणनीतिहरु बताउने ध्येय पनि एनआरएनए अन्तर्राष्ट्रिय समितिको छ ।
‘जसरी हामी पहिलो पुस्ताका गैरआवासीय नेपालीहरूको सञ्जाल बनेको छ, त्यसै गरी उहीँ जन्मेका पुस्ताको पनि सञ्जाल बनोस् भन्ने चाहन्छौं’, उनले भने । नयाँ पुस्ताका एनआरएनहरु शिक्षा, खेलकुद वा साँस्कृतिक निश्चित अवधिको कार्यक्रम लिएर नेपाल ल्याउने योजना बनेको जानकारी पनि उनले दिए ।
‘जब उनीहरुलाई भेटछौं, उनीहरुलाई नेपालमा कस्तो वातावरण चाहिन्छ भन्ने कुरा उनैले भन्नेछन्’ उनको भनाई छ ।
नयाँ पुस्ताको संयोजनको जिम्मा पाएकी दीपमाला ढकाल इन्जिनियरिङ गर्न चिन पुगेका र फर्किदा हङकङको भव्यता र त्यहाँ अवसर देखेर त्यतै रमेका अविभावकबाट विदेशमै जन्मिकी हुन् । यो वर्षको मिस नेपाल हङकङ इन्टरनेसनलको उपाधी जितेकी ढकाल प्रत्येक पटक नेपाल आउँदा आफू नेपाली माटोप्रतिको प्रेम थप गाढा हुने गरेको बताउँछिन् ।
‘उतै जन्मेको म नेपाल आउँदा सबै जना आफू जस्तै रहेछन् भन्ने लाग्थ्यो । पछि जति बुझदै आएँ त्यति नै मेरो सबै कुराको मुहान न नेपाल मै रहेछ भन्ने महसुस भयो । अहिले मलाई आफ्नो पुस्ताका साथीहरुसँग मिलेर नेपालका लागि केही गरौं भन्ने छ’, मध्यान्ह सँग कुरा गर्दै उनले भनिन् ।
‘अहिले पढेलेखेका युवाहरु विदेश गएको समस्या छ । समयमै सम्बोधन नगरे दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाल चिनेनन् वा बुझेनन् वा चिनेनन् भन्ने समस्या त्यो भन्दा ठूलो हुँदैछ’, दीपमालाको निश्कर्ष छ । यसलाई आफूहरुले सम्बोधन गर्न थालेको बताउँदै उनी भन्छिन्, संसारका ९० देशमा नेपाली फैलिएका छन् सबै देशका दोस्रो पुस्ताका एनआरएनको परिस्थित र अवस्था फरक फरक छ यसैलाई संयोजन गर्नु अहिलेको मुख्य चुनैति हो‘
एनआरएनएका अध्यक्ष बद्री केसीकी छोरी समिरा केसी दोस्रो पुस्ताका गैरआवासिय नेपालीमा नेपाली सँस्कृति छिराउन साँस्कृतिक कार्यक्रम, नियमित भेटघाट र आबद्धता लगायतका थुपै उपाय अपनाउन सकिने बताउँछिन् । आफू बेलायतमा हु्र्किँदा नेपालीहरुको चाडपर्व आदिले धेरै कुरा सिकाउने गरेको उनको अनुभव छ ।