
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)की दिदी सुजाता शाह भने भारतमा बसोबास गर्छिन् । बिबिसी न्युज हिन्दीसँगको विशेष कुराकानीमा उनले आफ्नो भाइको बाल्यकाल, सोच र राजनीतिक यात्राबारे अनुभव सुनाएकी छन् ।
कुराकानीका क्रममा उनले सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि बालेनले भूकम्पबाट हुने क्षति कम गर्न सक्ने संरचना निर्माणबारे अध्ययन गर्न भारतको बेंगलुरुमा स्ट्रक्चरल इन्जिनियरिङ पढेको बताएकी छन् ।
सुजाता जी, हामीसँग कुरा गर्नुभएकोमा धेरै–धेरै धन्यवाद । चुनावको नतिजा आएपछि तपाईंको भाइसँग कस्तो कुरा भयो ? उहाँले के भन्नुभयो ?
चुनावको बेला म उसलाई धेरै डिस्टर्ब गर्न चाहन्नथें, त्यसैले प्रायः म्यासेज नै गर्थें । भोटिङ भएको दिन भने मैले फोन गरेर कुरा गरेकी थिएँ । मेरो सधैं एउटै चिन्ता हुन्छ—उसले आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल राखिरहेको छ कि छैन भन्ने ।
एउटी दिदीले सधैं आफ्नो सानो भाइमा आफ्नै बच्चा देख्छे, त्यसैले उसको चिन्ता लागिरहन्छ ।
तपाईंलाई बाल्यकालका कस्ता कुराहरू सम्झना आउँछन् ?
ऊ मभन्दा चार वर्ष सानो छ । मैले उसलाई सानैदेखि हुर्किँदै गरेको देखेकी हुँ । ऊ चकचके बिल्कुलै थिएन । सानैमा पनि ऊ एउटा ‘ज्ञानी पुरुष’ जस्तो लाग्थ्यो । उसको कुरा गर्ने शैली, विचार, कुनै पनि प्रश्नको जवाफ दिँदा ठुला मानिस वा पाका व्यक्तिले जस्तो गम्भीर जवाफ दिन्थ्यो । त्यसले गर्दा कहिलेकाहीँ मानिसहरू हाँस्थे, तर उसको जवाफ सुनेर छक्क पनि पर्थे ।
ऊ एकदम स्पष्ट स्वभावको थियो । उसले के गर्ने, कुन उमेरमा के गर्नुपर्ने भन्ने कुरा सोचविचार गरेरै गर्थ्यो जस्तो लाग्थ्यो । उसको स्वभाव नै त्यस्तै थियो ।
उहाँ भारतमा कहिले र के पढ्न आउनुभयो?
सन् २०१५ मा नेपालमा ठुलो भूकम्प गएको थियो । त्यतिबेला ऊ एउटा फर्ममा सिभिल इन्जिनियरको रूपमा काम गरिरहेको थियो । ऊ छुट्टै ठाउँमा थियो, हामी काठमाडौंमा थियौं । भूकम्पपछि सबै मानिस घरबाहिर बस्नुपर्ने अवस्था थियो ।
जब ऊ फर्केर आयो, त्यसपछि केही समयपछि मलाई भारत छोड्न आयो । त्यो बेला परकम्पहरू पनि धेरै आइरहेका थिए, त्यसैले म परिवार छोडेर आउन चाहन्नथेँ । अन्ततः ऊ मलाई मेरो बच्चासहित यहाँ ल्याएर छोड्न आयो ।
त्यही समयमा उसलाई बैंगलोरसँग लगाव बस्यो । त्यहाँका मानिसहरू, संस्कृति र पारिवारिक वातावरण उसलाई निकै मन पर्यो । उसलाई मेरो बच्चा अर्थात् आफ्नो भान्जाप्रति पनि धेरै माया थियो ।
त्यसपछि उहाँले त्यहीँ मास्टर्स गर्ने निर्णय गर्नुभयो ?
हो, सम्भवतः त्यतिबेलै उसले सोचेको होला—यतै मास्टर्स गरौं भनेर । उसलाई स्ट्रक्चरल इन्जिनियरिङ पढ्ने मन थियो । ऊ पहिले नै सिभिल इन्जिनियर थियो ।
नेपाल भूकम्पको जोखिम भएको देश हो । भूकम्प आउँदा कम क्षति हुने संरचना कसरी बनाउने भन्ने अध्ययन गर्न चाहन्थ्यो । त्यसैले उसले बैंगलोरको नित्य मीनाक्षी कलेजमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्न आयो ।
यहाँ आएपछि के उहाँका विचारहरू बदलिएका थिए ? विशेषगरी राजनीतिबारे ?
राजनीतिमा ऊ पहिले पनि थिएन । हामीसँग राजनीति बारे खासै कुरा गर्दैनथ्यो । ऊ आफ्नो मनको दुःख पनि खासै भन्दैनथ्यो, बरु समस्याको समाधान लिएर मात्र आउँथ्यो ।
त्यसैले हामीलाई थाहा नै भएन कि ऊ राजनीतिबारे सोचिरहेको छ भनेर ।
त्यसबीच उहाँ र्याप संगीतमा पनि निकै चर्चित हुनुभयो ?
हो । स्ट्रक्चरल इन्जिनियरिङ पढ्दाखेरि पनि ऊ र्यापरका रूपमा निकै चर्चित भइसकेको थियो । र्याप ब्याटल जितेको थियो । उसले धेरै एल्बमहरू निकाल्यो, जसमा सामाजिक मुद्दाहरू गहिराइका साथ उठाइएका हुन्थे । उसका शब्दहरू धेरैको मन छुने खालका हुन्थे ।
र्याप संगीतमा रुचि कहिलेदेखि सुरु भयो ? परिवारमा संगीतको माहोल थियो ?
हाम्रो बुबा निकै राम्रो कवि हुनुहुन्थ्यो । उहाँ आयुर्वेद चिकित्सक हुनुहुन्थ्यो, तर कविता लेख्नु उहाँको सोख थियो । संस्कृतका धेरै श्लोक उहाँलाई कण्ठस्थ थिए ।
त्यसैले बुबाको विचार र अभिव्यक्तिको प्रभाव पनि उसमा परेको हुन सक्छ ।
र्याप संगीतको रुचि नेपालमै सुरु भएको हो ?
हो, नेपालमै—कक्षा ९ मा पढ्दादेखि । त्यसैले बालबालिकादेखि युवासम्म सबैले उसलाई मन पराउँछन् । धेरै वृद्धहरूले त उसलाई भगवानको अवतारजस्तै भन्छन् ।
परिवारका ज्येष्ठ सदस्यहरूलाई र्याप संगीत कत्तिको मन पर्थ्यो ?
सुरुमा त हामीलाई यो विधाबारे धेरै ज्ञान नै थिएन । धेरै र्याप गीतमा गाली–गलौज हुने धारणा थियो ।
तर उसको र्याप एकदम सभ्य थियो । र्याप भनेको आफ्नो पीडा वा आक्रोश व्यक्त गर्ने माध्यम हो । उसले पनि पीडा व्यक्त गर्यो, तर सभ्य भाषामा ।
उसका गीत देश र समाजका लागि हुन्थे । ‘सडक बालक’ जस्ता गीतले सडकमा रहेका बालबालिकाको समस्या उठाएको थियो । त्यसैले बच्चादेखि युवासम्म सबैको मन छोयो ।
र्यापरको छवि चुनावमा कत्तिको काम लाग्यो ?
नतिजा हेर्दा त्यसले केही न केही भूमिका खेलेको जस्तो लाग्छ । तर उसले आफ्नो छविलाई चुनाव जित्न प्रयोग गरेको होइन ।
ऊ पहिलेदेखि नै समाजका नकारात्मक पक्षविरुद्ध आवाज उठाइरहेको थियो । उसले आफ्नो कविता र र्यापमार्फत ती कुरा दुनियाँसामु ल्यायो ।
तपाईंलाई कहिल्यै लाग्यो कि उहाँ एकदिन प्रधानमन्त्री बन्न सक्नुहुन्छ ?
पहिले त बिल्कुलै लागेको थिएन । तर जब ऊ मेयर बन्यो र उसले गरेका कामहरू देखियो- संस्कृति, परम्परा, पुराना मठ–मन्दिरहरूको संरक्षण, त्यसपछि भने लाग्न थाल्यो कि देशलाई अहिलेको अवस्थाबाट माथि उठाउन ऊजस्तो नेतृत्व आवश्यक हुन सक्छ ।
भारत–नेपाल सम्बन्धका सन्दर्भमा उहाँले के भूमिका खेल्न सक्नुहुन्छ ?
मलाई लाग्छ, सम्बन्ध अझ सुधारिनेछ । म उसलाई परम्परागत राजनीतिज्ञका रूपमा कहिल्यै हेर्दिनँ । उसको सोच र भाषण पनि त्यस्तो छैन ।
भारत र नेपालको सम्बन्ध त शताब्दीयौँ पुरानो हो । कसैले सजिलै तोड्न सक्दैन । अहिले देखिएको समस्या पनि अस्थायी मात्र हो ।
अन्तिममा, तपाईंलाई राजनीतिमा कत्तिको रुचि छ ?
मलाई राजनीति कहिल्यै खासै रुचिको विषय थिएन । हाम्रो परिवारमा पनि कोही राजनीति गर्ने सोचमा थिएन ।
तर अहिले देशका धेरै प्रतिभाशाली युवा विदेश गएका छन् । देश खाली हुँदै गएको छ । बालेनले युवाहरूलाई जिम्मेवारी लिन प्रेरित गरिरहेका छन्- देशमै फर्केर काम गर्न । ताकि हाम्रो पुस्ता र आउने पुस्ताले अझ राम्रो जीवन जिउन सकून् ।