२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कांग्रेस र एमाले आमने–सामने

ADV
दिवाकर अधिकारी
२०८१ जेठ २५ गते ०६:५५
कांग्रेस र एमाले आमने–सामने

काठमाडौं : जेठ २२ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धुु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने काम कानुन अनुसार भएको बताए । उक्त कानुन संसदले बनाएको र त्यसबेला कांग्रेसले संशोधन नहालेको अभिव्यक्ति दिए । 

बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने गरी कानुन बनाउँदा कांग्रेसका तत्कालीन सांसदहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभामा संशोधन हालेको भन्दै प्रतिवाद गरे । कांग्रेसका तकालीन सांसद राधेश्याम अधिकारीले राष्ट्रिय सभामा संशोधन राखेको तर उनको संशोधन बहुमतले अस्वीकृत भएको शर्माले सुनाए ।

‘जग्गा स्ट्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिन सकिने व्यवस्था सहितको विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएपछि राधेश्याम अधिकारले संशोधन हाल्नुभयो । तर विधेयक बहुमतले पारित भयो । कांग्रेसले विरोध गर्‍यो । त्यो मिति २०७६ साल भदौ ३० र ३१ गते थियो’ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री शर्माले भने । 

प्रतिनिधिसभामा २०७५ फागुनमा विधेयक पुगेको र त्यसबेला कांग्रेसका तत्कालीन सांसदहरू डिला संग्रौला, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी र देवप्रसाद तिमिल्सनाले संशोधन हालेको पनि महामन्त्री शर्माले बताए । यो पछिल्लो उदाहरण हो । यी दुई दल विभिन्न विषयमा निरन्तरजसो वाद–प्रतिवादमा उत्रिरहेका छन् । 

कांग्रेस र एमालेका नेताहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को शैलीलाई लिएर फरक दृष्टिकोण राखिरहेका छन् । यो विषयमा समेत नेताहरु एक अर्कोप्रति छेडखानी गरिरहेका छन् । 

कांग्रेस नेताहरु बालेनलाई काम गर्न दिनुपर्ने र उनको अधिकार क्षेत्रमाथि संघीय सरकार पस्न नहुने बताइरहेका छन् । एमाले नेताहरु कांग्रेसले बालेन शैलीको समर्थन गरेर अराजकतालाई प्रशय दिन लागि परेको आरोप लगाइरहेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकार क्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि बताए । ‘संघ र स्थानीय तहको विवादमा संयमित संघ हुनुपर्छ । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई काम गर्न दिनुपर्छ । यसमा हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपछ’ उनले भने । 

बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामन्त्री शर्माको अनुरोध छ । ‘काठमाडौंको मेयरसँग भिड्न परे उपमेयरलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीमा प्रतिनिधिलाई भन्नुपर्छ नि’ महामन्त्री शर्माको सुझाव छ । 

कांग्रेसकै सांसद कान्तिका सेजुवालले संघीय सरकारको भौत्तिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्युरोडमा काठमाडौं महानगरको योजना अनुसार काम गर्नमा रोकेको बताइन् । 

‘कि स्थानीय तह सरकार संचालन ऐन खारेज गरौं । स्थानीय तहको जुन संविधानमा परिकल्पना गरिएको छ, त्यो खारेज गरौं । होइन भने बालेनलाई काम गर्न किन नदिने ?’ सेजुवालको प्रश्न छ ।

यही जेठ २१ गते काठमाडौंको न्युरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगर नगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्युरोडमा विवाद भएको थियो ।

फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले भत्काएको न्युरोड–इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाएको छ । विभागको यस्तो कार्यले बालेनको योजना कार्यान्वयन हुन नसकेको सांसद सेजुवालले बताइन् ।

‘न्युरोड, वसन्तपुर, ठमेलमा किन गाडी हिड्ने रोड चाहियो ?’ उनी प्रश्न गर्छिन्, ‘फराकिलो गर्नका लागि, फुटपाथका व्यापारीहरुलाई श्रमजिवीहरलाई गरी खान नदिने ? बालेनको जुन उदेश्य थियो, जुन भिजन थियो त्यसलाई हामी समर्थन गर्छौं । म समर्थन गर्दछु ।’

काठमाडौं महानगरले फुटपाथका लागि काटेको सडक विभागले टालेको उल्लेख गर्दै उनले पैसा धेरै भए कर्णालीका सडक बढाउनेमा खर्च गर्न सुझाइन् ।

उनी भन्छिन्, ‘संघीय सरकारको भौतिक मन्त्रालयले बजेट बढी छ भने कर्णालीको सडक जो मृत्यु मार्ग बनिरहेको त्यसमा लगानी गरोस्  । होइन भने बालेनलाई, काठमाडौं महानगरपालिकालाई काम गर्ने वातावरण दिइयोस् ।’

तुरुन्तै एमाले नेताहरु कांग्रेसका नेताहरुको भनाइको प्रतिवादमा उत्रिए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बालेन शाहको शैलीलाई समर्थन गरेर कांग्रेसले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथि अपमान गरेको टिप्पणी गरे ।

बालेनले गरिरहेको काम स्वाभाविक प्रकृतिको नभएको उनको भनाइ छ । बालेनले सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू लेखेर समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको उनको टिप्पणी छ । देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर बालेनको टिप्पणी तल्लोस्तरको रहेको बताए ।

‘शीर्षस्थ नेताहरू, जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरूले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रस्तुति मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली कांग्रेसका महामन्त्रीज्यूले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो’ उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise