२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैद्यगुरु : सङ्गत र सम्झनामा

ADV
२०८१ साउन १५ गते ०६:२०
वैद्यगुरु : सङ्गत र सम्झनामा

–डा.उद्धव पुरी

इतिहासका विज्ञ र इतिहास प्राध्यापनका ज्येष्ठ गुरु प्राध्यापक डाक्टर तुलसीराम वैद्य, अब यस संसारमा स–शरीर छैनन् तर, पनि उनका योगदान एवम् कृति सधैँ रहिरहने छन् । शिक्षा क्षेत्रकै सेरोफेरोमा रहेर ८५ वर्षको उमेरमा परलोक भएका वैद्य जन्मको आधारले पनि नेपालको राणा कालदेखि गणतन्त्र अनि त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय देख्ने, भोग्ने र जान्ने व्यक्तित्व थिए । मूलघर काठमाडौँको त्रिपुरेश्वर वैद्य चोकमा रहेका वैद्य परिवार, दरबार र राणाहरूको स्वास्थ्य उपचारमा संलग्न राजवैद्य र राणाहरूको विश्वासपात्र भएर प्रशासनिक कार्यमा संलग्न हुँदै आएको खानदानी र शिक्षित सन्तान हुन् । दरबारी सेवामा संलग्न गोपालदास वैद्य र मिठाई वैद्यका ज्येष्ठ सुपुत्र उनी थिए । नेपालको दरबार, तत्कालीन अवस्था, राजनैतिक परिवर्तन, पञ्चायतकाल, बहुदलीय व्यवस्था र गणतन्त्रसम्मको अनुभव सँगालेका वैद्य आफै पनि इतिहास र उपत्यकाको संस्कार र संस्कृतिका ऐतिहासिक पाना बनिसकेका थिए । वास्तवमा उनका विषयमा देख्न र लेख्न सकिने विषयहरू धेरै छन् । ती सबैको व्याख्या र विश्लेषण यहाँ गर्न सकिँदैन । 

उनीसँगको सङ्गत, सामिप्यता र सहकार्यमा जोडिन पाउनु जो कोहीका लागि महत्त्वपूर्ण अनुभूति हुन सक्दथ्यो । वैद्य गुरुसँग वि.सं. २०३७ सालदेखि स्वयम् पंक्तिकार र पंक्तिकारकी श्रीमतीलाई परिचित हुने अवसर मिल्यो । त्यसबेला पंक्तिकारले पत्रकारिता पनि भर्खर सुरु गरेको थियो । उनीसँगको विविध कार्यले धेरै नजिकसम्म ल्यायो । पारिवारिक रूपमा घरमा आवत–जावत पनि हुने अवस्था बनेको थियो । उनीसँगको संगतमा रहँदा उनको दीनचर्यामा परेका राम्रा–नराम्रा धेरै अनुभवहरू देख्न र सुन्न पाइयो । धेरै अनुभवी र विज्ञहरूसँग चिनजान र सङ्गत गर्ने अवसर भेटियो । जसले धेरै व्यक्ति, विषय र घटनाहरूको वास्तविकतालाई नजिकबाट बुझ्न र अनुभव गर्न पनि पाइयो । यसले आफैलाई पनि सक्षमता र स्वाभिमानको पाठ सिकायो । विगतका उनीसँगको संगतको केही सम्झनाहरू लेख्नु उनको लागि पनि न्यायसङ्गत नै हुनेछन् । 

प्रा. डा. वैद्यको भनाइमा उनले इतिहास र राजनीतिक शास्त्र लिएर वी. ए. उत्तीर्ण भएपछि तत्कालीन राणा प्रशासनमा छिर्न बाटो खुलिसकेको थियो र धेरै आग्रह पनि भएको थियो । तर, पिताको निर्देशन र चाहना धेरै पढ्ने भएकोले इलाहबाद विश्वविद्यालयबाट आधुनिक इतिहासमा एम. ए. गरेर आए । त्यसपछि प्रशासन वा शिक्षा क्षेत्रमा लाग्ने भन्ने सम्बन्धमा पारिवारिक छलफलपछि प्राध्यापन कार्यमा लागे । रक्तचापको रोगी भएका कारण पनि छोरा काठमाडौँ बाहिर वा टाढा नजाओस् भन्ने भित्री मनसाय पितामा थियो । 

प्रा. डा. वैद्य वि. सं. २०१७ साल असार १८ देखि प्राध्यापन पेसामा संलग्न भए । जतिखेर स्वयम् पंक्तिकार जन्मेकै थिएन । उनी त्रिभुवन विश्वविद्यालय स्थापनापछि त्रिभुवन विश्वविद्यालयको हालको इतिहास विभागमा वि.सं.२०२१ सालदेखि आंशिक र वि.सं. २०२४ सालदेखि स्थायी भई संलग्न भए । उनी वि.सं.२०५९ साल फागुन १७ गते उमेर हदका कारण सेवाबाट निवृत्त भए । त्रिभुवन विश्वविद्यालयको लामो सेवा कालमा उनको खासै गुनासो देखिँदैन । प्राध्यापन बाहेक उनकै शब्द सारमा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय विकास सेवाको निर्देशक हुँदा र काम गर्दा उनले धेरै सन्तुष्टि पाएका छन् । जसका कारण तत्कालीन राजा वीरेन्द्रसँग पनि उनको राम्रै भेटघाट कुराकानी हुने गर्दथ्यो । 

राविसेमा संलग्न भएका सबै र पछि नेता र पदमा पुगेकाले पनि उनलाई राम्रोसँग चिन्दथे । राविसेको नेतृत्व गर्दा विद्यार्थीहरूको कार्य र आन्दोलन आदि लगायतका विषयमा थुप्रै घटनाक्रमहरू जोडिएका छन् । जुन नेपालको इतिहासका लागि पनि महत्त्व राख्दछन् । जसको लेखन छुट्टै अध्याय बन्नेछ । त्रिविमा उनले विभिन्न पदहरूमा काम गर्ने अवसर पाए । त्यसमध्ये केही पदहरूमा रहेको बेलामा भएका घटनाक्रमहरू उनलाई बिझाई रहने विषय बनेका थिए । उनले आफू निकटका जसलाई पनि भन्थे कि परीक्षा नियन्त्रक हुँदा सुधारको क्रममा कापी र प्रश्न पत्र छपाइका सम्बन्धमा लिएको निर्णयले विभिन्न घटनाक्रम उब्जाएर पूर्ण काल काम गर्न दिइएन भने आफ्नै इतिहास विभागबाट आमाको किरिया बसिरहेको बेलामा थमाउन ल्याइएको पत्र र पात्र सुखद स्मरण रहेनन् । 

यता उनको पिता पुर्खादेखि दरबार र राणाहरूसँग भएको सम्बन्ध र राविसे निर्देशक भएपछि राजा वीरेन्द्रसँग भएको निकटताले वैद्यकै भनाइमा उनको त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने चाहना राजाबाट पूरा गर्न लाग्दा तत्कालीन दरबारभित्रकै कारण अर्कै व्यक्ति भएको भए पनि पछि उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति बनाइयो । तर, त्यहाँ पनि लुुम्बिनी र बुद्ध जोडिएको कुनै पदमा जन्मदैका गैर बौद्धले पद पाउन नहुने भन्ने एकथरि जन्मदै बौद्ध हुनपर्छ भन्ने मान्यता राख्नेहरूले बेला–बेला सताउन खोज्थे । यो नेपालमा बौद्ध धर्मलाई संकोचको घेरामा राख्ने सोच हो, जसको अन्त्य गराउन पर्छ भन्थे । जुन पंक्तिकारलगायत अरूले पनि भोगेका छन् । त्यो रोग, त्यस क्षेत्रमा अहिले पनि छ । 

गौतम बुद्धको अनुयायी बन्न जन्मभन्दा शिक्षा ग्रहणको महत्त्व हुन्छ भन्ने बुद्धकै भनाई छ । प्रा. डा. वैद्यबाट नसिकी नहुने कुरा भनेको आफ्ना माता पिताप्रतिको सम्मान र आज्ञा पालन हो । उनको आफ्नै भनाइमा पितापछि केही गुरुहरू स्मरणीय छन् । उनले नाम लिने स्कुले गुरु विजयानन्ददेखि शिक्षा क्षेत्रमा प्रेरणाका स्रोत बनेका भैरवबहादुर प्रधान, प्रा. डा. विक्रमजित हसरत, प्रा.डा. बी. पी. सक्सेना, प्रा.डा. इश्वरी प्रसाद, गोकुलचन्द शास्त्री, प्रा.डा. माधवराज पाण्डे, प्रा. ओ. पी. भटनागर, प्रा. डा. वीरेन्द्र वर्मा लगायत पर्दछन् । उनीहरूले आफ्नो उन्नयनका लागि गरेको सहयोग र देनका बारेमा अनि उनीहरूसँगको सहकार्यका सम्बन्धमा फुर्सदमा कुरा गर्थे । अर्को महत्त्वपूर्ण कुरा धेरै गुरुहरू मुखले मात्रै सिकाउने वा यसो गर उसो गर भन्ने गर्दछन् तर, उनी यस्तो हुन्छ वा यस्तो लेख भनेर कापी कलम समाएरै गरिदिन्थे । 

लुम्बिनीसँग उनको बेग्लै सम्बन्ध थियो । लुम्बिनी विकासको गुरुयोजना भर्खर अगाडि बढ्दै थियो । गौतम बुद्धको जन्मस्थल र उनको पिताको राजधानी तिलौराकोट नेपालमा पर्दछ भन्ने व्यापक चर्चा संसारभर फैलिन थालेको थियो । त्यस समयमा श्रीलंकाका तत्कालीन राष्ट्रपति जे.आर. जयवद्धने ती क्षेत्रका भ्रमणका लागि नेपाल आउने भए । पथ प्रदर्शनका लागि राजा वीरेन्द्रले योग्य व्यक्तिको खोजी गरे र उनी भेटिए । प्रा. डा. वैद्यकै भनाइमा उनी त्यसअघि ती क्षेत्रमा पुगेका थिएनन् । राजाबाट हुकुम भएपछि नाइँ भन्ने कुरा पनि भएन । उनले छोटो समयमा धेरै अध्ययन गरेर भ्रमण दलमा सामेल भई त्यो जिम्मेवारी निर्वाह गरे । साथमै रहेका राजा वीरेन्द्र खुसी भए । त्यसपछि उनको बौद्ध शिक्षा, लुम्बिनी र त्यस क्षेत्रको संलग्नताको निरन्तरता पछिल्लो समयसम्म रहन गयो । 

जीवनमा साथीको स्वच्छ प्रेम, संलग्नता र महत्त्व निकै हुँदो रहेछ । जहाँ पद र प्रतिष्ठा न्यून हुँदो रहेछ । स्वयम् पंक्तिकारले प्रा.डा.वैद्य र प्रा.डा. मोहन लोहनीको सम्बन्धबाट देखेको र भोगेको छ । प्रा. डा. लोहनी त्रि.वि.कै अङ्ग्रेजी विभागका प्राध्यापक थिए । उनले तत्कालीन समयमा दरबारभित्रै गएर युवराजधिराजलगायतलाई पनि पढाएका थिए । पछि उनी नेपालको कूटनैतिक क्षेत्र र परराष्ट्र क्षेत्रमा पनि जोडिए । उनी र वैद्य स्कुल र कलेजका सहपाठी पनि रहेछन् । पुराना कुरा, छेड छाड र खाजा खाने विषयमा उनीहरूको निकै रोचक कुराकानी हुन्थ्यो । उनीहरूसँगको केही छोटो र लामो भेटघाट अनि ती यात्रामा स्वयमलाई पनि सहभागी हुने अवसर मिलेको थियो । जसबाट मित्रताको खुलापन र आत्मीयतालगायत नेपाल र ठुलाबडाका बारेमा धेरै सामान्य कुराहरू समेत जानकार हुने मौका मिलेको थियो । उनीहरूको पारिवारिक आत्मीयता पनि निकै आनन्ददायी लाग्थ्यो । प्रा. डा. लोहनी अहिले पनि सक्रिय जीवन बिताइरहेका छन् ।

प्रा. डा. वैद्यले वि. सं. २०२१ सालमा काठमाडौँकै वैनी कर्माचार्यसँग विवाह गरेका थिए । त्यसपछिको प्रा. डा. वैद्य र उनको घर परिवारलाई सहज र सक्षम रूपमा हालको अवस्थासम्म ल्याउन उनको निकै सहनशीलता र लगनशीलता देखिन्छ । दुई छोरी र एक छोरालाई सक्षम बनाउन, अनि घरमा आएका गुरुका साथीभाइ र विद्यार्थी (इतिहासका हाल जीवित रहेका सबै गुरुहरू उनका विद्यार्थीहरू मात्र छन्)हरूलाई यथास्थितिको सम्मानजनक व्यवहार सबैले सम्झिने गरेका देख्न र सुन्न पाइन्छ । त्यो निरन्तरता अहिले पनि छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise