
झापा : हेर्दै हिमाल अग्लाे, कोशी घुमेर जाऊ
आऊ रमाइलाे याे, काेसी घुमेर जाऊ
कोशी प्रदेशको झापाको बिर्तामोडमा 'रश्मि गजल गुञ्जन' सम्पन्न भएको छ । गजलकार रश्मि असफलका गजलहरू विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले एकल संगीत र स्वरमा प्रस्तुत गरेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको आयोजना तथा अनाममण्डली र सप्तक संगीत विद्यालय, बिर्तामोडको सहआयोजनामा २७ पुस आइतबार भएको कार्यक्रममा श्रेष्ठले असफलका विविध भावका ५ वटा गजल गाएका थिए ।
कोशी प्रदेशका प्रबुद्ध व्यक्तित्व, साहित्यकार तथा संगीतकर्मीको उपस्थिति रहेको कार्यक्रममा भारतको दार्जिलिङका संगीत साधक जीवनप्रकाश प्रधानको पनि सहभागिता थियो ।
कार्यक्रमलाई शुभकामना दिँदै स्रष्टा विवश बलिभद्र कोइरालाले रश्मि असफल आफैंमा कुशल शब्दशिल्पी भएकी र उनका गजलमा विश्व कीर्तिमानी संगीतकारले भरेको धून अनि दिएको गला स्वाभाविक रूपमै सुमधुर हुने बताए । उनले नेपाली गजल गायनले गति लिएकामा खुसी पनि व्यक्त गरे ।
संगीतकार जीवनप्रकाश प्रधानले अहिले नेपाली गजल गायन फैलिइरहेको अवस्थामा आफूले पनि 'मतला' एल्बम तयार पारेको र त्यही एल्बमका लागि नेपाल आएको सुनाए ।
'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०'का एक अभियन्ता तथा अनेगमका अध्यक्ष घनेन्द्र ओझाले गजल गायन अभियान १० वर्षभित्र सातै प्रदेशमा सञ्चालन गर्ने योजना अर्का अभियन्ता संगीतकार/गायक सन्तोष श्रेष्ठ र आफ्नो रहेको भन्दै २ वर्षभित्रै ३ वटा प्रदेशमा सम्पन्न भइसकेको र अब चाँडै मधेश र लुम्बिनीमा पनि गायन गरिने सुनाए ।
अभियानअन्तर्गत नै राधा कणेल र आफ्ना शब्दमा सन्तोष श्रेष्ठकै संगीत र स्वरमा 'नसोधी' एल्बम आइसकेको र ३ माघमा जीवनप्रकाश प्रधानको संगीतमा भारतको दार्जिलिङबाट प्रकाशित राधा, रश्मि र आफ्ना शब्द रहेको 'मतला' एल्बम पनि सार्वजनिक हुने जानकारी दिए ।

ओझाले गजलकार असफल र संगीतकार श्रेष्ठको छोटो परिचय दिँदै नारी गजलकारका एकल गजलको प्रत्यक्ष गायन कोशी प्रदेशमै पहिलो भएको बताए । असफल सशक्त र कुशल सर्जक भएकी भन्दै ओझाले उनलाई चाँडै गजलकृति प्रकाशनका लागि शुभकामना दिए ।
संगीतकार एवं गायक श्रेष्ठ लोकबाट आधुनिक हुँदै अहिले गजल संगीतमा सक्रिय रहेको भन्दै ओझाले श्रेष्ठ कुशल स्रष्टा पनि भएका बताए । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल श्रेष्ठले गजल, कथा र उपन्यास कृतिसमेत प्रकाशन गरिसकेका जानकारी पनि ओझाले दिए ।
कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका साहित्यकार पूर्वमुख्यसचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले नेपाली गजल गायन अभियानमा आफू पनि संलग्न रहेको र यस अभियानअन्तर्गत झापामा सुन्दर र भव्य कार्यक्रम भएकामा खुसी व्यक्त गर्दै गजलकार, संगीतकार र अभियानलाई बधाई र शुभकामना दिए ।
स्रष्टा, सञ्चारकर्मी एवं समाजसेवी खगिन्द्रा खुसीको कुशल संयोजन र सञ्चालनमा कार्यक्रम रोचक बनेको थियो ।