२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सविता खनालको उपन्यास ‘कायरा’ लोकार्पण

shivam cement
२०८२ पुष २८ गते १९:४१
Shares
सविता खनालको उपन्यास ‘कायरा’ लोकार्पण

काठमाडौं : साहित्यकार सविता खनालको नयाँ उपन्यास ‘कायरा’को लोकार्पण तथा परिचर्चा कार्यक्रम राजधानीको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा सम्पन्न भएको छ । साहित्यिक उपस्थितिले भरिएको उक्त कार्यक्रममा कृतिमाथि गहिरो विमर्श र विचार आदान–प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता अल्केमी प्रकाशनको तर्फबाट आख्यानकार घनश्याम खड्काले गरेका थिए भने वरिष्ठ बालसाहित्यकार तथा लेखक रामदेव पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए । विशेष अतिथिको रूपमा महाकाव्यकार डा. नवराज लम्सालले उपन्यासको साहित्यिक महत्व र यसको समकालीन सान्दर्भिकताबारे आफ्ना धारणा राखेका थिए ।

प्रमुख अतिथि पाण्डेले ‘कायरा’ले नेपाली साहित्यमा समावेशिता, पहिचान र मानवीय संवेदनाका विषयलाई कलात्मक र गहिरो ढंगले उठाएको बताए । 

लेखिका सविता खनालले उपन्यास लेख्दाको आफ्ना अनुभव कार्यक्रममा सुनाउँदै ‘कायरा’ सबै उमेर समूहका पाठकका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन् । युवा, विद्यार्थी, शिक्षक र अभिभावक सबैले जीवनका सूक्ष्म अनुभूति र आत्मसंघर्ष बुझ्न सकून् भन्ने उद्देश्यले यो कृति लेखिएको उनले बताइन् । जीवनका गहिरा द्वन्द्व र संवेदनालाई कलममा उतार्न पाउँदा आफूलाई सन्तुष्टि र खुशी मिलेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा साझा प्रकाशनका सदस्य जयन्ता पोखरेल तथा राष्ट्रिय जनसाहित्य संघ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र)ले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपन्यासको विषयवस्तु र शिल्पको प्रशंसा गरे । उनीहरूले लेखिकालाई आगामी साहित्यिक यात्राका लागि शुभकामना पनि दिएका थिए ।

ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे र दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले पनि वक्ताको रूपमा आफ्नो धारणा राख्दै ‘कायरा’ले नेपाली समाजका संवेदनशील पक्षहरूलाई प्रभावकारी रूपमा उठाएको बताए ।

कार्यक्रममा उपन्यासकार, कवि, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । छलफलका क्रममा वक्ताहरूले ‘कायरा’लाई केवल एउटा उपन्यास मात्र नभई जीवन बुझ्न मद्दत गर्ने संवेदनशील दस्तावेजको रूपमा व्याख्या गरे ।

समकालीन नेपाली साहित्यमा नयाँ स्वाद थप्ने कृतिका रूपमा हेरिएको ‘कायरा’ ले मानवीय संवेदना, साहस र आत्मसंघर्षका कथाहरूलाई उजागर गर्ने प्रयास गरेको सहभागीहरूको भनाइ थियो । उपन्यासले पाठकलाई जीवनका सूक्ष्म प्रश्नहरूसँग जुध्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरियो ।

महिला, पुरुष वा अन्य पहिचानभन्दा पनि मानिसलाई एक स्वतन्त्र व्यक्तिका रूपमा हेर्नुपर्ने सन्देश उपन्यासमार्फत दिन खोजिएको लेखिका खनालको भनाइ छ । उनका अनुसार ‘कायरा’ले पाठकलाई सोच्न, प्रश्न गर्न र संवेदनशील बहसमा सहभागी हुन उत्प्रेरित गर्ने ढोका खोल्नेछ ।

ताजा खबर

सम्बन्धित खबर