
क्वालालम्पुर : गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरको २०२५–२०२७ कार्यकालका लागि सर्वसहमतिमा निर्वाचित कार्यसमितिको नामावली जानकारी तथा अभिलेखका उद्देश्यले नेपाली राजदूतावास, क्वालालम्पुरमा औपचारिक रूपमा पेस गरिएको छ ।
नेपाली राजदूतावासको तर्फबाट कार्यबाहक महामहिम शु–श्री मुदिता बजाचार्य समक्ष नामावली बुझाइएको हो । उक्त अवसरमा संघका अध्यक्ष बेदना श्रेष्ठ, सचिव विनय हमाल तथा कोषाध्यक्ष तिलक श्रेष्ठको उपस्थिति रहेको थियो ।
छोटो भेटघाट तथा छलफलका क्रममा कार्यबाहक महामहिम बजाचार्यले मलेसियामा कार्यरत नेपाली समुदाय, विशेषगरी नेपाली श्रमिकहरूको समस्या समाधान, अधिकार संरक्षण तथा सेवामा सहज पहुँचका लागि एनआरएनए क्षेत्रीय समिति जोहोरसँग विगतमा झैं निरन्तर समन्वय, सहकार्य र सहयोग कायम रहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकहरूका श्रम अधिकार, कानुनी समस्या, स्वास्थ्य, आवास तथा आपतकालीन अवस्थासँग सम्बन्धित विषयहरूमा संघसँग सहकार्य गर्दै समाधान खोजिने धारणा समेत राखे ।
साथै समुदायभित्र एकता, अनुशासन र पारदर्शिताका साथ काम गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरे ।
कार्यसमिति तर्फबाट अध्यक्ष बेदना श्रेष्ठले नेपाली राजदूतावासले अहिलेसम्म प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा जोहोर क्षेत्रमा रहेका नेपाली श्रमिक, व्यवसायी तथा समग्र नेपाली समुदायको हितका लागि राजदूतावाससँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटका लागि अमूल्य समय प्रदान गरेकोमा नेपाली राजदूतावास, क्वालालम्पुर प्रति गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले विशेष हार्दिक धन्यवाद व्यक्त गरेको छ ।