२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

Nada
रासस
२०८२ माघ १ गते १३:३३
Shares
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवाः हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ ।    

ncell

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् ।  

यसमा पाँच हजार ८८४  विदेशी र  २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई रु तीन हजार र नेपालीलाई रु एक सयका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व सङ्कलन भएको जानकारी दिए ।

काठमाडौं उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाईंकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।

सम्बन्धित खबर