२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ट्राफिक सप्ताहको सन्देश

shivam cement
झलक शर्मा
२०८२ माघ ५ गते ०६:०५
Shares
ट्राफिक सप्ताहको सन्देश

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हाल ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२ मनाएको छ । ट्राफिक सप्ताह कार्यक्रममा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मानौँ’, ‘मापसे गरी सवारी साधन नचलाऔँ’, ‘लेन अनुशासन पालना गरौँ’, ‘तीव्र गति र जिकज्याक गरी सवारी नचलाऔँ’, ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका छन् ।

काठमाडौं उपत्यकामा दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । अत्यधिक सवारी चाप, साँघुरा तथा सवारी साधनको चाप थेग्न नसक्ने सडक, ट्राफिक नियमको उल्लंघनलगायतका कारणले गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ उत्पन्न भइरहेको छ । नेपालमा ट्राफिक जाम हटाउन प्रयोग गरिने आधुनिक प्रविधिको अभाव देखिन्छ । गएको भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन र त्यसपछिको आगजनीका कारण ट्राफिक कार्यालयहरू, सडकमा रहेका ट्राफिक लाइट तथा सांकेतिकरणमा क्षति पुग्दा पुनः ट्राफिक व्यवस्थापन परम्परागत शैलीबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

कठिन परिस्थितिमा पनि ट्राफिक प्रहरीले सडक सुरक्षामा खटिएर देखाएको दायित्वबोध प्रशंसनीय मान्नुपर्छ । सवारी साधन र नागरिकका महत्वपूर्ण कागजात जलेका कारण ट्राफिक सेवालाई अझ प्रभावकारी बनाउन कठिनाइ आएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ७ हजार १६९ वटा दुर्घटना भएका छन् । जसमा घातक १९० वटा, गम्भीर दुर्घटना २७८ वटा र सामान्य दुर्घटना ७ हजार ६३१ वटा घटेका छन् ।

सडकको क्षमता र गुणस्तर विस्तार, सवारी चालक र पैदल यात्रुको चेतना तथा आचरणले सडक दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पु¥याउँछ । सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति भइरहेको सन्दर्भमा यस्ता जनचेतनामूलक कार्यक्रमको निरन्तरता आवश्यक देखिन्छ । सरकारले कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्न जापान सरकारसँग ऋण सम्झौता गरेको छ, जुन करिब ८ वर्षमा सम्पन्न हुने अनुमान छ । निर्माणको समयमा हुने जाम र सर्वसाधारणले भोग्नुपर्ने सास्तीबारे पूर्वानुमान गरी वैकल्पिक उपाय अपनाउनु आवश्यक छ ।

ट्राफिक प्रहरी सेवा प्रवाहमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण गर्दै ट्राफिक सेवाको पुनर्संरचना र पुनरावलोकन, सेवामा सरलीकरण, सहज पहुँच तथा गुनासो सुनुवाइको व्यवस्थालाई प्रवद्र्धन गर्नु अहिलेको महत्वपूर्ण एजेन्डा हो । ट्राफिक प्रहरीको संस्थागत सुधारका उपाय अवलम्बन नगरी व्यवस्थित ट्राफिक सेवा सञ्चालन हुन सक्दैन । साथै, मनसुनजन्य प्राकृतिक प्रकोप (बाढी/पहिरो) तथा सडकको अवस्थाबारे जानकारी दिने, साथै सवारी चालक, परिचालक र यात्रुले अपनाउनुपर्ने तयारी र सावधानीसम्बन्धी विषयमा ट्राफिकले नागरिक सहायता कक्ष सञ्चालन गर्नु उपयुक्त हुन्छ ।

भौतिक पूर्वाधार निर्माणसँगै सार्वजनिक यातायात व्यवस्थित गर्न सकिएको खण्डमा निजी सवारी साधनको प्रयोग घट्ने र फलस्वरूप जाम स्वतः कम हुने आकलन गर्न सकिन्छ । तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने स्पिड गन, मदिरा सेवन परीक्षण गर्ने ब्रेथलाइजर, जेब्रा क्रस तथा लेनको प्रयोग अनिवार्य बनाइनुपर्छ ।

कार्यालय समय तथा सभा–सम्मेलनका दिन काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको देखिन्छ । सार्वजनिक सवारी साधनहरूले बढी यात्रु चढाउने र पैसा कमाउने होडमा प्रायः ट्राफिक जाम गराउने गर्दछन् । प्रतिबन्धित स्थानमा गाडी रोक्ने, आदेशमूलक ट्राफिक चिन्हको पालना नगर्ने बानीले सडक दुर्घटना निम्त्याइरहेको छ । सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने, सुर्तीजन्य पदार्थ खाने, लेन प्रयोग नगर्ने, जाम छल्न तीव्र गतिमा सवारी चलाउने तथा साँघुरा गल्ली प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ ।

निजी सवारी चालकहरूमा अनुभवको कमी देखिन्छ भने चालक अनुमति पत्र नलिई सवारी चलाउने दुस्साहस पनि पाइन्छ । ट्राफिक सांकेतिकरण बोर्ड कतिपय स्थानमा अस्पष्ट, रङ उडेको वा बुझ्न नसकिने अवस्थामा छन् । ट्राफिकले अनावश्यक रूपमा चेकजाँच गरी दुःख दिएको भन्ने गुनासा पनि बेला–बेलामा सुनिन्छन् । यसका लागि ट्राफिक प्रहरीमा पदीय अनुशासन र आचरणको पूर्ण पालना गरिनु आवश्यक छ ।

सवारी चालक र ट्राफिकबिच सामञ्जस्यता र समझदारी बढाउन तालिम तथा गोष्ठी आयोजना गर्नु जरुरी छ । जीर्ण सडकको मर्मतसम्भार, खाल्डाखुल्डी पुर्ने, सडक छेउछाउमा राखिएका पाइप, तार, गिटी–बालुवा व्यवस्थापन गरी जाम न्यूनीकरण गर्नु आवश्यक छ । आजभोलि पठाओ, इनड्राइभ, याङ्गो जस्ता राइड सेयर गर्ने सवारी चालकहरूले व्यस्त चोकमै यात्रु खोज्ने र ओसार्ने परिपाटीले पनि जाम बढाएको छ ।

सडक छेउका गाडी मर्मत केन्द्र र वर्कसपहरूले सडकमै गाडी राखी मर्मत तथा धुने गर्दा जाम हुने र मोविल बग्दा चिप्लिएर दुर्घटना हुने गरेको छ । त्यसका लागि काठमाडौं उपत्यकामा अटो भिलेजको अवधारणालाई छिटो कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

ट्राफिक प्रहरीले मापसे तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई जरिवानासहित सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । यसले कतिपय चालकमा ट्राफिक ज्ञान बढाएको देखिए पनि केहीले औपचारिकताका लागि मात्र कक्षा लिने गरेको पाइन्छ । ट्राफिक नियम उल्लंघनबाट हुने क्षतिले आफ्नै जीउधनको हानि हुन्छ । त्यसैले सबै सवारी चालक र नागरिकले ट्राफिक नियमको पालना गर्नु अनिवार्य छ ।

ट्राफिक सचेतना फैलाउन सञ्चार माध्यम, नागरिक समाज, यातायात व्यवसायी, स्थानीय सरकार, युवा क्लब तथा सक्रिय संघ–संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । सडकमा ट्राफिक प्रहरीको उपस्थितिले मात्र दुर्घटना कम हुँदैन, त्यसका लागि सवारी चालक र पैदल यात्रुको सचेत भूमिका आवश्यक छ । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जामको अन्त्यका लागि आयोजना गरिएको ट्राफिक सप्ताहले सबै सवारी चालक, पैदल यात्रु र सरोकारवालामा ट्राफिक नियम र अनुशासन पालनामा सहयोग पुर्‍याओस् भन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर