
काठमाडौं : सामुदायिक सेवा समाज अन्तर्गत सामुदायिक योग समूह, मैजुबहाल–कुमारीगालले काभ्रेपलाञ्चोक पनौतीको श्री प्राणनाथ माइती वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूमाझ लत्ताकपडा, सरसफाई सामग्री तथा भोजन वितरण गरेको छ ।
उक्त कार्यक्रममा आश्रममा आश्रित ४० जना जेष्ठ नागरिकलाई लक्षित गर्दै सहयोग गरिएको हो ।
सामुदायिक योग समूहकी प्रमुख प्रशिक्षक सुनिता शर्मा अर्यालले भनिन्,‘हामी सर्वप्रथम आफ्नो स्वास्थ्यमा सजग छौं, त्यस्तै सेवामा समर्पित भइ लागिपरेका छौं, नियमित व्यायाम र योगाभ्यासले हामीलाई स्वास्थ्य र मानवीय सेवा कार्यमा अघि बढ्न हौसला मिलेको छ ।’

यो योग समूहले विगत साढे २ वर्षदेखि काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल मैजुवहाल–कुमारीगालस्थित शहीदस्मृति सामुदायिक भवनमा बिहान ५ः१५ देखि ६ः३० बजेसम्म नियमित योगाभ्यास सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम सामुदायिक सेवा समाजकी कार्यवाहक अध्यक्ष विनु क्षेत्रीको प्रमुख आतिथ्यता र श्री प्राणनाथ माइती वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको हो ।
आश्रित वृद्धवृद्धाहरूले काठमाडौंबाट आएको सहयोगले आफूहरूलाई माइतीको अनुभूति भएको महसुस गरेको बताएका थिए । सहभागीहरूलाई पूजा–अर्चना र भक्तिसंगीतसहित स्वागत गरिएको थियो ।
कार्यक्रममा स्थानीय समाजसेवी रामचन्द्र तिमिल्सिना, पनौती विकास समाजका अध्यक्ष सुरेश सैजु, सामुदायिक योग समूहकी कोषाध्यक्ष सोभना क्षेत्री, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, र जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल लगायत उपस्थित थिए ।
सोही योग समूहले गत वर्ष काभ्रे जिल्लाको बेथानचोकमा बाढीपीडित परिवारहरूलाई खानेपानी पाइप वितरण गरेको थियो ।
