२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भौतिकवाद र भाववाद

द्वन्द्वात्मक भौतिकवाद केवल दर्शन मात्र होइन, संसारलाई बुझ्ने वैज्ञानिक दृष्टिकोण हो । माक्र्सवादको अन्तर्वस्तु यही हो, जसले समाज, इतिहास र वर्गसंघर्षलाई पनि भौतिक आधारमा विश्लेषण गर्छ ।

shivam cement
शम्भू पनेरू
२०८२ माघ १३ गते ०८:५९
Shares
भौतिकवाद र भाववाद

भौतिकवाद र भाववादबीचको बहस दर्शनको इतिहासजत्तिकै पुरानो छ । संसार के हो, यसको मूल तत्व के हो र परिवर्तन कसरी हुन्छ भन्ने प्रश्नमा यी दुई धाराहरू आमनेसामने उभिएका छन् । भौतिकवादी दृष्टिकोण अनुसार यो विश्व वा प्रकृति सूक्ष्म पदार्थ कणहरू र तिनको निरन्तर गतिशील संयोजनबाहेक केही होइन । जे देखिन्छ, जे अनुभव गरिन्छ र जे परिवर्तनशील छ, सबै पदार्थकै रूप हो । पदार्थभन्दा बाहिर कुनै स्वतन्त्र सत्ता, चेतना वा रहस्यमय शक्ति छैन । यसको विपरीत भाववादी दृष्टिकोणले पदार्थभन्दा बाहिर पनि केही अतिरिक्त तत्व रहेको दाबी गर्छ, जसलाई प्रायः चेतना, आत्मा, ईश्वर वा विचारको रूपमा प्रस्तुत गरिन्छ ।

मानव सभ्यताले आफ्नो वरिपरि निर्माण गरेका सबै संरचना, उपकरण र प्रविधिहरू प्रकृति विज्ञानले प्राप्त गरेको परीक्षणयोग्य र प्रमाणित ज्ञानकै आधारमा बनेका हुन् । पुल, भवन, औषधि, ऊर्जा उत्पादनका साधन वा सूचना प्रविधि, सबै पदार्थ र ऊर्जाका नियमहरूको प्रयोगबाट सम्भव भएका छन् । पदार्थ र ऊर्जाको अविनाशीपनको सिद्धान्तजस्ता वैज्ञानिक नियमहरूले यो कुरा स्पष्ट गर्छन् कि संसार कुनै भावनात्मक कल्पनामा होइन, ठोस भौतिक यथार्थमा आधारित छ । भाववादी व्याख्याले यस्ता वस्तुगत प्रमाण दिन सक्दैन । त्यसको आधार प्रायः व्यक्तिगत विश्वास, परम्परा वा पूर्वाग्रहमा सीमित हुन्छ । तर्क र प्रमाणको अभावमा यस्तो व्याख्यालाई गम्भीर विमर्शको केन्द्रमा राख्नुको औचित्य रहँदैन ।

पदार्थका प्रत्येक इकाइहरू एकअर्कासँग निरन्तर अन्तरक्रियामा हुन्छन् । सूक्ष्म तहमा यी अन्तरक्रियाहरू टकराहट, आकर्षण, विकर्षण र विस्थापनका रूपमा प्रकट हुन्छन् । कणहरूको स्तर बढ्दै जाँदा यस्ता संकेतहरूको संख्या र जटिलता पनि बढ्दै जान्छ, जसको समुच्चयबाट चेतना जन्मिन्छ । कुनै पनि पदार्थ इकाइ आफ्नो अवस्थालाई जोगाइराख्न खोज्छ भने वरपरका इकाइहरूले त्यस अवस्थामा परिवर्तन ल्याउने प्रयास गर्छन् । यही प्रक्रियाले प्रकृतिमा सन्तुलन र असन्तुलन दुवै सिर्जना गर्छ । यो प्रक्रिया द्वन्द्वात्मक विकासको आधारभूत नियम, विपर्ययहरूको एकता र संघर्ष, अनुसार निरन्तर चलिरहन्छ ।

जब असंख्य सूक्ष्म कणहरू एकसाथ संगठित हुन्छन्, तब ठूला कण, परमाणु र अन्ततः विभिन्न पिण्डहरूको निर्माण हुन्छ । मात्राको वृद्धिसँगै संयोजनको विविधता बढ्छ र त्यसबाट गुणात्मक रूपमा नयाँ तत्वहरू उत्पन्न हुन्छन् । साधारण अणुहरूबाट जटिल जैविक अणुहरूको निर्माण हुनु यही प्रक्रियाको परिणाम हो । जीवनको उदय कुनै चमत्कार होइन, बरु दीर्घ भौतिक प्रक्रियाको स्वाभाविक नतिजा हो । यो द्वन्द्वात्मक विकासको अर्को आधारभूत नियम, मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तन निम्त्याउँछ, को स्पष्ट उदाहरण हो ।

पदार्थका इकाइहरूबीचको सहअस्तित्व र विरोधको प्रक्रिया कहिल्यै रोकिन्न । कुनै गुणात्मक परिवर्तन भएपछि भूमिकाहरू उल्टिन्छन् । पहिले परिवर्तन चाहने तत्वहरू अब नयाँ अवस्थालाई स्थिर राख्न खोज्छन् भने पहिले स्थिरता चाहने तत्वहरू नै अब नयाँ परिवर्तनको वाहक बन्छन् । यसरी विकास सधैँ सरल रेखामा होइन, तर चरणगत र द्वन्द्वात्मक रूपमा अघि बढ्छ । यो प्रक्रिया द्वन्द्वात्मक विकासको तेस्रो नियमअनुसार चल्छ ।

विकासको क्रमसँगै अणुहरू, पदार्थ पिण्डहरू, प्राकृतिक प्रक्रियाहरू र चेतनाहरू झन् जटिल बन्दै जान्छन् । तर जटिलता जति बढे पनि द्वन्द्वात्मक नियमहरू हरेक तहमा समान रूपमा क्रियाशील रहन्छन् । कुनै पनि स्तरमा पुगेर प्रकृति यी नियमहरूबाट मुक्त हुँदैन । समाज, इतिहास र मानव चेतनासमेत यही भौतिक नियमहरूको उच्च रूप मात्र हुन् ।

प्रकृतिमा रहेका सबै वस्तु र प्रक्रियाहरू भौतिक हुन् र ती निरन्तर परिवर्तनशील छन् । यही सत्यलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । यो केवल दर्शन मात्र होइन, संसारलाई बुझ्ने वैज्ञानिक दृष्टिकोण हो । माक्र्सवादको अन्तर्वस्तु यही हो, जसले समाज, इतिहास र वर्गसंघर्षलाई पनि भौतिक आधारमा विश्लेषण गर्छ । सर्वहारा वर्गको भौतिक–सामाजिक चेतनाको मूल पनि यही दृष्टिकोण हो, जसले कल्पना होइन, यथार्थलाई परिवर्तनको आधार बनाउँछ ।
 

सम्बन्धित खबर