
कवि श्यामलको वास्तविक नाम हरिहर अधिकारी हो । समकालीन नेपाली कवितामा उनी विद्रोही चेतना भएका कविका रूपमा चिनिन्छन् । उनी निबन्धकार, पत्रकार र अनुवादक पनि हुन् । उनको तपाईंहरू मार्फत, लयब्रह्म, हतारमा यात्रा कवितासंग्रह प्रकाशित छन् । रित्तो गाउँ उनले लेखेको निबन्धसंग्रह हो । उनले नेपालीभाषामा विश्वका अन्य साहित्यकारका उपन्यास, कविताहरू अनुवाद गरेका छन् । संख्यात्मक रूपमा थोरै लेखेका र धेरैको मन छोएका साहित्यकारमध्येमा उनी पनि पर्छन् । यसै वर्ष उनले लेखेको उपन्यास पनि प्रकाशनको तयारीमा छ । उनी राससका पूर्वअध्यक्षसमेत हुन् । विविध क्षेत्रमा कलम चलाएका हरिहर अधिकारी उर्फ श्यामलसँग मध्यान्ह राष्ट्रिय दैनिकका लागि भावना पाठकले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं निबन्धकार, पत्रकार अनि अनुवादक पनि हो तर तपाईंलाई कवि श्यामल नै भनेर मान्छेहरूले किन चिने होलान् ?
आ–आफ्नो दृष्टिकोणमा भर पर्ने कुरा हुन् । मैले लेखन र पत्रकारिता सँगसँगैजस्तो सुरु गरेको हो । सायद मैले कवितामा धेरै मान्छेहरूको मन स्पर्श गर्ने मौका पाएँ होला । सायद उहाँहरूलाई कविता अलि हाइलाइट गरिएको विधा भन्ने थाहा भयो होला । धेरै कविहरूको माझमा मलाई उभ्याउँदा कविजस्तो देख्नुभयो होला । अर्को कुरा के हो भने मैले आफ्नो जीवनमा जति लेखेँ, सबैभन्दा बढी मलाई आत्मसन्तुष्टि कविताबाटै भयो । त्योभन्दा मलाई कम्फरटेबल नै हुन्छ । असावधानीवश कसैले त्यस्तो भन्यो र गर्योजस्तो लाग्दैन । लाग्छ, म पत्रकार हुँदा पनि कवि नै हुँ, निबन्धकार हुँदा पनि कवि नै हुँ, कवि हुँदा त कवि नै भइहालेँ ।
तपाईंका पुस्तकहरू त थोरै छन्, थोरै लेखेर पनि सबैतिर चिनिनुभएको छ, कसरी ?
मेरा तीनवटा कविता कृति छन् । म धेरै लेख्नुपर्छ भन्नेमा विश्वास गर्दिनँ । थोरै लेखे पनि अर्थपूर्ण, शक्तिसम्पन्न वाक्यहरू, समाजसँग संवाद हुनुपर्छ अथवा गर्नुपर्छ भन्ने मेरो आग्रह रहन्छ । धेरै त म लेख्न सक्दछु, म एकदम छिटो लेख्छु, बेस्ट राइटर हो म, तर मलाई धेरै लेखेर त्यसको मात्रात्मक वृद्धिभन्दा गुणात्मक वृद्धि गर्नुपर्छ भन्ने लाग्छ । म संस्कृतको कालिदासबाट दीक्षित हो । नेपालका गोपालप्रसाद रिमाल, भूपी शेरचनका कविताहरू पढ्दै जाँदाखेरि धेरै लेख्नुभन्दा शक्तिशाली थोरै लेख्नु उचित हुन्छ भन्ने मैले बुझेँ होला सायद । अहिलेसम्म मेरो ५१ वर्षको प्रकाशन इतिहासमा ९० भन्दा बढी कविता छैनन् । देवकोटाजीका धेरै छन्, तर गोपालप्रसाद रिमालका थोरै छन् कविता । तै पनि शक्तिशाली छन् । कतिपय मामलामा देवकोटाजी भन्दा रिमालजी धेरै माथि देखिनुहुन्छ । माधवप्रसाद घिमिरे हेर्नुहुन्छ भने धेरैभन्दा राम्रो लेख्नुभयो । म त्यताबाट प्रभावित भएँ होला भन्ठान्छु ।
कवि श्यामलले उपन्यास पनि लेख्दै हुनुहुन्छ भन्ने सुन्दै आएको पनि धेरै समय भइसक्यो, कहिले पढ्न पाउँछन् पाठकले ?
मैले उपन्यास लेखेको झन्डै बाह्र वर्ष भयो । सम्भवतः मैले यो वर्ष दिन्छु जस्तो लाग्छ । यो लेखिसकेको उपन्यास हो, तर समय बित्दै जाँदा अझै त्यसमा हेर्न जरुरी छ जस्तो लाग्यो । मैले त्यति नै बेला त्यसको रोयल्टी पनि लिइसक्या छु । जुन विषयवस्तुमा मैले लेखेको थिएँ तिनको सामूहिक र व्यक्तिगत चरित्रमा यस्तो ठूलो अन्तर आयो । कालान्तरमा मैले त्यसको केही अध्याय फेर्नुपर्यो । अब सायद चाँडै आउँछ । म यो कति ढिलो आयो वा चाँडो आयो भन्दा पनि कति गुणसम्पन्न आयो भन्नेमा बढी विश्वास गर्छु ।
साहित्य अझ विशेषगरी कवितामा विद्रोही चेतना नै हुनुपर्छ भन्ने गरिन्छ, के यो अनिवार्य हो ?
यो समाज, व्यक्तिको चेतना र सामाजिक चेतनामा भर पर्ने कुरा हो । हामी प्रणय कविताबाट दीक्षित भयौं । पढ्दै जाँदा व्यक्तिभन्दा समाजलाई बढी छुनुपर्छ भन्ने दर्शन आयो । माक्र्सवादबाट पनि प्रभावित भइयो नि त ! माक्र्सवादबाट प्रभावित हुनु भनेको समाजसँग बढी संवाद गर्नु हो । अलि ठूलो समूहसँग, मुलुकसँग, विश्वसँग जोडिएपछि स्वभवतः तिनको संघर्ष, दुःखतिर मानिसको दृष्टि जान्छ अझ विशेषगरी कविको जान्छ । हामी इतिहासमा हेर्छौं, संस्कृत र ग्रिक साहित्य अथवा प्राचीन साहित्यलाई छाडेर आधुनिक साहित्यलाई हेर्ने हो भने पहिलो र दोस्रो विश्वयुद्ध विद्रोहका स्वरहरू साहित्यमा प्रयोग हुन थाले । समाजको विनाश, राष्ट्रहरू टुक्रिने र बन्ने होडले कविलाई पनि प्रभावित गर्यो । समाजलाई नहेरी लेखिएका कुराहरू जीवन्त पनि हुँदैनन् । समाजले समाजले ग्रहण गर्दैन, समाजले ग्रहण गर्नुपर्यो नि ! कवि भनेको समाज हो एउटा व्यक्ति हैन नि, जतिबेला उसले एउटा व्यक्तिसँग संवाद गर्न थाल्छ त्यो अपूर्ण नै रहन्छ । देश र दिशालाई पक्रेर लेख्न सक्नुपर्छ, लेख्ने त्यसरी नै हो । त्यसका लागि समाजको भित्री तहसम्म पुग्नुपर्ने हुन्छ । त्यसकारण कविता विद्रोही हुन गएका हुन् ।
मैले जतिबेला लेखें, त्यो बेला नेपाली जनता जागिरहेको थियो । म कसरी पृथक रहन सक्छु, सक्दिन नि ! त्यतिबेला राजाको विरुद्ध लेख्ने बेला थियो । नेपाललाई राजशाही मुक्त बनाउन जरुरी थियो । त्यो बेला मेरा कवितामा सबैभन्दा माथि विद्रोही चेतना नै रह्यो । पागल, परिवर्तन, आमाको सपना, छोरीलाई मानचित्र पढाउँदा, लेनिनजस्ता कविताबाट हामीले समाजबाट लिएपछि समाजलाई दिन पनि जान्नुपर्छ भन्ने सिक्यौं । हामीले रुसी साहित्य, चिनियाँ साहित्य, टर्की साहित्य, बंगला साहित्यबाट समाजसँग जसले संवाद गर्छ त्यसले मात्र जीवन्त साहित्य लेख्न सक्छ भन्ने बुझ्यौं । मेरा कवितामा व्यक्तिका विद्रोह पनि सामाजिक चेतनासँग जोडिएको छ ।
राजतन्त्र छँदा राजालाई गाली गर्नुभएको छ, गणतन्त्रमा पनि दल तथा व्यक्तिलाई तोकेरै गाली गर्नुभएको छ, भलै त्यो गाली समाजको आवाज किन नहोस् कविका रूपमा तपाईंले नेतृत्व गर्नुभएको हो नि, कविता प्रकाशित भइसकेपछि तत्कालीन समयमा डर कत्तिको लाग्थ्यो ?
कविभित्र हिम्मत भएन भने त्यसले इमानदारीसाथ कविता लेख्न सक्दैन । नेपालमा कृष्णलाल अधिकारीको मकैको खेती कविता समाजको चेतनाले लेख्नुभएको हो नि ! त्यो कविता थियो थियो थिएन फरक कुरा हो, विद्रोह प्रस्ट थियो । लेखेकै आधारमा जेल हालियो र उहाँ त जेलमै सडेर बित्नुभयो । लक्ष्मीनन्दन चालिसे पनि जेलमै बित्नुभो । लक्ष्मीप्रसाद देवकोटाले पनि धेरै लेख्नुभएको छ । गोपालप्रसाद रिमाललाई त हामी क्रान्तिकारी कविकै रूपमा चिन्छौं । मैले अघि भनेँ समाजका कुरा लेख्यो भने मात्र समाजले हामीलाई आफ्नो सोच्छ । अनि त्यही समाजले जोगाउँछ नि ! लेखेरै कतिचोटि जेल परेको हो म । सामान्यतया २–४ दिन पर्नु भनेको त ठूलो कुरै हुन्थेन । कतिपय अवस्थामा हामीले लेखेका कविता प्रकाशित गर्ने पत्रिका नै सेन्सरमा पर्थे ।
तर एउटा कवि साहसिक नै हुनुपर्छ । लेखक साहसिक नै हुनुपर्छ । लेखक राजनीतिकर्मी जत्तिकै साहसिक भएनन् भने ती इमानदार लेखक हुन सक्दैनन् । आफ्नो उद्घाटन गर्नु पनि निकै ठूलो साहस हो । मैले भर्खरै पढेर सकेँ ‘मदर म्यारी कम्स टू मी’ भन्ने पुस्तक, यसमा इमानदारी र साहस प्रस्ट देख्न सकिन्छ । कतिजनासँग प्रेम गरी, कतिजनासँग बिहे गरी र कतिजनासँग शारीरिक सम्बन्ध कायम गरी भन्ने कुरा पनि निर्धक्क भएर यो पुस्तकमा लेखिएको छ । हामीसँग त्यो साहस छैन । हामी डरपोक छौं, अरूले केही भन्दिन्छ कि भन्ने डर लाग्छ । त्यस्तै, कमला दासको ‘माई स्टोरी’ पढ्नुभो भने पनि अथवा अलि समय पहिला स्विस लेखक जर्जिया ग्रुसोलाई हेर्ने हो भने पनि साहस यस्तो हुने रहेछ भन्ने थाहा हुन्छ । तर हामीकहाँ मान्छे इमानदारीपूर्वक आफूलाई व्यक्त गर्न चाहँदैन । किनकि तिनीहरू बेइमान छन्, बेइमान मान्छेले इमानदारीपूर्वक लेख्न सक्दैन । सत्य लुकाउनेले समाजको कुरा लेख्दैन ।
सत्य किन लुकाइन्छ त ?
मान्छेलाई डर छ । कथित मर्यादा छ । त्यो ढोँग हो, स्वाङ हो, नक्कली चिज हो । हामीले त मान्छेलाई नांगै हेर्नुपर्छ । मान्छेको संवेदनाभित्र पुग्न पनि नांगो आँखाहरू चाहिन्छ । यसरी हेर्न सकिएन भने सिर्जना गरेका सबै चिज नक्कली हुन्छ । हामी आफूलाई बनाउन थाल्यौं भने राम्रोसँग बोल्न पनि सक्दैनौं । मान्छे आफैंलाई छोप्न थाल्छ अनि ऊ बेइमान हुन्छ । मेरो ‘शान्ति नेपाली’ भन्ने कविता छ, ‘तिमीले आँखा छोपे पनि राम्री, आँखा खोले पनि राम्री, कालो चस्मा उतार शान्ति’ भन्ने छ एउटा । कालो चस्मा लगाएर दुनियाँलाई हेर्यौं भने प्रेम कहाँबाट सुरु हुन्छ त ? अंगको सौन्दर्य अन्त्य पनि होला तर आँखामा आँखा नजुधाई प्रेम हुँदैन, मान्छेलाई बुझ्न सकिँदैन । मान्छेलाई, समाजलाई बुझ्न र त्यसलाई कलात्मक रूप दिन सत्यको अन्वेषण जरुरी छ । त्यतिबेला सत्य हामीभन्दा अलि पृथक रहेछ भन्ने थाहा हुन्छ । सामूहिक सत्यको अन्वेषण अझ जरुरी हुन्छ ।
कवितामा आजभोलि व्यक्तिगत कुण्ठाका कुरा धेरै आउन थाल्यो भनिन्छ, व्यक्तिकेन्द्रित सिर्जना कविताका लागि खतरा हो ?
व्यक्तिमा केन्द्रित भएर लेखियो भने त्यो कविता भएन । तर व्यक्तिका सोचलाई सामूहिकीकरण गरेर लेखियो भने त्यो उत्तम कला भयो । सबैभन्दा राम्रो जात भनेको गायक र कवि हो । आफूले गीत गाउन सकेन भने पनि अरूको स्वरले छोएर जान्छ । गीत गाउनु भनेको व्यक्तिमा केन्द्रित हुनु मात्र हैन । त्यसलाई कतिसम्म मर्यादित बनाउने भन्ने कलाकारमा भर पर्छ । मलाई त कहिलेकाहीँ कविभन्दा बेइज्जत गरेको जस्तो पनि लाग्छ । किनकि नेपालमा कविहरूप्रति राम्रो दृष्टिकोण छैन ।
अल्लारे, जँड्याहा, फोहोर, महिलालाई त्यति मर्यादा गर्न नसक्ने यस्तो पनि मानिन्छ कतैकतै । तर मलाई कवि बडो जिम्मेवार, मैले अघि भनेँ– सत्यको अन्वेषक हो भन्ने लाग्छ । राम्रो कविले व्यक्तिमा भएको सौन्दर्य थाहा पाउन सक्छ । कालिदासले भनेअनुसार अक्षर भनेको सुन्दर महिलाको कुर्कुच्चाजस्तो हुन्छ, अब कस्तो हो त त्यो भनाइ ? बुझ्नेले मात्र पहिल्याउन सक्छ यस्ता कुरा । त्यो भएर कतिपय कुरा व्यक्तिका जस्ता भए पनि त्यो समाजको विषय पनि हुन जान्छ । कतिपय अवस्थामा आफ्नो कुण्ठामात्र पनि पोख्न खोजिन्छ त्यो कविता भएन । त्यसैले कवि भन्नु र हुनुमा फरक छ ।
साँचो कविहरू बाहिरबाट बदनामजस्ता देखिन्छन् तर जीवित रहन्छन् । दुई सय वर्षअघि अमेरिकन कविको मृत्यु भयो, बडो प्रख्यात कवि थिए । पछि बाराक ओबामाको शासनकालमा उसको चिहान उधिनेर राजकीय सम्मानका साथ फेरि अन्त्येष्टि गरियो । अहिले मानिसहरूलाई थाहा भयो कि अमेरिकी समाज निर्माणमा उसका कविताले धेरै राम्रो काम गरेको रहेछ । नेपालमा पनि बेलाबेला नेताहरूले कविका नाम लिने गर्छन् । जबजब देशमा आगो बाल्नुपर्ने हुन्छ त्यो बेला यदुप्रसाद मिश्र र गोपालप्रसाद रिमालका गीत गाइन्छ । कवि अरूले सोचेजस्तो हल्का हुँदैन भन्ने लाग्छ ।
कविता उन्नत साहित्य हो, कतिपयले त कविता बुझ्दा पनि बुझ्दैनन् भन्ने पनि छ । प्राज्ञिक पाठकबाहेक अरूले कविता बुझ्नै नसक्ने हो त ?
कलालाई राम्रोसँग बुझ्न सकिएन भने यस्तो समस्या उत्पन्न हुन्छ । हाम्रो देशमा मोहन कोइराला भन्ने कवि हुनुहुन्थ्यो, उहाँका कविताहरू बुझ्न अलिकति गाह्रो छ भनिन्छ । कतिपय कविहरूको चाहना आफूले लेखिदिने र पाठकले आफ्नो ढंगले बुझून् र व्याख्या गरून् भन्ने रहन्छ । तर साँचो कला नबुझिने हुँदैन, बुझिन्छ । जुन कुरा बुझ्न सकिँदैन त्यो कसरी कविता हुन्छ त ? कलाको धर्म भनेको, मसँग भएको कलाले तपाईंको पनि मर्म छुने हो । अनि नबुझी त छुँदै छुँदैन नि ! नबुझ्ने भनेको या त्यो छद्म कविता हो या कवितै हैन ।
पछिल्लो समय आएका कविताहरूबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
साथीहरूले लेखिराख्नुभएको छ । नयाँ–नयाँ पुस्ता पनि आइरहेको छ । समाजलाई बुझ्न बाँकी नै छ सायद । समाजले सबै कुरा सिकाउँदै जान्छ । अनुभवले मान्छेलाई यो गर्न हुन्छ र गर्न हुँदैन भन्ने चेतना दिन्छ । सुरुसुरुमा सबै त्यस्तै हो, विस्तारै सिक्दै गइन्छ । विनोदविक्रम केसी, अभय श्रेष्ठजस्ता कविहरूको कविता मलाई बडो सुन्दर लागेको छ । रोल्पाका एकजना कविको कविता पढेको थिएँ राम्रैजस्तो लाग्छ । नेपाली सेनामा भएका कतिपय भाइहरूले पनि लेखिरहेको पाएको छु । कालान्तरमा उहाँहरू राम्रो लेख्नुहोला भने सकारात्मक झिल्काहरू पाएको छु ।
नेपालमा राजनीतिक भागबन्डाका आधारमा सरकारी नियुक्ति हुन्छ भन्ने गरिन्छ, तपाईं राजनीतिक रूपमा कुनै दलसँग आस्था राख्नुहोला त्यो फरक कुरा हो तर तपाईं कसैको साख्य हो जस्तो लाग्दैन, फेरि कसरी राससको अध्यक्षमा नियुक्त हुनुभयो ?
म कुनै दलको सदस्य हैन तर म माक्र्सवादी हो । मैले नेपाली पत्रकारितामा ५०–५१ वर्ष काम गरेँ । मेरो आफ्नै खालको योगदान छ त्यो उहाँहरूले बुझ्नुहुन्छ । मेरो लायकको काम के हो भनेर उहाँहरूले धेरै खोज्नुभएको रहेछ । र अन्त्यमा बिग्रेको संस्थालाई तपाईंले हेरिदिनुपर्यो भनेर केपी ओलीजीकै मुखबाट आएको हो । मैले म खाली नै छु भनेर काम गरेँ तर म उहाँको पार्टीको सदस्य हैन । म उहाँको पार्टीको सदस्य नभए पनि त्यो पार्टीको चुनाव चिह्न मैले नै दिएको हो फेरि । एमाले भन्ने नाम राख्नमा पनि श्यामलको योगदान छ तर म सदस्य हैन । तर दलीय राजनीति र भागबन्डा नेपालमा हुन्छ । कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी दल सबैले भाग खोजिरहेका हुन्छन् । माओवादीका सुदन किराँतीले मन्त्री हुँदा एकेडेमीमा ९० प्रतिशत आफ्ना मान्छे छिराउनुभएको छ ।
तपाईं मान्छे त मिजासिलो नै हुनुहुँदो रहेछ, तर कवि श्यामल घमण्डी छन् भनेर भन्नेहरू पनि रहेछन्, मान्छेअनुसारको व्यवहार गर्नुहुन्छ हो ?
मैले पनि सुन्छु यो कुरा, है ! अभिमान, स्वाभिमान, गर्व, घमण्ड यी शब्दको पृथकता, अन्तर थाहा नभएर पनि कतिपयले मलाई घमण्डी भनेका होलान् । मलाई नि कति–कति बेला म घमण्डी छु क्या हो जस्तो पनि लाग्छ । मेरो घमण्ड अर्कालाई बिगार्ने खालको हैन । मलाई नटेर्ने मान्छेलाई म किन टेरूँ ? एकएक कणको महत्व । सबैलाई म सम्मान गर्दछु । तर केही मानिसलाई म घृणा गर्दछु । तिनीहरूले मलाई घमण्डी भनेजस्तो लाग्छ । किनभने तिनीहरू इज्जत गर्न लायक छैनन् । तिनीहरूले मानिसहरूलाई दुखाएका छन् । तिनीहरूको हेराइ पनि गतिलो छैन । ती गतिलोसँग बोल्न जान्दैनन्, म तिनलाई किन टेरूँ ? तर म निन्दा गर्छु भनेर तिनलाई पिट्न जान्नँ । मेरो क्षमताप्रति विश्वास गर्नु घमण्ड हो भने घमण्ड नै सही ठिकै छ ।
तपाईं कस्ता मान्छेलाई गाली गर्नुहुन्छ ?
मान्छेलाई म सम्मान गर्छु । मान्छेको शरीर लिएर राक्षसको चरित्र कसैले देखाउँछ भने म त्यसलाई घृणा गर्छु । म पशुलाई, किरालाई समेत प्रेम गर्छु । मान्छे भएर मान्छेलाई मार्ने मान्छेलाई म समर्थन गर्दिनँ । त्यही भएर माओवादी आन्दोलनलाई मैले कहिल्यै पनि समर्थन गरिनँ । मान्छे मारिने चिज हैन । मान्छे देवताभन्दा पनि श्रेष्ठ हो । म ती मान्छेलाई घृणा गर्छु जसले यी कुरा बुझ्दैन ।
पुस्तक अनुवाद गर्ने प्रचलन बढ्दै गएको छ, तपाईंले पनि गर्नुभएको छ । यसको जटिल पक्ष के हो ?
अनुवादका लागि भाषा बुझेर मात्र पनि हुँदैन । नेपालमा सयवटा पुस्तक अनुवाद हुँदा एउटा पनि गतिलोगरी आएको छैन । अनुवादमा लक्ष्य भाषा पनि बुझ्नुपर्यो र स्रोत भाषाको संस्कृति पनि बुझ्नुपर्छ । कतिपय अवस्थामा सांस्कृतिक अनुवाद गर्नुपर्ने हुन्छ । जस्तो छ त्यस्तै ल्याउनु मात्र अनुवाद हैन, त्यसमा कला आफूले थप्नुपर्छ । एक त हाम्रो भाषामा कम दख्खल छ, भाषा जान्नेले संस्कृति नबुझेको पनि हुन सक्छ । संस्कृति नबुझी गरेको अनुवाद त्यति राम्रो हुँदैन ।
अन्त्यमा ?
म कवि हो । मैले कविता नै लेख्ने हो । निबन्ध, अनुवाद, पत्रकारिता यी सबैको बीचमा पनि म कवि श्यामल भनेरै चिनिएको छु । यो वर्ष उपन्यास पनि पाठकहरूले पढ्न पाउनुहुनेछ । धन्यवाद ।