२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जनताले पत्याएनन् क्रान्तिकारी गफ

shivam cement
जीवन शर्मा
२०८२ फागुन ३० गते ०६:४०
Shares
जनताले पत्याएनन् क्रान्तिकारी गफ

काठमाडौं : अघिल्लो निर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार हुन चाहन्थे, घनश्याम भुसाल । राप्रपासँगको चुनावी तालमेलमा सो क्षेत्र एमालेको भागमा परेन । त्यसैले उनलाई टिकट दिइएन । टिकट नपाएको झोँकमा पार्टी परित्याग गरेका भुसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार उठे । उनलाई तत्कालीन कांग्रेस–माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनको साथ थियो । तैपनि, भुसाल एमाले सचिव छविलाल विश्वकर्मासँग फराकिलो मतान्तरले पराजित भए । 

साढे तीन वर्षपछि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई टिकटको समस्या थिएन । माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता छाडेर उनी नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष बनेका थिए । तर, उनी उम्मेदवार बनेनन् । बरु भिडियो सन्देशमार्फत राजनीतिक विश्लेषण गरेर बसे । आफूलाई क्रान्तिकारी धार दाबी गर्ने भुसालको दलले चुनावमा समानुपातिकतर्फ जम्माजम्मी चार हजार एक सय १५ मत प्राप्त गरेको छ । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्र छाडेका जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई पनि मतदाताले पत्याएनन् । भट्टराई सुरुमा आफैं गोरखाबाट उठेका थिए । एक चरण गाउँ घुमेपछि उनले आफ्नो हैसियत थाहा पाए । गोरखाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता गरे । 

माओवादी सशस्त्र विद्रोहका एक मुख्य नेता भट्टराई देशको अर्थमन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका छन् । तर, वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एक दशकअघि वाम विचार छाडेका उनी अहिले दिशाविहीन बनेका छन् । 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीमा नगएर पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विद्रोह गरेका प्रलोपाका नेता जनार्दन शर्मा पनि आफ्नै परम्परागत निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिए । नेकपाका गोपाल शर्मा २१ हजार ६ सय नौ मत ल्याएर विजयी हुँदा शर्माले १४ हजार तीन सय ४६ मत प्राप्त गरेका थिए । शर्माले २०६४ सालपछिका सबै निर्वाचनमा साविकको माओवादीबाट सोही क्षेत्रबाट निरन्तर जित्दै आएका थिए । प्रचण्डले पार्टीको नाम र झण्डा नै परिवर्तन गरेर २१ दलसँग एकता गरेपछि जनयुद्धदेखिको साथ छाडेर उनी छुट्टिएका थिए । प्रचण्डसँग छुट्टिएका शर्मा डा. बाबुरामतिर लागे । देशभर उनीहरूको दलले पराजय बेहोरेको छ । प्रलोपालाई देशभरबाट समानुपातिकतर्फ २४ हजार ६ सय ७६ मत मात्र प्राप्त भएको छ । आफ्नो गृहजिल्लामै पराजित भएपछि शर्माको आगामी राजनीतिक यात्रा सहज नभएको विश्लेषकहरू बताउँछन् । 

अर्का क्रान्तिकारी नेता हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । २०६४ यताका सबै चुनाव बहिष्कार गर्दै बिथोल्न हिँडेको उनको समूह यसपटक चुनावमा सहभागी थियो । विप्लव आफैँ चुनावमा नउठे पनि उनले गुुलाब चिह्न लिएर नेकपा माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितलाई १३० क्षेत्रमा उम्मेदवार उठाएका थिए ।  प्रकाण्डले आफ्नै गृहजिल्ला कालिकोटमा १८ वर्षपछि चुनाव उठ्दा लज्जास्पद हार बेहोर्नुप¥यो । यो दलका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । समानुपातिकमा नेकपा माओवादीलाई देशभरबाट २३ हजार ८६७ भोट प्राप्त भएको छ ।  

झापा विद्रोहका नायक हुन्, सिपी मैनाली । २०५४ सालमा एमाले विभाजनपछि बनेको नेकपा (माले)का महासचिव वामदेव गौतम एमालेमै फर्किएपछि पनि उनले मालेलाई निरन्तरता दिँदै आएका छन् । उनको वैचारिक धार त अस्पष्ट भइसकेको छ, तर दुई ठूला वाम दल एमाले र नेकपाभन्दा आफूलाई क्रान्तिकारी ठान्छन् । तर, बितेको दुई दशकमा उनको दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेको छैन । यसपटकको निर्वाचनमा मालेले समानुपातिकतर्फ ६ हजार एक सय ७२ मत प्राप्त गरेको छ । 

आफूलाई क्रान्तिकारी ठान्ने नेता र दलको अवस्था दयनीय हुनुले कम्युनिस्ट आन्दोलनका दोस्रो पुस्ताका नेताहरूको राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको वाम विश्लेषक मुमाराम खनाल बताउँछन् । आफूलाई बडो क्रान्तिकारी ठान्दै ठूला कम्युनिस्ट पार्टीबाट फुटेर नयाँ दल निर्माण गरेका क्रान्तिकारी धारका नेताहरू निर्वाचनमा ‘जनबहिष्कार’मा परेको उनको टिप्पणी छ । 

‘क्रान्तिकारी धारको नेतृत्व गर्छौं भन्ने बाबुराम भट्टराई, घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’को एजेन्डालाई मतदाताले अनुमोदन नगरेपछि राजनीतिक विलखबन्दमा परेका छन्,’ खनालले भने । जेनजी आन्दोलनपछि दल दर्ता गरेर निर्वाचनमा होमिएका उनीहरूको राजनीतिक धारलाई जनताले नरुचाएपछि यी नेताहरू मूलधारको राजनीतिबाटै पलायन हुने अवस्थामा पुुगेका छन् । 

सम्बन्धित खबर