
सहरको भीडभाडमा बस्दा पनि कहिलेकाहीँ मान्छे आफूलाई एक्लो महसुस गर्छ । म पनि त्यस्तै अवस्थामा थिएँ । केही महिनादेखि मलाई रातभर निद्रा नलाग्ने समस्या भएको थियो । बिहान उठ्दा टाउको भारी हुन्थ्यो, शरीर सुस्त । घरमा सबैले ‘अलिकति हिँडडुल गर, बिहान हावा खाऊ’ भनेर सल्लाह दिन्थे । तर, म भने ओछ्यान छाड्नै गाह्रो मान्ने मान्छे ।
एकदिन कार्यालयमा मेरो अनुहार हेरेर साथी नरेनले भन्यो, ‘तिमी त दिनदिनै थाकेजस्तो देखिन्छ्यौ । बिहान पार्कमा हिँड्न सुरु गर न ।’
उनको कुरा मैले त्यति गम्भीरतासाथ लिइनँ । तर त्यो रात झन् राम्रोसँग निद्रा लागेन । बिहान ४ बजेतिर आँखा खुल्यो । ‘अब त उठेर हिँड्नैपर्छ’ भन्ने सोच आयो ।
म घरनजिकैको सानो पार्कतिर लागेँ । त्यो बेला सहर आधा सुतिरहेको जस्तो लाग्थ्यो । सडक सुनसान, हल्का चिसो हावा । पार्कको गेटनजिक पुग्दा एउटा खैरो रङको दुब्लो कुकुर मलाई टाढैबाट हेरेर भुक्न थाल्यो । म डराएँ । सानो ढुंगा टिपेर त्यसतिर फालेँ । कुकुर तर्सिएर पर गयो ।
‘बिहानै झन्झट !’ भन्दै म पार्कभित्र छिरेँ ।
केही दिन म त्यही बाटो हिँडिरहेँ । अचम्म के थियो भने त्यो कुकुर हरेक बिहान त्यही ठाउँमा भेटिन्थ्यो । सुरुमा ऊ टाढैबाट भुक्थ्यो, तर पछि केवल टोलाएर हेर्ने मात्र गर्न थाल्यो ।
एकदिन पार्कको बेन्चमा बसेर म आराम गरिरहेका बेला एक वृद्ध मालीले मलाई सोधे, ‘तपाईंलाई त्यो कुकुरले हैरान त पार्दैन ?’
मैले हाँस्दै भनेँ, ‘पहिला त भुक्थ्यो, अहिले चुपचाप हेर्छ ।’
मालीले मुस्कुराउँदै भने, ‘त्यो यहाँको पहरेदार हो । रातभर पार्कको सुरक्षा गर्छ । यहाँ आउनेलाई उसले चिनेर मात्र छोड्छ ।’
म एकछिन चुप लागेँ ।
अर्को दिन म घरबाट निस्कँदा सानो बिस्कुटको प्याकेट लिएर गएँ । गेटनजिक पुगेपछि कुकुर फेरि उभियो । यसपटक मैले ढुंगा होइन, बिस्कुट उसको अगाडि राखिदिएँ । ऊ अलि झस्कियो, फेरि पुच्छर हल्लाउँदै खान थाल्यो । त्यो दिनदेखि हाम्रो सम्बन्ध बदलियो । अब म पार्क पुग्दा ऊ मेरो पछिपछि हिँड्थ्यो । म दौडिँदा ऊ पनि दौड्थ्यो । म बेन्चमा बस्दा ऊ नजिकै बस्थ्यो । एक बिहान म पार्कबाट फर्किंदै थिएँ । सडक अझै सुनसान थियो । अचानक दुईजना अपरिचित मानिस अगाडि आएर बाटो छेके ।
‘मोबाइल दे,’ उनीहरूले कठोर स्वरमा भने ।
म डरले जाम भएँ । त्यही बेला पछाडिबाट ठूलो स्वरमा कुकुर भुक्दै आयो । उसले ती मानिसतिर झम्टिएर भुक्न थाल्यो । डराएर ती भागे ।
म भने स्तब्ध भएर उभिइरहेँ । कुकुर मेरो छेउमा आएर शान्त भएर बस्यो, मानौं केही भएको नै थिएन । त्यो दिन मैले पहिलोपटक उसको टाउको सहलाएँ । समय बित्दै गयो । बिहानको हिँडाइ मेरो बानी बन्यो । तर एउटा कुरा मनमा गडिरह्यो– जीवनमा मैले धेरै मानिसलाई सहयोग गरेको थिएँ । कसैलाई काम खोजिदिएको, कसैलाई ऋण दिएको, कसैलाई सिफारिस गरेको । तर समय आउँदा धेरैले मलाई चिन्दै नचिनेझैं गरे ।
तर त्यो कुकुर, जसलाई मैले केवल केही बिस्कुट दिएको थिएँ– हरेक बिहान मेरो लागि बाटो हेरेर बस्थ्यो । त्यो दिन मलाई एउटा सानो तर गहिरो सत्य मनमा गढ्यो– इमानदार पहरेदार कहिलेकाहीँ मान्छे होइन, एउटा साधारण पशु पनि हुन सक्छ ।