२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

साइलेन्ट किलर बन्दै हार्टअट्याक

shivam cement
सपना बोहरा
२०८२ फागुन ३० गते ०६:३५
Shares
साइलेन्ट किलर बन्दै हार्टअट्याक

काठमाडौं : नेकपा एमालेका केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापा बिहीबार पार्टीको समन्वय कमिटीको बैठकलाई सम्बोधन गर्दै थिए । सम्बोधन गरेलगत्तै उनी अचानक ढले । उनलाई २० मिनेटमै मणिपाल शिक्षण अस्पताल लगियो । चिकित्सकले उनलाई हृदयाघात भएको बताए । उपचार सुरु नगर्दै उनको मृत्यु भइसकेको थियो । 

गत कात्तिक १३ गते एमालेनिकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम भाषण गर्दागर्दै बेहोस भएर ढले । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालयअगाडि ट्रंकलाइन विवादबारेको विरोध उनी बोल्दैथिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरे । ६५ वर्षीय गौतमको अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयाघातका कारण मृत्यु भइसकेको जानकारी गराए । 

चर्चित अभिनेता सुनील थापा मृत्युअघिको राति अबेरसम्म ‘राम नाम सत्य’को सुटिङ सेटमा सक्रिय थिए । सेटको कल टाइममा पुग्न भ्याउनेगरी छिटो उठाइदिन नजिकका साथीभाइलाई आग्रह गरेर सुतेका उनी कहिल्यै बिउँझिएनन् । गत माघ २५कोे बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो । लगत्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उनको हृदयाघातबाट मृत्यु भएको घोषणा गर्‍यो । कफी र चुरोटमा ‘इन्जोय’ गर्ने सुनीललाई आफ्नै अम्मल घातक बन्न पुग्यो । ६८ वर्षीय अभिनेता थापा संसारबाट बिदा भएको एक महिना पुगेको छ । उनको पोस्टमार्टम रिर्पोटमा ‘मुटुको नसा ब्लक भएका कारण हृदयाघात भएर मृत्यु भएको’ उल्लेख छ । 

लोकप्रिय गायक तथा अभिनेता प्रशान्त मृत्यु हुनु केही दिनअघिसम्म पनि काममै व्यस्त थिए । तामाङको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । सामाजिक सञ्जालमार्फत उनका नयाँ परियोजनाबारे चर्चा भइरहेका थिए । इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि अत्यधिक चर्चामा आएका तामाङ पछिल्लो समय बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गर्दै थिए । सो फिल्मका केही दृश्यको डबिङ अझै बाँकी नै थियो । सोही समयमा उनको पुस २९ गते मृत्यु भयो । दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको खबरले परिवार, शुभेच्छुक र कलाक्षेत्रका सहकर्मीलाई स्तब्ध बनायो ।

पछिल्लो समय सामान्य जीवनशैलीका देखि व्यस्त व्यक्तिहरूमा हृदयाघात बढ्दै गएको छ । जसका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हृदयाघातका जहाँ, जतिबेला जसलाई पनि हुनसक्छ । अप्रत्याशित मृत्यु बढ्दै गएको छ । ‘साइलेन्ट किलर’का रूपमा हृदयाघातले अकालमै धेरैको जीवन खोसेको छ । 

के हो हृदयाघात ?

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेलका अनुसार, मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई रक्तसञ्चारमा अवरोध हुनु हृदयाघात हो । यी धमनी वा धमनीका शाखाभित्र अकस्मात् रगत जम्दा, रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखापरेको आपत्कालीन समस्या हो । मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा हृदयाघात प्राणघातक पनि हुन सक्छ भने स–साना धमनीको अवरोध भएर भएको हृदयाघात कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमा नै नियन्त्रणमा राख्न सकेमा ५० प्रतिशत हृदयाघात कम हुनसक्छ । मोटोपन कम गर्ने, व्यायाम नियमित गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने हो भने समयमा नै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । यो रोगका साधारण लक्षण मात्र हुने भएकाले समयमा निदान गर्न निकै कठिन भएको हो । मुख्य समस्या जनचेतनाको कमी हो । दीर्घरोगीले एसप्रिन नामक औषधि साथमा राख्न उनको सुझाव छ । ‘यदि तपाईं उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगी हुनुहुन्छ भने धेरै सतर्क हुनुपर्छ,’ उनले भने, ‘यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयाघातको शंका लाग्नासाथ यो औषधि चपाउनुपर्छ । यदि कसैलाई छाती दुख्ने, अकस्मात् सास लिन गाह्रो हुने अवस्था आएमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्रमा गएर इसिजी गर्नु नै उचित हुने उनले बताए । 

लक्षण

मुटुरोग विशेषज्ञ डा. गजुरेलका अनुसार हृदयाघात हुनुभन्दा अगाडि यसको साधारण लक्षण मात्र हुन्छ । व्यायाम गर्दा, उकालो चढ्दा, भर्‍याङ उक्लँदा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचेजस्तो अनुभव हुने, स्वाँस्वाँ बढ्ने तर आराम गरेपछि सन्चो हुने । कहिलेकाहीँ देब्रे हातमा वा च्यापुतिर पनि दुखाइ सरेको जस्तो पनि हुनसक्छ । ठूलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाक लाग्ने र बेहोस पनि हुन सक्छ । यदि यस्तो लक्षण देखापरेमा तुरुन्त मुटुरोग विशेषज्ञको परामर्श लिन जरुरी हुने डा. गजुरेलको सुझाव छ । 

हृदयाघातको कारण

धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, व्यायामको कमी, मानसिक तनाव, अस्तव्यस्त जीवनशैलीका कारण हृदयाघात हुने गरेको बताउँछन्, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला । 

रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एलडिएल कोलेस्टेरोल, उच्च नन्एचडिएल वा भिएलडिएल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहले मानिसमा हृदयाघात हुन्छ,’ उनले भने, ‘धूमपान, मद्यपान, निष्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव नै मुख्य कारण हो ।’

हृदयाघात विभिन्न कारणले हुने भएकाले यही कारणले नै हुन्छ भन्ने निश्चित नहुने उनको भनाइ छ । उनले भने, ‘सामान्यतया मुटुमा रहेका रगतका नसाहरूमा बोसो जमेपछि नसा साँघुरो हुन्छन् र हृदयाघातको जोखिम बढ्ने गर्छ ।’ उनका अनुसार हृदयाघातको ९० प्रतिशत घटना यसैको कारण हुन्छ ।

रक्तनलीमा भर्खर–भर्खर बोसो जम्न थाले पनि सो ठाउँमा तनाव बढी भएमा च्यातिने गर्छ । जसले गर्दा प्रवाह भइरहेको रगत जमेर एक ढिक्का हुन पुग्छ । जसले रक्तनलीमा अवरोध गरी हृदयाघातको जोखिमलाई बढाउने गर्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘मायोकार्डियल इन्फ्राक्सन’ भन्ने गरिन्छ । 

शौचालयमा किन हुन्छ हार्ट अट्याक ?

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साँझपख खाना खाएर आराम गरिरहेका थिए । उनलाई एक्कासि बान्ता आउलाजस्तो भयो । उनी बान्ता गर्न शौचालयमा गए । उनलाई बान्तासँगै चक्कर लाग्यो र त्यहीँ लडे । यो २०८० भदौ २६ गतेको घटना हो । त्यो बेला उनलाई हृदयाघात भएको थियो । धेरै समयसम्म शौचालयबाट नआएपछि परिवार हेर्न जाँदा उनी लडेको अवस्थामा भेटिए । हतारहतार उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगियो । उनको उपचारका क्रममा त्यहीँ निधन भयो । 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’का छोरा प्रकाश दाहालको पनि हृदयाघातका कारण मृत्यु भएको थियो । हृदयाघातको पहिलो लक्षण बान्ता आउनु र शौच लागेजस्तो हुनु हो । त्यसकारण अक्सर मानिसहरू शौचालय जान्छन् र त्यहीँ अचेत अवस्थामा लड्छन् । 

सम्बन्धित खबर