
काठमाडौं : बढ्दो बसाइँसराइ त्यसै त गाउँबस्तीमा थोरै मानिस मात्र छन् । तीमध्ये पनि छोराछोरी सहर र विदेशमा हुँदा वृद्ध बाबुआमा मात्र घरमा छन् । लुटपाटमा पल्किएका अपराधिक समूहले पछिल्लो समय त्यस्ता वृद्धहरूलाई निशाना बनाएको छ ।
ओखलढुंगामा अर्को त्यस्तै घटना घटेको छ । एक महिनाअघि मात्र प्रहरीले शृंखलाबद्ध दम्पती हत्याको गिरोह पक्राउ गरेको थियो । सो समूहका अभियुक्त प्रहरी हिरासतमै छन् । तैपनि सोही प्रकृतिको हत्या र लुटपाट रोकिएन । चिशंखुगढी गाउँपालिका–६ का ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको मंगलबार राति हत्या भएको हो । लुटपाटका लागि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लुटेरा समूहले बाकस पनि फुटाएको देखिन्छ । केकति सामान तथा गरगहना लगे भन्नेबारे यकिन भएको छैन । घरमा वृद्ध दम्पती मात्रै बस्ने गरेकामा दुवैको हत्या र लुटपाट गरिएको हो ।
यसअघि सिद्धिचरण नगरपालिका–४ चार्खुमा गत असोज २६ गते राति ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)को हत्या गरिएको थियो । खेती किसानी गरेर बस्दै आएकी कटवाललाई हतियारधारी समूहले बन्चरोले हानेर वीभत्स हत्या गरेका थिए । हत्यापछि नगद तथा सुनका गरगहनासमेत लुटपाट गरिएको थियो । छिमेकीले घरबाहिर रगत देखेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएकी थिइन् ।
गत पुस १५ गते स्थानीय ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरलाई पनि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियारधारी समूहले कोदालो तथा अन्य हतियारले प्रहार गरी हत्या गरेर गोठमा स्याउलाले छोपेर भागेका थिए । उनीहरूले पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा सुनको गरगहना २ तोला, काँचो सुनसमेत गरी ६ तोला सुनका गरगहनासमेत लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।
सो घटनाको तीन महिना नबित्दै ओखलढुंगाकै चिशंखुगढीको भदौरेमा अहिले ठ्याक्दै त्यस्तै शैलीमा राई दम्पतीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीले पछिल्लो घटनालाई विश्लेषण गर्दा लुटेरा समूहले वृद्धवृद्धा मात्र बस्ने घरलाई निशानामा पारेको देखिएको बताउँछन् । ‘वृद्धा महिलाहरू सुनले झपक्कै देखिन्छन्, एकान्त गाउँमा एक्लाएक्लै बसेका हुन्छन्,’ उनले भने, ‘लुटेराहरूले त्यही मौका छोपेर लुट्छन् अनि पहिचान खुल्ने डरले हत्या गर्छन् ।’
सुन र धनमालकै कारण वृद्धवद्धा असुरक्षित बन्दै गएको देखिएको केसी बताउँछन् । एउटा समूह नियन्त्रणमा रहे पनि अरू पनि यस्ता लुटपाट गर्ने र हत्या गर्ने गिरोह हुन सक्ने उनले आशंका व्यक्त गरे । पहिलेका घटनाहरूको सफल अनुसन्धान भए पनि यो घटनाबारेमा अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।
पहिलो घटनाको अनुसन्धान गर्ने क्रममा दोस्रो घटना भएको र उस्तै प्रकृृतिको तेस्रो घटना भएपछि गम्भीरताका साथ अनुसन्धान गरिएको उनले बताए । यसअघिका घटनामा जिल्लाको टोलीदेखि कोशी प्रदेश र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले समेत अनुसन्धान गरेर एक महिनापछि चार जनालाई पक्राउ गरेको थियो । ओखलढुंगाको चिसाङ गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, सोही गाउँपालिका–४ का ४० वर्षीय विनोद राई, सोही गाउँपालिका–४ का ४० वर्षीय प्रकाश भुजेल र चिसाङ–४ कै ३० वर्षीय दार्जे भनिने अशोक भुजेल पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७.६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना, नगद बरामद गरिएको थियो ।
समाजशास्त्री डा. मीना पौडेल गाउँघरमा एक्लै बस्ने वृद्धवृद्धाहरू असुरक्षित बन्नु चिन्ताको विषय भएको बताउँछिन् । युवाहरूमा निराशा र बेरोजगारको कारण अपराधी गतिविधिमा लाग्ने गरेको उल्लेख गर्दै भन्छिन्, ‘गाउँघरमा अधिकांश युवा बेरोजगार छन् । वृद्धवृद्धासँग केही नभए पनि भत्ता बुझेको पैसा र केही गरगहना पनि हुन्छन् । बेरोजगार युवाहरूको सोच नै आपराधिक गतिविधितर्फ हुन थाल्यो । त्यसैले हत्या गर्ने लुटपाटका घटना बढेका छन् ।’ सामाजिक, आर्थिक र प्रविधिको कुराले युवाहरूमा नकारात्मक कार्यतर्फ अग्रसर हुँदै गएको देखिएको डा. पौडेल बताउँछिन् ।