२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रौतहटमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ १६ गते १९:३५
Shares
रौतहटमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकास्थित दुई प्रतिष्ठित शैक्षिक संस्थामा सडक दुर्घटना न्यूनीकरण लक्ष्यसहित विशेष ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटनाविरुद्ध युवा अभियान–२०८२ अन्तर्गत शहीद दिवस तथा विद्यालयको वार्षिक खेलकुद सप्ताहको अवसर पारेर शुक्रबार बालनिकेतन माध्यमिक विद्यालय र मुनलाइट एकेडेमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले सडक सुरक्षा, ट्राफिक नियमको महत्व र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराए । उनले पछिल्लो समय बढ्दो सवारी चाप र असावधानीका कारण दुर्घटना बढिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न युवा विद्यार्थी, अभिभावक र विद्यालयको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए ।

सचेतना कार्यक्रममा सडकमा हिँड्दा र बाटो काट्दा अपनाउनुपर्ने सावधानी, सवारी साधन चलाउँदा पालना गर्नुपर्ने आधारभूत ट्राफिक नियम, तीव्र गति, मादक पदार्थ सेवन तथा लापरवाहीपूर्ण ड्राइभिङबाट उत्पन्न हुने जोखिमबारे विस्तृत जानकारी दिइएको थियो । साथै, विद्यालय तहबाटै सडक अनुशासन र जिम्मेवार नागरिकताको संस्कार विकास गर्ने उद्देश्यले ‘सडक दुर्घटनाविरुद्ध युवा अभियान–२०८२’ सञ्चालन गरिएको जानकारी गराइएको थियो ।

बालनिकेतन माध्यमिक विद्यालय र मुनलाईट एकेडेमीमा आयोजित कार्यक्रममा प्रधानाध्यापक, शिक्षक–शिक्षिका, कर्मचारी, सयौँ विद्यार्थी, अभिभावक तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शहीद दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन विकास गर्नुका साथै सडक सुरक्षा जस्तो गम्भीर विषयमा प्रत्यक्ष जानकारी दिएर नागरिक जिम्मेवारीको बोध गराएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । ट्राफिक प्रहरीले पछिल्लो समय चन्द्रपुर क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थानहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

सम्बन्धित खबर