२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते, दुई जनाको अवस्था गम्भीर

shivam cement
प्रदीप मगर
२०८२ माघ १९ गते १७:३२
Shares
सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते, दुई जनाको अवस्था गम्भीर

सल्यान : सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा अटोमा सवार ११ मध्ये १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २ बजेतिर श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह. २१९५ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्णबहादुर केसी जानकारी दिए । अटो चालक शारदा नगरपालिका–६ निवासी २५ वर्षीय अर्जुन डाँगी रहेका छन् उनीलाई कुनै चोट लागेको छैन ।

घाइते हुनेहरूमा सिद्धकुमाख गाउँपालिका–२ निवासी ३५ वर्षीय दीपक बिकको दायाँ खुट्टा, हात र छातीमा भित्री चोट लागेको छ । शारदा नगरपालिका–११ निवासी १९ वर्षीय रेशमबहादुर नेपालीको बायाँ खुट्टा र कम्मरमा चोट लागेको छ ।

त्यस्तै सिद्धकुमाख गाउँपालिका–१ निवासी ७८ वर्षीय टरबहादुर रेउलेको टाउको र छातीमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिका–९ निवासी २३ वर्षीया संगीता बिकको टाउको र अनुहारमा चोट लागेको छ । उनका ७ वर्षीय छोरा दीपक बिकको टाउकोमा चोट लागेको छ भने ३ वर्षीया छोरी सृष्टि बिकको टाउको र अनुहारमा चोट लागेको छ । सृष्टिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी दाङको बबई गाउँपालिका–६ निवासी २३ वर्षीया कृष्णा बुढाथोकीको टाउको र हातमा चोट लागेको छ भने उनकी ३ वर्षीया छोरी स्मृति बुढाथोकीको अनुहारमा चोट लागेको छ । सिद्धकुमाख गाउँपालिका–२ निवासी ३८ वर्षीया धनी सुनारको टाउको र दायाँ खुट्टामा  चोट लागेको छ भने सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनारको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पूर्णबहादुर केसीको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटिएको थियो । चालकसँग सवारी लाइसेन्स नभएको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर