२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

टक गुरुङका ‘गजलाभूषण’ र ‘टक’ तथा सांगीतिक गजल ‘चर्चा चल्यो’ सार्वजनिक

shivam cement
२०८२ फागुन ३ गते १५:५२
Shares
टक गुरुङका ‘गजलाभूषण’ र ‘टक’ तथा सांगीतिक गजल ‘चर्चा चल्यो’ सार्वजनिक

काठमाडौं :  गजलकार टक गुरुङका दुई कृति ‘गजलाभूषण’ र ‘टक’ तथा सांगीतिक गजल ‘चर्चा चल्यो’को संयुक्त विमोचन गरिएको छ ।

शनिबार सर्वनाम थिएटरमा नेपाल गजल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सुरुवातमा टक गुरुङको शब्द र संगीतकारद्वय रवि प्राञ्जल तथा करुण थापाको संगीतमा तयार भएको सांगीतिक गजल ‘चर्चा चल्यो’ गायक प्रशान्त पोख्रेलले प्रस्तुत गरेका थिए । त्यसपछि सभाध्यक्ष, प्रमुख अतिथि वरिष्ठ गजलकार करुण थापा तथा अन्य अतिथिहरूले दुवै कृतिको आवरण अनावरण गर्दै पुस्तक विमोचन गरेका थिए ।

कृतिकार टक गुरुङले गजलको विस्तार र विकासमा योगदान दिने उद्देश्यसहित यी कृति तथा सांगीतिक गजल तयार पारेको बताए । विशेष अतिथि समालोचक एवं गजलकार उपप्राध्यापक भुवन निस्तेजले ‘गजलाभूषण’लाई गजलको सैद्धान्तिक पक्ष समेटिएको महत्त्वपूर्ण पुस्तकका रूपमा व्याख्या गर्दै गजलको परिचयदेखि काव्यशास्त्र, अरुज तथा पूर्वीय–पश्चिमी काव्य सिद्धान्तसम्बन्धी पक्षहरू यसमा समावेश रहेको बताए ।

त्यसैगरी, गजल संग्रह ‘टक’मा २०१ गजल समेटिएको उल्लेख गर्दै उनले यसमा सशक्त वैचारिकी, लालित्यपूर्ण शिल्प र भावगत गाम्भीर्य रहेको बताए । संग्रहमा समाजका उपेक्षित तथा सीमान्तकृत तप्काका आवाजलाई समेत बुलन्द रूपमा उठाइएको उनको भनाइ थियो ।

प्रमुख अतिथि करुण थापाले ‘गजलाभूषण’ले नेपाली गजल लेखनमा सैद्धान्तिक कृतिको अभाव पूर्ति गरेको उल्लेख गर्दै गजल लेखनको यात्रामा यो पुस्तक सच्चा सहयात्री बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष लालकाजी श्रेष्ठले हालसम्म प्रकाशित धेरैजसो गजलसम्बन्धी सैद्धान्तिक कृतिहरू आधारभूत तहमा सीमित रहेको बताउँदै ‘गजलाभूषण’ले गुणस्तरीय गजल कसरी लेख्ने भन्ने कुरा स्पष्ट रूपमा सिकाउने बताए । साथै, ‘टक’ संग्रहले वास्तविक नेपाली गजलको तृष्णा मेटाउने र भविष्यमा गजल अनुरागी तथा विद्यार्थीहरूका लागि महत्वपूर्ण सन्दर्भ कृति बन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा अनजान यात्री, चन्द्रकान्त जोशी, सुशीला शर्मा, गुमनाम मुसाफिर, वन्दना जोशी, पवन गौतम, लक्ष्मण संगम, संगीतकार एवं गायक सन्तोष श्रेष्ठ, श्याम कँडेल, निर्देशक रामकुमार ढुंगेल, रामशरण नेपाल, कमला ओलीलगायत गजलकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

‘गजलाभूषण’को भाषा सम्पादन सुमी पोखरेलले गरेका हुन् भने दुवै कृतिको आवरण तथा लेआउट गजलकार विनोद विम्बितले तयार पारेका छन् । प्रतिकृति मूल्य ५०० रुपैयाँ रहेको यी पुस्तकहरू एनिटाइम प्रिन्टिङ प्रेसले बजारमा ल्याएको हो ।

सम्बन्धित खबर