२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

३८ वर्षे सेवापछि शिक्षकलाई पञ्चेबाजासहित बिदाइ

shivam cement
अन्जान गुभाजु
२०८२ फागुन ५ गते १२:५५
Shares
३८ वर्षे सेवापछि शिक्षकलाई पञ्चेबाजासहित बिदाइ

नुवाकोट : श्री अजिङ्गरे माध्यमिक विद्यालय, विदुर नगरपालिका–१३ अजिङ्गरेमा ३८ वर्षसम्म निरन्तर शिक्षण सेवा गरेका शिक्षक रामशरण अर्याललाई पञ्चेबाजासहित सम्मानपूर्वक बिदाइ गरिएको छ ।

विद्यालयको इतिहासमै पहिलो पटक यसरी भव्य रूपमा शिक्षकलाई बिदाइ गरिएको जनाइएको छ । २०४४ साल चैत ८ गतेदेखि २०८२ साल कात्तिक ३० गतेसम्म सोही विद्यालयमा अध्यापन गर्दै आएका अर्यालले स्वेच्छिक अवकाश लिएका हुन् । 

विद्यालय परिवारका अनुसार उनले शिक्षण पेशालाई केवल रोजगारी नभइ सेवाको पवित्र साधनाका रूपमा आत्मसात गर्दै हजारौं विद्यार्थीको शैक्षिक, नैतिक तथा जीवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । 

दीर्घकालीन निष्ठा, इमान्दारिता र अनुशासनका साथ समर्पित सेवाको कदरस्वरूप विद्यालय परिसरबाट पञ्चेबाजासहित भव्य बिदाइ गरिएको हो । कार्यक्रममा विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । 

बिदाइ समारोहमा भावुक हुँदै अर्यालले विद्यालयलाई आफ्नो जीवनको पहिचानका रूपमा उल्लेख गर्दै औपचारिक सेवा समाप्त भएपनि शिक्षा र संस्कारप्रतिको दायित्व कहिल्यै समाप्त नहुने बताए । 

विद्यालय व्यवस्थापन समितिका अनुसार उनको औपचारिक सम्मान तथा बिदाइ समारोह आगामी फागुन ४ गते आयोजना गरिनेछ । कार्यक्रममा भूतपूर्व विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको उल्लेख्य सहभागिता रहने जनाइएको छ । विशेष रूपमा, पञ्चेबाजाको व्यवस्था भूतपूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट गरिएको हो । 

पूर्वविद्यार्थी श्रीकृष्ण थापाका अनुसार यस क्षेत्रमा शिक्षकलाई यसरी पञ्चेबाजासहित बिदाइ गरिएको यो पहिलो उदाहरण हो । विद्यालय परिवारले शिक्षक अर्यालको दीर्घ, निष्ठावान र प्रेरणादायी सेवायात्रा भावी पुस्ताका लागि मार्गदर्शक बनेर रहने विश्वास व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर