
लिस्बन : पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासको उद्घाटन गरिएको छ ।
दूतावासको बिहीबार एक समारोहकाबीच परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा.आना इसाबेल जेभियरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
गत अप्रिलमा स्थापना भई सेवा प्रवाह गर्दै आएको दूतावासको हाल औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
सो अवसरमा बोल्दै परराष्ट्र सचिव राईले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन दूतावासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै पोर्चुगलका विदेश मामिला सचिव डा.जेभियरले खुशी व्यक्त गर्दै दूतावासलाई पोर्चुगल सरकारको निरन्तर सहयोग रहने आश्वासन दिए ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन पुलको रुपमा काम गर्ने बताए । समुद्घाटन समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरु, दूतावासका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
नेपाली समुदायसँग अन्तरक्रिया : समस्यै समस्या झेल्नुपरेको गुनासो
यसैबीच दूतावासले नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियोे । दूतावासको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरुले पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या, दूतावासको सेवा, शुल्क र कागजी प्रक्रियाका क्रममा देखा परेका समस्यालगायतका विषयमा गुनासो गर्दै जिज्ञासा राखेका थिए ।
सहभागीहरुले दलालले प्रहरी चारित्रिक प्रमाणपत्रमा (प्रहरी रिपोर्ट) दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग गरि ठगी गर्दा पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका सयौं नेपाली समस्यामा परेको भन्दै सोको समाधानका लागि पहल गरिदिन सचिव राई समक्ष गम्भीर ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले नेपालमा पोर्चुगलको दूतावास नभएकै कारण दिल्ली धाउनुपर्ने बाध्यता रहेको भन्दै नेपालमै पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्न सचिव राई समक्ष आग्रह समेत गरेका थिए ।
सो अवसरमा सहभागीहरुको गुनासो र जिज्ञासालाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले पोर्चुगलवासी नेपालीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । शुक्रबार हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा पोर्चुगलवासी नेपालीले भोग्नुपरेका समस्या र तिनको समाधानका लागि विशेष ध्यानाकर्षण गराईने उनले बताए । साथै, प्रहरी रिपोर्ट तथा अन्य कागजी प्रक्रियामा देखिएका जटिलतासहित पोर्चुगलवासी नेपाली समुदायको समग्र हितका विषयमा विशेष प्राथमिकताका साथ छलफल गरिने राईले बताए । सचिव राईले व्यापार, पर्यटन, लगानी र रोजगारीलगायतका क्षेत्रमा पोर्चुगलको लगानी भित्र्याउन पोर्चुगलवासी नेपाली समुदायले पहल गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीको जिज्ञासालाई स्पष्ट पार्दै राजदूत पौडेलले प्रहरी रिपोर्टलगायतका कागजी प्रक्रियाका सन्दर्भमा सम्बन्धित निकाय मार्फत समाधानका लागि पहल भइरहेको बताए । दूतावासले प्राथमिकताका आधारमा काम गररिहेको बताउँदै पौडेलले क्रमिक रुपमा समस्याहरु समाधान हुँदै गएको जानकारी दिए ।
यसैबीच दूतावासले गैरआवासीय नेपाली संघलगायत यहाँ क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा ७६ औं प्रजातन्त्र दिवस समेत मनाएको छ ।