२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रौतहटमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह र आगजनी मुद्दा दर्ता

shivam cement
कृष्ण तिवारी
२०८२ फागुन ११ गते २१:२९
Shares
रौतहटमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह र आगजनी मुद्दा दर्ता

रौतहट : गौर नगरपालिकाको सबगढा क्षेत्रमा भएको साम्प्रदायिक तनाव र तोडफोड घटनामा संलग्न रहेको आरोपमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदलाई जिम्मा जमानीमा आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार गत शनिबार भएको घटनालाई चर्काउँदै तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई थप पक्राउ गरिएको छ ।

प्रहरीले २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । जिम्मा जमानीमा छुटेका अबधविहारी साह र शेख जमशैदसहित तीन जनाको मोबाइल नियन्त्रणमा लिएर परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको छ । मोबाइल परीक्षणबाट दोष पुष्टि हुने प्रमाण फेला परेमा सोही कसुरअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने डिएसपी वस्यालले जानकारी दिए ।

सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको जनाएको छ । प्रशासनले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

मुद्दा दर्ता भएकामध्ये शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, बिनोद कुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफलगायत रहेका छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर