
सुर्खेत : सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सम्पन्न भइसकेपछि थप तथ्य र प्रमाण संकलनका लागि सिआइबीको सहयोग लिइएको हो । प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घटनाको जिल्ला प्रहरी कार्यालय सुर्खेतले छुट्टै टोली बनाएर अनुसन्धान गरिरहेको छ । साथै अनुसन्धानमा कुनै तथ्यहरू नछुटुन् भनेर सिआइबीको टोली आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई घटनास्थलबाट पक्राउ गरेको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगरमा आमासँग बस्दै आएकी थिइन् । कक्षा–११ मा अध्ययनरत उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनतर्फ मर्निङ वाकका लागि निस्किएकी थिइन् । सोही क्रममा उनको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएका छन् । प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।