२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

इनिसा हत्याको अनुसन्धान सिआइबीले गर्ने

shivam cement
सपना बोहरा
२०८२ फागुन २९ गते ०६:५०
Shares
इनिसा हत्याको अनुसन्धान सिआइबीले गर्ने

काठमाडौं : सुर्खेतमा गत शनिबार १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भयो । घटनामा संलग्न भएको अभियोगमा बालिकाको प्रेमी भनिएका किशोरसहित चारजना पक्राउ परेका छन् । इनिसाको शव अझै कर्णाली प्रदेश अस्पतालमा छ । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै ६ दिन बितिसक्दा पनि पीडित परिवारले बालिकाको शव बुझ्न मानेका छैनन् । 

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेको थियो । हत्याको पाँचौं दिनमा (बुधबार) आएको पोस्टमार्टम रिपोर्टमा ‘यौन सम्बन्धका लागि जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्ने’ उल्लेख छ । 

रिपोर्टको व्याख्यामा जेनाइटल पार्ट (संवेदनशील अंग)हरूमा चोटपटक लागेको भनिएको छ । यौनांगभित्रको हाइमनदेखि पाठेघरसम्ममा चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको देखिएको छ । उक्त रिपोर्टलाई पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले मध्यान्हलाई भने, ‘१६ वर्षीय नाबालक किशोरले जबर्जस्ती करणी गरेर यौन सम्बन्ध स्थापित गरेको हुन सक्ने र करणीपछि नै विकको ‘जेनाइटल पार्ट’हरूमा चोटपटक लाग्नेदेखि रगत धेरै बग्दा मृत्यु भएको देखिन्छ ।’ 

शव नउठ्नुको कारणबारे मध्यान्हकर्मीको प्रश्नमा उनले भने, ‘घटनाका ओरोपीलाई हामीले पक्राउ गरिसकेका छौं, निष्पक्ष छानबिन भइरहेको छ । मृत बालिकाको आफ्नै संस्कार होला, सल्लाह गर्दै हुनुहुन्छ होला, अनि लग्नुहुन्छ ।’ पक्राउ परेकाहरूमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहीले बताए ।

अभियुक्त पनि नाबालक 

जबर्जस्ती करणी गर्ने अभियुक्त पनि नाबालक भएकै कारण प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । प्रहरीको अनुसन्धानमा प्रश्न उठाउँदै चौतर्फी विरोध भइरहेको छ । अभियुक्त नाबालकले पनि विक आफ्नो प्रेमिका भएको बयान दिएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार नाबालकले सहमतिमै यौन सम्बन्ध राखिएको बयान दिएका छन् । उनका अनुसार यौन सम्बन्धका बेला जबर्जस्ती गरेपछि अत्यधिक रगत बग्यो, केटी बेहोस भएको र रगत देखिइसकेपछि केटा आफैंमा अलमल परेको अत्तालिएको देखिन्छ । त्यसपछि उनले इनिसालाई तानेर लगभग साढे दुई मिटरजति पर लगेर समथर ठाउँमा राखेको शाहीले बताए । ‘त्यसपछि त्यहीँ सुताएर अरूलाई खबर गर्न गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भने ।  

शनिबार नै घटनास्थलबाट किशोर पक्राउ परेका थिए । उनीहरू दुवैजना एकै विद्यालयमा पढ्ने साथी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना १८ वर्षमुनिका रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार फागुन २४ गते अरू तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे छ ।

सिआइबीले अनुसन्धान गर्ने 

बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्ने भएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली वीरेन्द्रनगर पुगिसकेको छ । सुर्खेतका प्रहरी प्रमुख शाहीले भने, ‘हामीले घटनाको थप अनुसन्धानका लागि सिआइबीसँग सहयोग मागेका थियौं । सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको र आजदेखि सिआइबीको टोलीले थप अनुसन्धान थाल्छ ।’ 

उनका अनुसार फरेन्सिक ल्याबमा पीडित र पीडक दुवैका परिवारको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि पठाएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको उनले बताए । ‘पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउनेछ, प्रहरीले मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू प्रयोगशालामा पठाएको छ,’ उनले भने । 

कसरी भयो घटना ?

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११मा पढ्थिन् । गुर्भाकोट नगरपालिका–६ स्थायी घर भए पनि उनी अहिले आमा र भाइसँग वीरेन्द्रनगरमै बस्दै आएकी थिइन् । बुवा भने रोजगारीका लागि दुबईमा थिए । उनी पनि बुधबार बिहान घर आएका छन् । ‘ट्युसन पढ्न जान्छु’ भनेर बिहान घरबाट निस्किएकी इनिसा केही घन्टापछि वीरेन्द्रनगर नगरपालिका–४को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक हत्या भएको भन्दै न्यायको माग गरेका छन् । 

१०४३ नाबालक सुधारगृहमा

देशभर नौवटा सुधारगृहमा एक हजार ४३ जना नाबालक राखिएको छ । विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपमा सुधारगृहमा राखिएकामध्ये अधिकांश नाबालक रहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बालकृष्ण कटवालले जानकारी दिए । ‘सामान्य घटनामा संलग्न भएका नाबालकलाई सम्झाई–बुझाई अभिभावकको जिम्मा लगाउँछौं,’ उनले भने, ‘ठूला आपराधिक घटनामा संलग्नहरूलाई सुधारगृहमा पठाउँछौं ।’  

अझै पनि बाल सुधारगृहमा २५ वर्षसम्मका रहेको उनले बताए । ‘नाबालकमा अपराध गरेको र नाबालक उमेर कटेपछि अदालतको आदेशअनुसार सजाय तोकिएको हुन्छ,’ उनले भने, ‘सोहीअनुसार सजाय भुक्तान गर्नुपर्छ ।’ 

बाल सुधारगृहमा रहेका अधिकांश जबरजस्ती करणी, हत्यालगायतमा संलग्न रहेको उनले बताए । 

सम्बन्धित खबर