
रुकुम पश्चिम : रुकुम पश्चिमको कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर १० का ५९ वर्षीय मनबहादुर बुढाको उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बुढा आज राति साढे १ बजेतिर बेहोस भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए ।
त्यसपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले बिहान ५ बजेतिर मृत घोषणा गरेको उनले बताए । बुढालाई प्रेसरको समस्या रहेको प्रहरी निरीक्षक पुनको भनाइ छ । त्यस्तै बुढामा श्वासप्रश्वासका साथै मधुमेहको पनि समस्या रहेको बताइएको छ ।