
नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार राजेश अवालेद्वारा लिखित आत्मवृत्तान्त ‘अक्षरमा सात दशक’ प्रकाशित भएको छ । यस पुस्तकमा कलाकार अवालेका जीवनका अनेक उतारचढाव, संघर्ष, साधना र सिर्जनात्मक यात्रालाई शब्दमा उतारिएको छ । सात दशकभन्दा बढी समय कलासाधनामा बिताएका कलाकार अवालेले आफ्ना अनुभव, स्मृति र जीवनदर्शनलाई यस पुस्तकमार्फत पढनीय शैलीमा प्रस्तुत गरेका छन् ।
पुस्तकका शीर्षकहरू क्रमबद्ध छन् । लेखकले आफ्नो जीवनयात्रालाई क्रमबद्ध ढंगले प्रस्तुत गरेका छन् । प्रारम्भिक अध्यायहरूमा लेखकको जन्मथलो, पारिवारिक पृष्ठभूमि र बाल्यकालको परिवेशबारे चर्चा गरिएको छ । ‘जन्मथलो’, ‘थपाकुम्हाको पहिचान’, ‘धानको थुप्रोबीचको भोक’ जस्ता शीर्षकहरूमा लेखकको बाल्यकालको सामाजिक र आर्थिक अवस्था उजागर गरिएको छ । पुस्तकका प्रारम्भिक अध्यायमा कलाकार अवालेको जीवनको आधारभूत परिवेश र संघर्षलाई स्पष्ट बनाइएको छ ।
त्यसपछि आउने अध्यायहरूमा परिवारको प्रभाव र संस्कारहरूबारे चर्चा गरिएको छ । ‘हजुरबा र हजुरआमा’, ‘सानो छँदा बा र म’, ‘बाको विश्वास कर्ममा’ जस्ता शीर्षकहरूले लेखकको व्यक्तित्व निर्माणमा परिवारले खेलेको भूमिकालाई देखाउँछन् ।
परम्परागत जीवनशैली, श्रमको मूल्य र कर्मप्रतिको विश्वासले लेखकको जीवन र सोचलाई कसरी आकार दियो भन्ने कुराको पनि चर्चा पुस्तकमा छ । पुस्तकको मध्यभागमा लेखकको जीवनमा आएको मोड, आरोह–अवरोह, कलायात्राको सुरुवातको बेलिबिस्तार पाइन्छ । ‘माटोदेखि मैनसम्मको यात्रा’, ‘फिल्मी प्रभाव’, ‘एसएलसी छोडेर मूर्तिकलातिर’, ‘नाटकमा महिला पात्र’जस्ता शीर्षकहरूले अवालेको युवा अवस्थाको शुरुवात, संघर्ष र सिर्जनात्मक खोजलाई उजागर गर्दछन् । कलाकार बन्ने क्रममा भोग्नुपरेका चुनौती, सामाजिक सोच र व्यक्तिगत दृढतालाई पनि पुस्तकमा चित्रित गरिएको छ ।
पछिल्ला अध्यायहरूमा लेखकको परिपक्व जीवन, उत्तरदायित्व, कलासाधना र सामाजिक योगदानबारे चर्चा गरिएको छ । ‘कलाकारको पहिचान’, ‘नेपाल आर्ट भिलेजको परिकल्पना’, ‘सामाजिक कर्म’, ‘संयोग–वियोगका लहरहरू’ जस्ता शीर्षकहरूले लेखकको दीर्घकालीन अनुभव र जीवनदर्शनलाई प्रस्तुत गर्दछन् । यी अध्यायहरूमा लेखकले केवल आफ्नो व्यक्तिगत जीवन मात्र नभई कला, आफ्नो रुचि, समाज र संस्कृतिसँगको सम्बन्धलाई पनि उजागर गरेका छन् ।
यस पुस्तकमा लेखकको भाषाशैली सरल, आत्मीय र स्मृतिपरक छ । लेखकले आफ्नो जीवनका अनुभवलाई इमान्दारीपूर्वक प्रस्तुत गरेका छन्, जसले पाठकलाई कलाकारको संघर्ष र सफलताको अनुभूतिलाई महशुस गराउँछन् । विशेषगरी कला क्षेत्रमा लाग्न चाहने युवा पुस्ताका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ ।
समग्रमा ‘अक्षरमा सात दशक’ केवल आत्मकथा मात्र नभई नेपाली कला, श्रम र साधनाको दस्तावेज बनेको छ । लेखकको जीवन संघर्ष, सिर्जनात्मकता र निरन्तर साधनाको कथा यस पुस्तकमा सशक्तरूपमा अभिव्यक्त भएका छन् । त्यसैले यो कृति नेपाली कला र संस्कृतिमा रुचि राख्ने पाठकका लागि महत्वपूर्ण र प्रेरणादायी पुस्तकका रूपमा स्थापित हुन सक्छ । यो पुस्तक कला र संस्कृति प्रेमीहरूका संग्रहनीय छ ।
यस पुस्तकका प्रकाशक कयो अवाले हुन् । आवरण फोटो नानी हेरा शाक्यको रहेको छ । नानी हेरा शाक्यले पुस्तकको भाषाशैलीमा उत्कृष्ट काम गरेको छ, जसले पुस्तक पढ्दा गहिरो अनुभूति दिन्छ ।