काठमाडौं : मलेसियाका पाम आयल उद्योगीहरूले प्लान्टेशन क्षेत्रमा भारत र पाकिस्तानी कामदारका लागि रोजगारी खुला गर्न माग गरेका छन् । हाल प्लान्टेशन क्षेत्रमा इन्डोनेशिया र बंगलादेशी कामदारले काम गरिरहेका छन् ।
उद्योगीहरूले ती दुबै देशबाट गएका कामदारले प्लान्टेशन उद्योगमा आवश्यक रहेकोे विदेशी कामदारको माग पूरा गर्न नसकेको भन्दै भारत र पाकिस्तानी कामदार ल्याउन अनुमति दिनुपर्ने माग गरेका हुन् । मलेसियाले जनवरी २८ बाट प्लानटेशन क्षेत्रमा विदेशी कामदार लैजान शुरू गरेको हो । तर पाँच महिनाको अवधि गुज्रिएको अवस्थामा पनि १ लाख २० हजार कामदारको अभाव रहेकोे बताइएको छ ।
मलेसियाको प्लान्टेशन उद्योग तथा कमोडिटी मामिला मन्त्री जुरौदा कमरूद्दीनले भारत र पाकिस्तानबाट कामदार लगेपनि प्लान्टेशन क्षेत्रको समस्या समाधान नहुने भन्दै उद्योगीहरूलाई अटोमेसन प्रणालीमा जान सुझाव दिएकी छन् ।
‘प्लानटेशन उद्योगमा हुने विदेशी कामदारको अभाव पूर्तिका लागि स्वदेशी कामदारलाई त्यस क्षेत्रको रोजगारीमा आकर्षित गर्ने र अटोमेसनमा जानुको विकल्प छैन,’ उनले भनेकी छन् । ड्रोन प्रयोग गरेर औषधि छर्ने र हेरचाह गर्ने काम गर्न सकिने भन्दै त्यसले उत्पादनको लागतसमेत घटाउने उनको भनाइ छ ।
मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि दुई वर्षअघिबाट विदेशी कामदार नलग्दा हाल समस्या आएको रोजगारदाताहरूको गुनासो छ । नयाँ कामदार नजाँदा कोरोना अघि मलेसिया गएका कामदारले स्वदेश फर्किन समेत लामो समय कुर्नुपर्ने बाध्यता रहेकोे त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies