
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको शपथ लिनुअघि नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिने तयारीमा रहेका उनले बिहीबार साँझ ‘जय महाकाली’ शीर्षकको र्याप गीत सार्वजनिक गरेका हुन् ।
बिहीबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ । सोही निर्णयसँगै उनी सरकारको नेतृत्व गर्ने प्रक्रियामा अघि बढिसकेका छन् ।
प्रधानमन्त्री पदको शपथको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको ‘जय महाकाली’ गीत बालेनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले व्यापक दर्शक आकर्षण पाएको छ र भ्युज तीव्र गतिमा बढिरहेको छ ।
गीतमा शब्द, संगीत र स्वर स्वयं बालेनकै रहेको छ । उनले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै छोटो सन्देशमा ‘जय महाकाली सङ आउट नाउ’ लेखेका छन् ।
गीतको विषयवस्तु हेर्दा शक्ति, विद्रोह र अन्यायविरुद्धको आवाजलाई केन्द्रमा राखिएको देखिन्छ । बालेनले गीतमार्फत समाजमा विद्यमान भ्रष्टाचार, राजनीतिक बेथिति र विकृतिमाथि तीखो आलोचना गरेका छन् । साथै, युवालाई मौन नबस्न र अन्यायविरुद्ध आवाज उठाउन प्रेरित गर्ने सन्देश पनि दिएका छन् ।
गीतको भिडियोमा बालेनको चुनावी अभियानका झलकहरू समेटिएका छन् । देशको पूर्वदेखि पश्चिमसम्म उनले गरेको यात्रा, सर्वसाधारणसँगको भेटघाट तथा जनसमर्थनका दृश्यहरू भिडियोमा देख्न सकिन्छ । भिडले गरेको स्वागत र उत्साहजनक उपस्थितिले उनको राजनीतिक प्रभावलाई झल्काउने प्रयास गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जित्दै ठुलो राजनीतिक उपलब्धि हासिल गरेको थियो । सोही परिणामपछि बालेन सरकार गठनको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन् ।