
रौतहट : रौतहटमा पछिल्लो समय प्रहरीले चेकजाँच कडा बनाएसँगै चोरीका मोटरसाइकल तथा भन्सार छलीका सामान फेला पर्ने क्रम बढेको छ । विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा प्रहरीले २० वटा मोटरसाइकलसहित उल्लेख्य परिमाणमा अवैध सामग्री बरामद गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार फरक–फरक मिति र समयमा खटिएका प्रहरी टोलीले आवश्यक कागजपत्र नभएका २० थान मोटरसाइकल नियन्त्रणमा लिएका हुन् । ती मोटरसाइकलको अनुमानित मूल्य ११ लाख १० हजार रुपैयाँ बराबर रहेको उनले जानकारी दिए ।
त्यसैगरी, गौर नगरपालिका–५ मा गरिएको चेकजाँचका क्रममा खाद्यान्न तथा इलेक्ट्रोनिक सामग्री भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार बरामद गरिएको उक्त सामानको मूल्य ६७ हजार ८९० रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार मोटरसाइकल र अन्य सामान गरी कुल ११ लाख ७७ हजार ८९० रुपैयाँ बराबरको सामग्री आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आइतबार साँझ गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
स्थानीय बासिन्दाहरूले हाल प्रहरीले कागजपत्रविहीन सवारीसाधन र अवैध ढुवानीमाथि निगरानी कडा बनाएकाले यस्ता गतिविधि नियन्त्रणतर्फ उन्मुख भएको बताएका छन् ।