
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले वैदेशिक रोजगार क्षेत्रमा हुने गरेको ठगी नियन्त्रण गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री साहले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी नियन्त्रण मुख्य चुनौती रहेको बताए । बुधबार मात्रै वैदेशिक रोजगार विभागको निरीक्षण गरेका मन्त्री साहले विभागमा ४० हजार उजुरी रहेको भन्ने सुन्दा आफू आश्चर्यमा परेको बताए । उनले भने, ‘कार्यालय जलेर तथ्यांक नष्ट भएको छ । महानिर्देशकज्यूले १८ हजार उजुरी रहेको जानकारी दिनुभएको छ । हामी गहन अध्ययन गरेर काम गर्छौं ।’
त्यसैगरी मन्त्री साहले वैदेशिक रोजगारमा गएका नेपाली कामदार कुन देशमा छन् भन्ने ट्र्याक गर्ने एप्स बनाएर काम गरिने बताए ।
मन्त्री साहले वैदेशिक रोजगारमा जानुअघि दिइने अभिमुखीकरण मन्त्रालयले अनलाइन कोर्स बनाएर निःशुल्क दिने बताए । उनले भने, ‘उक्त तालिमको शुल्क ७ सय रुपैयाँ तोकिएको कारण नै त्यसलाई निःशुल्क बनाउने तयारीतर्फको कदम हो ।’
वैदेशिक रोजगार प्रशासनमा सुधार गर्न टोकन प्रणाली हटाएर सुधारको सुरुवात गरिएको पनि उनले बताए ।
मन्त्री साहले वैदेशिक रोजगारको ठगी नियन्त्रणसँगै आन्तरिक रोजगार प्रवर्धन नै आफ्नो मुख्य लक्ष्य रहेको बताए । आन्तरिक रोजगारी नै देश विकासको मेरुदण्ड भएको भन्दै उनले श्रमिकको सीप, दक्षता तथा गुणस्तर बढाउने बताए । उनले भने, ‘म त्यो दिशामा छु । केही निर्णय पनि भएका छन्, तर तत्कालै परिणाम आउँदैन, त्यसका लागि समय लाग्नेछ ।’
उनले न्यूनतम पारिश्रमिक तोक्दा सरकारी पदलाई आधार मानेर जानुपर्ने आफ्नो मान्यता रहेको बताए । आन्तरिक श्रममा तलब तोक्दा पदअनुसार श्रमको सम्मान हुनुपर्ने र अब महिनाको तलब तोक्ने प्रणालीमा परिवर्तन गरी छुट्टै कार्यविधि बनाएर घण्टाको आधारमा तलब तोकिने पनि उनले बताए ।
उनले कार्यस्थल र व्यवसायजन्य सुरक्षामा ध्यान दिँदै सामाजिक सुरक्षा कोषमा हाल योगदान गर्नेको संख्या तीन दोब्बर बनाउने बताए । उनले भने, ‘हाल योगदानकर्ताको संख्या ७ लाख छ, यसलाई बढाएर २२ लाख पुर्याउने लक्ष्यमा काम हुनेछ ।’
मन्त्री साहले जनकपुरदेखि सीप तालिमको कार्यक्रम सुरुवात गरेर ३९० घण्टे तालिम दिइने पनि बताए ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले मध्यपूर्वमा समस्यामा रहेका नेपालीको आपतकालीन उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको र श्रम मन्त्रालयले १२ वटा श्रम गन्तव्य मुलुकमा रहेका काउन्सेलर श्रम र श्रम सहचारीसँग छलफल गरी अवस्था बुझिएको बताए । उनले वैदेशिक रोजगारमा ठगिएमा आवाज रेकर्ड गरेर उजुरी गर्न सकिने एप्स नर्माण भइरहेको पनि जानकारी दिए ।