
काठमाडौं : साहित्यकार, गीतकार तथा गजलकार देवी घिमिरेको उपन्यास ‘मनझोली’ एक समारोहका बीच लोकार्पण गरिएको छ । पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको उपलब्धिका रूपमा आएको उक्त कृति विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
वरिष्ठ साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रा.डा. हेमनाथ पौडेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता शंकर भारतीले गरेका थिए ।
लोकार्पण समारोहमा दाताराम घिमिरे र नरमाया घिमिरेसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उपन्यास ‘मनझोली’माथि संगीतकार तथा साहित्यकार सन्तोष श्रेष्ठ, साहित्यकार निमग्ना घिमिरे र टि.एन. भट्ट ‘विश्वामित्र’ले गहन समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन गीतकार देवी पराजुलीले गरेकी थिइन् ।
साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ जीवन्त र अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।
