
सुन्नुहोस्,
युद्धको साइरन बजिसकेको छ ।
यो केवल ध्वनि होइन,
यो ती सपनाहरू विरुद्धको उद्घोष हो
जसले अरूको पीडामाथि आफ्ना महलहरू उठाए,
जसले सत्ताको सिंहासनलाई
कमजोरहरूको रगतले रंगाए ।
अब त्यो समय बितिसकेको छ
जब आँसुहरू चुपचाप तकियामा मर्थे ।
हरेक थोपा अब लावा हो
बिस्तारै बग्ने,
तर भित्र यति प्रचण्ड
कि गलाइदिन्छ
अत्याचारका ती पर्खालहरू
जहाँ वर्षौंदेखि पीडा कैद थियो ।
यो साइरन
अब केवल एउटी स्त्रीको आवाज होइन,
यो प्रतीक हो
हरेक गुँगो चिच्याहटको,
जो डरको पिँजरामा
अनगिन्ती रातसम्म घटिरह्यो ।
उसले अब
संकोचको आवरण फ्याँकेकी छ,
र आक्रोशको शृंगार पहिरेकी छ ।
उसका आँखामा अब करुणा छैन
त्यहाँ बलिरहेको छ
एक मौन आगो,
जसले सम्पूर्ण व्यवस्थालाई
राखमा परिणत गर्न सक्छ ।
जसले निर्दोष हातहरू कुचल्यो
अब तिनै हातमाथि
समयको तरबार झर्नेछ,
सत्यको धार बोकेको,
झूट र पाखण्डका अनुहारहरू चिर्दै ।
एक–एक गरेर हिसाब हुनेछ
शोषणको, सन्नाटाको,
र ती घाउहरूको
जसले जीवनलाई
मृत्युभन्दा गहिरो बनायो ।
अब शब्द होइन
कर्म बोल्नेछ ।
हरेक आँसु शस्त्र हो,
हरेक चुप्पी अब हुंकार बनेको छ ।
यो साइरन अब केवल गुञ्जन होइन
यो संसद्का पर्खालहरूमा परेको दरार हो,
यो ती कानुनहरूको चिहानमाथि उम्रिएको प्रश्न हो
जसले कागजमा न्याय लेख्छन्
र भूमिमा अन्याय रोप्छन् ।
यो साइरन पुग्नेछ
ती चौखटहरूसम्म
जहाँ आज पनि महिलाको आवाज
परम्पराको नाममा गाडिन्छ,
जहाँ उसको शरीर
निर्णयको मेज बन्छ,
र उसको आत्माले
मतदानको अधिकारसमेत पाउँदैन ।
अब हरेक पीडित
केवल कथा रहने छैन
ऊ साक्षी बन्नेछ, ऊ मुद्दा बन्नेछ,
र आफ्नो फैसला आफैं लेख्नेछ ।
यो युद्ध कुनै सीमाको होइन
यो भित्रको डर,
बाहिरको सत्ता,
र बीचमा अल्झिएको मानवताको लागि हो ।
र सम्झनुहोस्
जब साइरन धेरै बेरसम्म बज्छ,
त्यो केवल चेतावनी हुँदैन,
त्यो इतिहास बन्छ ।
र यसपटक
इतिहास लेखिने छैन,
छिनिनेछ ।