
कुरो बिहानैको हो ! त्यति बिहान पनि होइन ब्रह्ममुहूर्तको नजिक हुँदै होइन । त्यति अबेला पनि होइन, मध्याह्नको नजिकनजिकको पनि होइन । घामले अल्छी पारामा आङ तान्दै गरेपछिको हो वा घामले मुख धोएर, दाँत माझेर बसिसकेको अवस्थाको हो भन्न सकिएला ।
एउटी महिला देखेँ, झोला हल्लाउँदै गरेको, ओठमा मुस्कानको शुभप्रभात बोक्दै गरेकी । उनलाई देखेर परपरबाट बिराला घोडावाक गर्दै आए, मतलब दौडिँदै । मान्छेको क्याटवाक बिरालाको घोडावाक सम्झेर एकछिन भित्रभित्रै हाँसे । केके न नयाँ कुरा पत्ता लगाएजसरी प्रसन्न भएको हुन सक्छु । अनि उनलाई देखेर छतको टुप्पामा, तारको सतहमा, गुँडको न्यानोमा, पर्खालका प्वालमा बसिरहेका विविध किसिमका पक्षी पनि हुरुरु आए । म अचम्मित पर्नै लागेको थिएँ, झोलाबाट चारा निकाल्नेबित्तिकै अनुमान लगाइहालेँ कि पक्कै चारो खान आएका हुन् । मनमनै सोचेँ– पक्कै यी महिला हरेक दिन यसरी चारा बोकेर आउँछिन्, त्यसैले यी पशुपक्षी यिनको सुगन्धलाई चिन्छन् । मलाई थाहा छैन, पशुपक्षीले कसैको अनुहार सम्झिन्छ वा सम्झिन्न, तर पक्का भन्न सक्छु कि सुगन्धचाहिँ चिन्छन् । एकछिन मनमनै हिसाब गरेँ कि प्रेममा कति ठुलो शक्ति हुने, पशुपक्षीले करुणाको भाषा कति मज्जाले बुझ्ने ।
एकछिनमा दुई–चार ठाउँमा चारा छर्केर ती महिला लागिन् । बिराला र चराचुरुंगी हाँसिरहेका थिए वा छलफल गरिरहेका पनि हुनसक्छन् । तर एकोहोरो चिरबिर चिरबिर सुनिन्थ्यो । हरेक फरक किसिमका चराका फरक भाषाजस्तो लाग्थ्यो । कौवाको भाषामा ‘क..झ’को प्रयोग धेरै थियो भने रुपीको भाषा ‘च’को भँगेरा वा अरूका पनि आफ्नै भाषा थिए । त्यसमा बिरालोको भाषाचाहिँ उसको बडी ल्यांग्वेज बढी थियो । बिरालो आवाजबाट खासै केही बोलिरहेको थिएन ।
सुरुमा बिरालाले सबै खानामा आधिपत्य जमाउन खोज्यो । पक्षीलाई नजिक आउन दिइरहेको थिएन । तर पनि पक्षी एकदम चनाखो हुँदै, हरेक दाना टिप्नुअघि यताउता हेरेर दाना टिप्दै भुर्र उडेर भाग्दै थिए । बिरालो चारामा भन्दा चराहरूलाई धपाउन व्यस्त थियो । अझ चलाख कौवाले त बिरालालाई सताउनुसताएका थिए । बिरालाले सबै खाना एक्लै हडप्ने सोचले गरेका आक्रमण सफल भएनन् । यत्तिकैमा चारा कमकम हुँदै गए, चराहरू अघाउँदै गए, बिरालो चारा बचाउने चक्करमा थाक्दै गए । जबजब बिराला थाक्न लागे अनि ठुला चराले साना चरालाई धपाएर खाना हडप्ने कोसिस गर्न थाले । तर, साना चराहरू पनि भागेजस्तो गर्दै आउँदै चारा टिप्दै गए । अनि बिस्तारै साना चरा पहिला अघाएर डकार्दै गए, अनि ठुला चरा दोस्रोमा अघाउने परे र बिराला थाके मात्र, चारा पनि सकियो ।
अन्तिममा म आफूलाई दार्शनिक बनाउने विचार गरेर यो घटनाको दार्शनिक व्याख्या गर्न खोजेको कुरा सहर्ष जानकारी गराउँछु । मलाई गम्भीर नलिनुहुन आग्रहसहित, किनकि मेरा दार्शनिक तर्क खासै उपयोगी हुने छैनन् । यसलाई एउटा नार्सिसिस्ट दार्शनिकको व्याख्या सम्झिन सक्ने सुविधा पनि उपलब्ध छ ।
जो चारा लिएर आएकी थिइन् । उनी दाता हुन् वा ईश्वर अथवा प्रकृति जे मान्दा नि भयो । खाना दिनु उनको करुणा, प्रेम र कर्तव्यजस्तै जिम्मेवारी थियो । चारा मिलेर खाऊन् भन्ने उद्देश्यका साथ दिइएको थियो ।
हरेक प्राणी शक्तिशाली हुन्छन्, कमजोर हुन्छन्, चतुर हुन्छन् । यी सबै जिउनका लागि संघर्ष गरिरहेका हुन्छन् । जसरी माथि भनिएको घटनाको दृश्यमा बिरालो शक्तिमान थियो, त्यसैले उसले सबै खाना हडप्ने कोसिस ग¥यो । चराहरू डराएका त थिए, तर आफ्नो चतु¥याइँ र भोकको संघर्षका लागि मैदान छाडेर भागेनन् ।
यहाँ एउटा कुरा के सिक्न सकियो भने जतिसुकै शक्तिशाली भए पनि उसको कमजोरी पक्कै हुन्छ । त्यो कमजोरी पत्ता लगाउन सकियो भने शक्तिशाली कुरालाई परास्त गर्न सकिन्छ । बिरालो शक्तिशाली भए पनि चराजसरी उड्न सक्दैन थियो ।
सबै कमजोर भनिएका पात्रसँग एउटा मात्रै भए पनि खास विशेषता हुन्छ । जसरी यहाँ चरासँग उड्ने विशेषता थियो, यसलाई नै उनीहरूले तागत बनाए । हामीले पनि त्यस्तो सबल पक्ष खोजेर त्यसलाई ताकत बनाउनुपर्छ ।
बिरालाले चरालाई धपाउनुलाई जायज मान्न सकिन्छ किनकि उनीहरू फरक प्रकृति र जीव हुन् । तर चराले चरालाई पनि धपायो किनकि जब कोही शक्तिमान् हुन्छ कमजोरलाई हेप्छ । कौवाले रुपी वा रुपीले भँगेरालाई हेपेझैँ । तर कमजोर वा सानासँग एउटा ठुलो ताकत हुन्छ । त्यो ताकत भनेको साना कुराको आवश्यकता कम हुन्छ । एउटा भँगेरा कम आहाराले अघाउन सक्छ । त्यसैले कमजोरले आफ्ना आवश्यकतालाई कम बनाउन सकियो भने संघर्षको मैदानमा युद्ध गर्न सजिलो हुन्छ । तर शक्तिशाली पक्षले धपाउँदैमा संघर्ष गर्न छोड्नुहुन्न, लड्नुपर्छ, कमजोरीलाई ताकत बनाएर ! चतुर ढंगबाट । अनि बिरालो बनाइदिनुपर्छ त्यो पनि भिजेको । खासमा संघर्ष बिर्सिएको भए बिरालो सफल हुन्थ्यो । शक्तिशालीसँग डराउनुहुन्न आफ्नो कौशल प्रयोग गरेर जित निकाल्नुपर्छ । संघर्षदेखि थाक्न मनाही छ । चराहरूले संघर्ष नगरेको भए बिरालो नायक हुन्थ्यो अनि चराहरू भोकै ।
यो टुटेफुटेको दार्शनिकबाट दर्शनको कुरा कत्तिको बुझाउन सकेँ । केही बुझ्नुभएको भए विस्तारमा भन्दिनुहोला !