२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

पुँजी निर्माणमा सेयर बजार

Nada
सन्देश अर्याल
२०८३ वैशाख ६ गते ०६:०५
Shares
पुँजी निर्माणमा सेयर बजार

सेयर बजार, जसलाई सेयर बजार पनि भनिन्छ, यो देशको आर्थिक संरचनाको एक महत्वपूर्ण अंगका रूपमा क्रमशः विकसित हुँदै आएको छ । सीमित पहुँच र न्यून संरचनासँगै विकास भएको यो बजार अहिले डिजिटल प्रणाली, जनसहभागिता र विविध क्षेत्रीय लगानीको माध्यमबाट विस्तारको चरणमा पुगेको छ । यद्यपि, अझै पूर्ण परिपक्व भइसकेको छैन, यसको योगदान र सम्भावना दुवै उल्लेखनीय छन् ।

विकासक्रम

नेपालमा सेयर बजारको सुरुआत अनौपचारिक रूपमा १९९४ तिर भएको मानिन्छ, जब नेपाल बैंक लिमिटेडजस्ता संस्थाहरूले सर्वसाधारणलाई सेयर जारी गर्न थाले । त्यो समयमा कुनै व्यवस्थित कारोबार प्रणाली थिएन र सेयर खरिद–बिक्री सीमित दायरामा हुने गर्दथ्यो । २०३३मा सरकारले सेक्युरिटिज एक्सचेन्ज सेन्टर स्थापना गरेपछि भने सेयर बजारले संस्थागत रूप लिन थाल्यो । यसले सरकारी ऋणपत्र र कम्पनीका सेयर कारोबारलाई केही हदसम्म व्यवस्थित गर्‍यो ।

२०४७ पछि आएको आर्थिक उदारीकरणले नेपालको सेयर बजारलाई नयाँ दिशा दियो । २०५० मा नेपाल स्टक एक्सचेन्ज स्थापना भयो र २०५१ देखि औपचारिक रूपमा सेयर कारोबार सुरु भयो । सोही वर्ष नै नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको पनि स्थापना भएको थियो । धितोपत्र बोर्ड नेपालले नियामक निकायका रूपमा बजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम गर्‍यो ।

समयक्रममा प्रविधिको प्रयोगले बजारलाई थप सशक्त बनायो । २०६७ मा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको स्थापनासँगै थप सेयर कारोबार व्यवस्थित हुने अवस्था बन्यो । २०७१मा डिम्याट प्रणाली र अनलाइन कारोबार सुरु भएसँगै लगानीकर्ताको पहुँच व्यापक रूपमा बढ्यो । यसले सेयर बजारलाई कागजी प्रणालीबाट डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्‍यो ।

पुँजी निर्माणमा सेयर बजार

सेयर बजारको सबैभन्दा महत्वपूर्ण योगदान भनेको पुँजी निर्माण हो । व्यक्तिहरूको सानो–सानो बचतलाई संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने बनाउनु यसको मूल उद्देश्य हो । यसको उपयोगबाट बैंकमा निष्क्रिय रहेको रकम उद्योग, जलविद्युत्, बिमा र सेवा क्षेत्रमा लगानीका रूपमा रूपान्तरण हुन्छ ।

उदाहरणका लागि, अपर तामाकोशी जलविद्युत् लिमिटेडजस्तो ठुलो परियोजना सर्वसाधारणबाट उठाइएको पुँजीबाट निर्माण भएको हो । अहिले पनि थुप्रै परियोजना सुरु हुँदै छन् । यस्तै, विभिन्न बैंक तथा वित्त संस्थाहरूले पनि सेयर बजारमार्फत नै आफ्नो व्यवसाय विस्तार गरेका छन् ।

सेयर बजारले दीर्घकालीन पुँजी जुटाउने अवसर प्रदान गर्छ, जसले उद्योगहरूलाई ऋणको भारबिना नै विस्तार गर्न मद्दत गर्छ । साथै, यसले लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्ने अवसर दिँदै जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । आवश्यक पर्दा सेयर बेचेर नगदमा रूपान्तरण गर्न सकिने भएकाले यसले तरलताको सुविधा पनि प्रदान गर्छ ।

एउटा प्रख्यात भनाइ छ– सेयर बजार आर्थिक विकासको मेरुदण्ड हो । यसले सेयर बजारको महत्वलाई स्पष्ट रूपमा देखाउँछ । नेपालको सन्दर्भमा पनि सेयर बजारले आर्थिक गतिविधिलाई गति दिने, रोजगारी सिर्जना गर्ने र औद्योगीकरणलाई टेवा दिने काम गरिरहेको छ । नेपालको सेयर बजारले विभिन्न क्षेत्रमा उद्योग तथा संरचनात्मक विकासलाई सहयोग पुर्‍याएको छ । बैंकिङ क्षेत्रमा दर्जनौं बैंकहरूले आफ्नो सेवा विस्तार गरी देशभर शाखा सञ्जाल फैलाएका छन् । बिमा क्षेत्रमा कम्पनीहरूले ग्रामीण तहसम्म पहुँच विस्तार गरेका छन् ।

जलविद्युत् क्षेत्रमा जनसहभागितामा आधारित परियोजनाहरूले ऊर्जा उत्पादनमा आत्मनिर्भरता बढाउने दिशामा योगदान दिएका छन् । होटल तथा पर्यटन क्षेत्रमा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उत्पादनमूलक क्षेत्रमा युनिलिभर नेपालजस्ता कम्पनीहरूले उपभोक्ता वस्तु उत्पादन र वितरण प्रणालीलाई सुदृढ बनाएका छन् ।

यी उदाहरणहरूले देखाउँछन् कि सेयर बजार केवल लगानीको माध्यम मात्र नभई राष्ट्रिय विकासको एक महत्वपूर्ण साधन पनि हो ।

चुनौती पनि उस्तै

यद्यपि, नेपालको सेयर बजारले उल्लेखनीय प्रगति गर्न सकेको छैन, अझै पनि केही चुनौती विद्यमान छन् । एकातिर बजारको आकार सानो छ भने अर्कोतिर लगानीकर्ताले सहज ढंगले बैंकिङ सुविधा पाइरहेका छैनन् । सँगै, नीतिगत अर्पाप्तता र अस्थिरता पनि अर्को समस्या हो । सरकार र नियामक निकायबाट आउने बारम्बारका नीति परिवर्तनहरूले लगानीकर्तामा समस्या सिर्जना गरिरहेको छ । एकातिर नियामक धितोपत्र बोर्ड आफैंमा व्यवस्थित छैन भने सेयर बजारसँग जोडिएका नेप्से, सिडिएस एन्ड क्लियरिङजस्ता निकाय पनि समयअनुकूल छैनन् । साथै, नीतिगत पक्ष व्यवस्थित नहुँदा केही खेलाडीका कारण बजारमा साना लगानीकर्ताले सुरक्षित महसुस नगर्ने अवस्था छ ।

भविष्यको सम्भावना

नेपालको सेयर बजारको भविष्य आशाजनक नै देखिन्छ । डिजिटल प्रविधिको विस्तार, अनलाइन कारोबार प्रणाली र डिम्याट खाताको वृद्धिजस्ता पक्षहरूले बजारलाई थप पहुँचयोग्य बनाएका छन् । युवापुस्ताको बढ्दो सहभागिता पनि अर्को सकारात्मक पक्ष हो । 

आगामी दिनहरूमा जलविद्युत्, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा नयाँ कम्पनीहरू सूचीकरण हुने सम्भावना छ । साथै, ऋणपत्र, डिबेन्चर र सामूहिक लगानी कोषजस्ता वित्तीय उपकरणहरूको विस्तारले बजारलाई अझ गहिरो र परिपक्व बनाउन सक्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने न्युयोर्क स्टक एक्सचेन्ज वा बम्बे स्टक एक्सचेन्ज जस्ता बजारहरूले देखाएको विकासक्रमले स्पष्ट गर्छ कि सही नीति, प्रविधि र पारदर्शिता भएमा सेयर बजारले देशको आर्थिक रूपान्तरणमा ठुलो भूमिका खेल्न सक्छ । नेपालले पनि यस्ता अनुभवहरूबाट सिकेर आफ्नो बजारलाई सुदृढ बनाउन सक्छ ।

सम्बन्धित खबर