– गोविन्द भट्टराई
बिहान नहुँदै फेसबुकको नोर्टिफिकेशनले निन्द्रा धपाई हाल्यो । सबैलाई केको हतार हो कुन्नि फेसबुकमा मदिसे चिउरा दही केराका फोटाहरूले धनेको फोनको इस्क्रिन ठयाम्मै भरियो । झनक्क रिस उठेर आयो र मनमनै मुरमुर्यो– हामीलाई नी थाहा छ कहिले हो असार पन्ध्र के हो रोपाई र दाइँ !
अस्ती भर्खर धनेले अदुवाको माऊ बेचेर जोरथाङबाट नयाँ एनड्रोइड फोन ल्याएको छ । अलि अलि चलाउन सिकिसकेको छ । साथी भाईलाई मेसेज गर्न फोटामा लाईक र कमेन्ट गर्न जानीसकेको छ । अझै धेरै कुरा सिकेर फेसबुकको मास्टर हुने रहरले राती अबेरसम्म सुतेको हुँदैन आजकल ।
सात दिनको हिलो आली, हिलो मज्जाले कुुहिएर खेत नै सुगन्धित भएको छ । आज असार पन्ध्र मानो खाएर मुरि फलाउने दिन । खेतालालाई खाजा पोको पारेर चिया चै उतै खेत मै बनाउने भन्दै धनेका परिवार हतार हतार मेलोमा आइपुग्छन् । कति हतार छ सबैलाई । खेतालाहरू पनि काँधमा कोदाली प्याउरी हालेर हाइ हाइ हुई गर्दै मेलोमा आईपुगिसकेका छन् । कति रमाइलो छ गाउँले जीवन तर, गाउँ मै बसेर रात दिन दुःख गर्नेलाई मात्र थाहा छ असलमा गाउँले जीवन कस्तो छ भनेर ।
रोडको छेउमा खेत भएकोले शहरबाट आएका लग्जरी गाडीहरू खेतको सिरानमा एकाएक रोकिन थाले । हिलोमा पसेर सेल्फी हान्नेको घुइँचो भयो । छाँटकाट हेर्दा केही समय अघि शहर पलायन भएका मान्छेहरू नै देखिन्छन् । कोदाली र प्याउरी मागेर सेल्फी हान्नाले मेलो अलि कम्ती चलेको थियो । आजकल खेती गर्न कोही रुचाउँदैनन् । शहरको जीवन नै उत्तम मानिन्छ न हिलो, न आली, न हलो, न कोदाली ।
शहरबाट गाउँतिर असार पन्ध्र मनाउन झरेका ठूला हाकिम जस्ता मान्छे गाडीबाट बाहिर आए । हेर्दा १५ र १७ वर्षका देखिने कलकलाउँदो जिउ डाल भएका किशोरीहरू पनि उत्साहित हुँदै निस्किएर खेतका गरा तिर झरे । हिलोमा गएर धान रोपे जस्तो बाउसे गरे जस्तो कति राम्रो अभिनय गरेर फोटाहरू खिचे । टिकटक बनाए । एउटीले त भन्दै थिइन्– म त बाथ गरे जस्तो भयो भनेर । धनेलाई थाहा छैन के हो बाथ । जे भए पनि उसलाई बाथ गर्ने इच्छा पट्टकै भएन ।
हाकिमले सोधे, “कुन धान रोप्ने हो ?”
“आधा मसिनो आधा जापाने, सबै मसिनो रोप्यो भने कम्ती फल्छ”, धनेले आफै भन्यो ।
आफूलाई दशैँ औसीमा खाने दुई तिन मुरी जापाने भए भइहाल्छ । बाँकी बि पी एल खान्छौ सालभर ।
एकक्षण कम्मरमा हात लगाएर पछि केही सोचेर हाकीमले खल्तीमा हात हाले र केही नभनी रू. पाँच हजार निकालेर धनेको हातमा थमाउन खोजे । उ छक्क पर्यो !
“के गर्नु भाको सर, पर्दैन ।”
“दुःख देखेर दिएको नी तपाईंहरू यत्रो दुःख कस्ट गर्नुहुन्छ ।”
हाकिम जस्ता देखिने मान्छेले डाट्स दिए ।
धनेले नोटको मुठो हेर्यो । लकडाउनको बेलामा घर चलाउन कस्तो साह्रो परेको बेलामा उसको अघि भगवान नै प्रकट भएर सहयोग गरे जस्तो लाग्यो । दोकानको उधारोले गर्दा हिजो राती पनि उसलाई राम्रो निन्द्रा परेको थिएन । सोझो धने केही नसोची पैसाको मुठो समाएर गोजीमा हाल्यो ।
“धन्यवाद हजुर ! हजुर भगवान समान हुनुहुन्छ” भन्दै धनेको शिर आफै निहुरियो ।
उसले सोच्यो कुनै पार्टीको नेता हुनुपर्छ सहयोगको भावना लिएर असार पन्ध्र मनाउन गाउँ आएका ।
सबै खेतालाहरू एकटक भएर यो दृश्य हेरिरहेका थिए ।
धनेले चिया खाएर जाने आग्रह गर्यो, “सर रातो फिक्का चिया खाएर त जानुहोस् ।”
“पर्दैन पर्दैन बरु मंसिरमा पाँच मुरी धान राम्रो बनाएर राखिदिनु है, त्यै भएर अहिले पैसा दिएको”, भन्दै गाडी भए तिर लागे ।
धनेले कुरा बुझेन र टवाल्ल पर्यो । पाँच हजारमा पाँच मुरी धान कहाँ पाइन्छ र ? एक पटक त लाग्यो त्यो पैसा फिर्ता गरिदिउँ । त्यसो गर्न सक्दैन धने कारण सबै खेतालाहरू रमिता हेरिरहेका छन् । धनेले आफ्नो सोझोपनको रमिता आफैले हेरिरहेको छ । एक मनले आफै सोच्यो हाकिमले बैना दिएका होलान् ।
गाडी स्टार्ट गरेर हात हल्लाउदै धने र खेतालाहरूको नजरमा त्यो दयालु मान्छे सबैबाट ओझेल भए ।
गाडीमा कुरा गर्दै थिए । वाह कस्तो दामी आएछ फोटो । फोटोको बेक्ग्राउन्डमा निथ्रुुक्क भिजेको धनेको शरीर र रुन्चे अनुहार कसैको नजरमा हाइ लाइट हुन सकेन ।
केही अघि गएपछि हाकिमको मनमा एउटा विचार थपियो के धनेले त्यो रकम एडभान्स मात्र सम्झेको त छैन । त्यसो हो भने त पछि अलि अप्ठेरो हुन्छ ।
मन मनै भन्दै गए मंसिरमा जसरी भए पनि पाँच मुरी धान भरिन्छ । पाँच हजारको ब्याज कहाँ गयो मानौ, धनेले पैसा उनीसँग ब्याजमा मागेको थियो ।
यतिबेरसम्म किशोरीहरूले रोपाईंका फोटोहरू फेसबुक इन्स्टाग्राम र वाटसेपमा साझा गरिसकेका थिए । क्याप्सन थियो, “भिलेज लाईफ, हैपी लाईफ”, “ए डे एट माई भिलेज ।”
सायद ती फोटोहरू धनेको मोबाइलसम्म पनि आईपुगिसकेका होलान् । बेलुका धनेले गएर फेरि लाइक कमेन्ट र सेयर पक्का गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies