
काठमाडौँ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने उद्देश्यले गठन गरिएको विज्ञ समूहलाई पूर्णता दिएको जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको बैठकले उपसभापति पुष्पा भुषालको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार थप सदस्यहरू समावेश गर्दै समितिलाई पूर्ण स्वरूप दिइएको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार समितिमा १५ जना सदस्य थपिएका छन् । समावेश गरिएका व्यक्तिहरूमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी तथा ललितकुमार बस्नेत रहेका छन् ।
त्यसैगरी अधिवक्ताहरू रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि समितिमा समावेश भएका छन्। समितिको सदस्य-सचिवको जिम्मेवारी राजु कटुवाल लाई दिइएको छ । समितिले संविधान संशोधनसम्बन्धी विषयमा अध्ययन गरी पार्टीलाई आवश्यक सुझाव उपलब्ध गराउने जनाइएको छ ।