
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। बैठकमा छलफलका लागि नौ वटा एजेन्डा तय गरिएको पार्टीले जनाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संगठनात्मक गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ। साथै केन्द्रीय सदस्यहरूले आ-आफ्ना कार्यक्षेत्रको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। यसका लागि २० जना सदस्यलाई दुई-दुई मिनेटको समय छुट्याइएको जनाइएको छ ।
बैठकमा आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको प्रारम्भिक मस्यौदा, पार्टी विधानमा आवश्यक संशोधन, तथा स्थानीय तहका उम्मेदवार छनोटका लागि क्लब गठन र आवेदन प्रक्रिया सम्बन्धी विषयहरू प्राथमिक छलफलमा रहनेछन् ।
त्यसैगरी प्रवासमा रहेका नेपालीलाई विदेशमै मतदानको व्यवस्था गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिनेछ। पार्टी सचिवालयले गरेका निर्णयहरूको अनुमोदनसम्बन्धी विषय पनि एजेन्डामा समावेश गरिएको छ ।
विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारहरूको व्यवस्थापन, विषयगत विभागहरूको कार्ययोजना तयारी, नीति सम्बन्धी छलफल तथा संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा विचार–विमर्श हुने पार्टीले जनाएको छ । तीन वटा छुट्टै प्रस्तावमार्फत विविध समसामयिक विषयमा छलफल अघि बढाइने तयारी गरिएको रास्वपाले स्पष्ट पारेको छ ।