२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बलियो सरकार बनाएपछि पार्टी निर्माणमा जुट्यो रास्वपा

Nada
दिवाकर अधिकारी
२०८३ वैशाख ७ गते ०६:२५
Shares
बलियो सरकार बनाएपछि पार्टी निर्माणमा जुट्यो रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार तीनवटा महत्वपूर्ण दूरगामी निर्णय ग¥यो । केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । 

ncell

पार्टी प्रवक्ता मनीष झाका अनुसार ‘प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका सांसदलाई जिम्मेवारी तोक्ने’ अर्को निर्णय भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय भएको छ । 

आइतबार भएका यी निर्णय सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने कार्यसूची छ । यी निर्णय पार्टीको संगठन निर्माणका सन्दर्भमा महत्वपूर्ण छन् । 

पार्टी गठनपछि रास्वपा विघटित प्रतिनिधिसभाको कार्यकालमा संसदीय गतिविधिमा केन्द्रित थियो । २१ फागुनको निर्वाचनबाट दुईतिहाइनजिकको बलियो सरकार बनाएर रास्वपा अब भने देशव्यापी पार्टी संगठन बलियो बनाउनेतिर लाग्दै छ ।

आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । यसको तयारीका लागि पार्टी संगठन बनाउने काम यसबीचमा हुनेछ । 

१६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२५ क्षेत्रमा जित हासिल ग¥यो । बाँकी क्षेत्रमा अन्य दलका सांसद प्रत्यक्ष निर्वाचित भएका छन् । दलको प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई जिम्मेवारी दिएर रास्वपाले संगठन बनाउँदै छ । यसको सिधा अर्थ हो, जनताले सांसद भेट्न पाउँछन् । सांसदले जनताको कुरा सिधै सरकारमा पु¥याउने विश्वास गर्ने भएकाले संगठन निर्माणमा ठुलो अर्थ राख्छ ।

पार्टीको प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई दिएर रास्वपाले नेपाल बाहिर पनि संगठन निर्माणलाई अगाडि बढाउन खोज्दै छ । 

संगठन निर्माणलाई बलियो बनाउन रास्वपाले आगामी चुनावमा उम्मेदवार उठाउने विषयलाई अहिलेदेखि नै अगाडि बढाउँदै छ । रास्वपाबाट उम्मेदवारका आकांक्षीलाई एकीकृत गर्ने गरी उसले ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्दै छ । 

आगामी स्थानीय तहको निर्वाचनको तयारीअन्तर्गत रास्वपाले उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाएको हो ।

नेताहरूका अनुसार उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवारकेन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडाध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।

२०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । सोही अवधारणालाई अगाडि बढाइएको हो ।

नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् ।

क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षण दिनेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिन उम्मेदवार क्लबको अवधारणा ल्याएको हो । नेताहरूका अनुसार उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्वतयारी गर्ने एउटा विधि हो ।

उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टीसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।

अर्थात्, आगामी चुनावमा उम्मेदवार हुन चाहने जो–कोही उम्मेदवार क्लबमा जान सक्ने भए । तिनलाई रास्वपाले उम्मेदवार हुन नपाए संगठनमा जिम्मेवारी दिने विश्वासमा पार्टीमै आबद्ध गराउन सक्दछ । यो पनि संगठन निर्माणको रणनीति हो ।

ताजा खबर

सम्बन्धित खबर