
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ ।
पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भइरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् ।
पार्टी मुख्यालय सानेपामा सोमबार अपराह्न सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ७ दिनका लागि उहाँमाथि सोधिएको स्पष्टीकरणको म्याद अझै २ दिन भएकाले यस बीचमा अरु अन्य कुनै पनि निर्णय गर्न नसकिने अडान राखे । पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हटन नमिल्ने संयोजक गुरुङको भनाइ थियो ।
नेता खड्कालाई समितिको वैशाख २ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेता खड्काले स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय वैधानिक नभएको भन्दै अस्वीकार गरेका थिए ।