
काठमाडौँ : नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम हालका लागि स्थगित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मातहत निकायलाई परिपत्र पठाउँदै पूर्वनिर्धारित कार्यक्रम विशेष कारण देखाउँदै स्थगन गरिएको जानकारी गराएका हुन् ।
परिपत्र अनुसार ७ वटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ११ गतेका लागि तय गरिएको कार्यक्रम अर्को सूचना नभएसम्मका लागि रोकिएको उल्लेख छ ।
यसअघि पनि सुदूरपश्चिम प्रदेशको वैशाख ६ गते तय गरिएको कार्यक्रम स्थगित गरिएको थियो । पार्टीले हालसम्म मधेश, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ भने कोशी प्रदेशमा कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।
स्थगित भएका दुई प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम दुवै नेतृत्व पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने नेताहरूको जिम्मेवारीमा रहेका छन् । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर सभापति रहेका छन् ।
पार्टीभित्र देखिएको आन्तरिक मतभेद र प्रदेश नेतृत्वबाट अपेक्षित समन्वय नहुँदा कार्यक्रम प्रभावित भएको विश्लेषण पनि गरिएको छ । यसैबीच, चुनावी समीक्षा कार्यक्रमहरूमा पार्टी सभापति गगन थापा लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्दै आएका छन् ।