
रुकुम पश्चिम : नेपाली कांग्रेस रुकुम पश्चिमले मंगलबारबाट जरा अभियान कार्यक्रम सुरु गरेको छ । जिल्ला पार्टी कार्यालय मुसिकोट–१ मुसिकोटस्थित पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गर्दै ‘जरादेखि सुधार, कांग्रेसको नयाँ विचार, पारर्शिता, उत्तरदायित्व, जरा अभियान’ भन्ने मूल नारासहित रुकुम पश्चिममा नेपाली कांग्रेसले जरा अभियान कार्यक्रम सुरु गरेको हो ।
रुकुम पश्चिमका ७३ वटा वडामा जिल्लाबाट प्रतिनिधि खटाइने र वडामा खटिने प्रतिनिधिहरूलाई वैशाख १२ गते १ दिने अभिमुखीकरण तालिम सञ्चालन गरिने पार्टीले जनाएको छ । जरा अभियानका लागि रुकुम पश्चिमका केन्द्रीय प्रतिनिधि महेन्द्रबहादुर शाहले पार्टीलाई बलियो र सुदृढ बनाउन देशैभर पार्टीले सुरु गरेको जरा अभियान अन्तर्गत रुकुम पश्चिममा पनि कार्यक्रमको शुभारम्भ गरेको बताए ।
उनले कांग्रेस सुदृढ बनाउन अभियानका लागि तालिम दिइने र त्यस पश्चात वडामा खटिने प्रतिनिधिहरूले सदस्यता अद्यावधिक लगायतका काम गर्ने जानकारी दिए । नेपाली कांग्रेसले जिल्ला अधिवेशन भदौ २४ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते र १५ औं केन्द्रीय महाधिवेशन १६, १७, १८ र १९ गते काठमाडौंमा गर्दैछ ।