
काठमाडौं : वालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन् । सरकार गठनको २७ दिनभित्रै एक जना मन्त्री बर्खास्त र अर्काेले राजीनामा दिएपछि सरकारको सुशासन, नैतिकता र आन्तरिक अनुशासनमाथि प्रश्न उठ्न थालेको छ ।
सरकार गठनसँगै उच्च अपेक्षा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको यो सरकार सुरुवाती चरणमै विवादमा तानिएको हो ।
गृहमन्त्री गुरुङको राजीनामा
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा नागरिकस्तरबाट उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै आफूले पदत्याग गरेको उल्लेख गरेका छन् । उनले आफ्नो पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् र सम्बन्धित विषयमा निष्पक्ष छानबिनका लागि मार्ग खुला होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
राजीनामाअघि उनले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेका थिए । पछिल्ला दिनमा पार्टीभित्रै उनीमाथि स्पष्टीकरण सोध्नुपर्ने आवाज उठे पनि औपचारिक प्रक्रिया अघि बढाइएको थिएन ।
प्रारम्भिक कार्यकालमै केही उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विवादका कारण आलोचनाको केन्द्रमा परेका थिए ।
श्रममन्त्री साह बर्खास्त
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री शाहले पदबाट बर्खास्त गरेका थिए ।
रास्वपाको सिफारिसमा चैत २६ गते साहलाई मन्त्री पदबाट हटाइएको हो । उनी मन्त्री बनेको १४ दिनमै पदमुक्त भएका थिए ।
मन्त्री साहले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा निरन्तर संलग्न गराएको आरोप लागेपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
यस विषयमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले विस्तृत अध्ययन गरी कारबाही सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
पार्टीले यस्तो गतिविधिले संगठनको छवि, सिद्धान्त र मर्यादामा गम्भीर असर पर्ने निष्कर्ष निकालेको थियो । साथै पार्टी विधानअनुसार 'राइट टु रिकल' प्रावधान प्रयोग गर्दै उनलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरिएको थियो ।
यसै प्रकरणमा अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराइएको थियो ।
सुरुवाती चरणमै चुनौती
सरकार गठनको छोटो अवधिमै दुई मन्त्री बाहिरिनु बालेन नेतृत्वको सरकारका लागि राजनीतिक र नैतिक दुवै दृष्टिले चुनौतीपूर्ण संकेतका रूपमा हेरिएको छ ।
एकातिर मन्त्रीमाथि उठेका आरोपपछि तत्काल कदम चालिएको भन्दै समर्थकहरूले यसलाई सुशासनतर्फको संकेतका रूपमा व्याख्या गरेका छन् भने अर्कोतर्फ लगातार देखिएका विवादले सरकारको स्थायित्व र आन्तरिक समन्वयमाथि प्रश्न उठाएको छ ।