
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोजिरहेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिशोध शासन सञ्चालन प्रणालीको आधार हुन नसक्ने बताए । उनले लोकतन्त्र र संविधानको मूल्य र मान्यताका आधारमा सरकार चलाउन आग्रह गरे ।
उनले सरकार लोकतान्त्रिक मूल्यविपरीत गतिविधितर्फ उन्मुख भई अधिनायकवादी र प्रतिशोधपूर्ण बाटोमा अघि बढेमा नेपाली जनता र एमालेले त्यसको प्रतिवाद गर्ने बताए ।
पूर्वाग्रह त्यागेर जनताको पक्षमा काम गर्न र आफ्ना चुनावी वाचा पूरा गर्न उनले सरकारलाई सुझाव दिए । उनले यसपटकको निर्वाचनमा जनताले एमालेलार्य अस्वीकार गरेपनि सधैंका लागि पराजित नभएको बताए ।
उनले पुनः जनताको विश्वास जित्ने अधिकार कसैले पनि खोस्न नसक्ने पनि उल्लेख गरे । एमाले पुन एकिकृत भएर पुन नेपालको मुलधारमा आउने उनको भनाइ छ ।
उनले एमालेले विगतका कमीकमजोरीलाई आत्मसमिक्षा गरेर अगाडि बढ्ने बताए । विगतका कमीकमजोरी औल्याउँदै पार्टीको पुनगर्ठन गर्ने उनको भनाइ छ । अर्को निर्वाचनमा पहिलो शक्ति बन्ने गरी एमालेलाई संगठित गर्ने बताउँदै उनले सोही अनुसार लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।