
काठमाडौं : चुनावी परिणामले दुःखी बनेका कार्यकतालाई सान्त्वना दिँदै पार्टी स्थापना दिवस मनाएका दुई प्रमुख बामपन्थी दलहरुले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयभने ढाकछोप गरेका छन् ।
विसं २००६ वैशाख ११ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापन भएको कम्युनिष्ट पार्टीले पछिल्लो चुनावमा अंक गणितमात्र होइन समग्र कम्युनिष्ट पार्टीले पाउँदै आएको लोकप्रिय मतमै पहिरो गएको छ । यस पृष्ठभूमीमा प्रमुख कम्युनिष्ट पार्टीका नेताहरुले कार्यकर्तालाई निराश नहुन औपचारिक आग्रह गरे पनि नयाँ परिस्थितिमा पार्टी कसरी अघि बढछ् भन्ने स्पष्ट दृष्टिकोण ल्याउन भने सकेनन् ।
पार्टी स्थापना दिवसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको सन्देशमा चुनावी परिणाम यसअघि पनि प्रतिकुल रहेको स्मरण गराएका छन्। उपाध्यक्ष रामबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीको लिखित शुभकामना सन्देश पढेर सुनाएका थिए । ‘देशभक्त शक्तिहरूको लागि हाम्रो इतिहासका कतिपय कालखण्ड यस्तै प्रतिकुलता थिए, एमालेले त्यसलाई झेलेर यहाँसम्म आएको हो।’ सन्देशमा उल्लेख छ ।
निर्वाचनको पराजयबारे स्थानीय र जिल्ला स्तरमा एमालेले एक चरण समीक्षा गरेको छ । यद्यपी थप गम्भिर समिक्षा गर्ने पनि ओलीले सन्देशमार्फत बताएका छन । ‘आज हामीले व्यहोर्नुपरेको असफलताका विषयमा समग्र पार्टीभित्र गम्भीर समीक्षा गर्दै फेरि यस आन्दोलनलाई सफलताको उचाइमा पुर्याउनुपर्ने छ। यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ’ । पाटीको एउटा पंक्तिले नेतृत्व हस्तान्तरण चाहिरहेको बेला अध्यक्ष ओलीले अहिले जस्तो चुनौति अरुबेला पनि आएको र यसको पनि सामना गरिने बताएका छन्। ‘पार्टीले आफ्नो उद्देश्यको झन्डालाई झुक्न दिएन, आफ्नो गन्तव्य बदलेन र समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने सङ्कल्प कहिल्यै छोडेन। आजको समयका चुनौतीलाई हामीले पार्टीलाई एकताबद्ध बनाएर सामना गर्नुपर्ने छ। त्यसका लागि हामी सबैले प्रण गरौँ।’ छ ।
स्थापना दिवसका प्रमुख वक्ता उपाध्यक्ष रामबहादुर थापाले भने एमालेका १०औँ र ११औँ महाधिवेशनले नै पराजयका कारण र भविष्यका दिशाबारे स्पष्ट सङ्केत गरिसकेको बताए । पार्टीभित्र र बाहिर देखिएको दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गर्न नसक्नु नै पराजयको मुख्य कारण हो, उनले भने।
पार्टीले आन्तरिक रूपमा र बाह्य रूपमा पनि दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न भएको भन्दै उनले नेतृत्व विरुद्ध अभिव्यक्ति दिनेहरु अराजकतावादी भएको बताए । ‘दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गरेर मात्रै समाजवाद विजयी हुन सक्छ। यो १० औँ महाधिवेशन र ११ औँ महाधिवेशनको मूल निष्कर्ष हो’, उनको भनाई थियो ।
पार्टीले दक्षिणपन्थीलाई जित्नुपर्नेमा उल्टो दक्षिणपन्थी प्रवृत्तिले चुनावमा एमालेलाई हराएको भनाई उनको थियो ।
नेतृत्व परिर्वतनको आवाज उठाउँदै आएका एमाले नेता विष्णू पौडेलले टाउकोमाथि हात राखेर निराश नहुन कार्यकर्तालाई आग्रह गरे । त्यसका लागि आफ्ना कमि कमजोरीप्रति आत्मालोचित हुने भनाई उनको थियो । साथै एमालेको संगठन र कार्यशैली रुपान्तरण गरेर नयाँ ढंगले अघि बढ्ने उनले बताए । ‘आन्तरिक र बाह्यक परिस्थिति बुझेर आफैलाई परिवर्तन गरेर जनतामा गुमेको विश्वास फिर्ता ल्याउनेछौं, उनको भनाई थियो ।
उपाध्यक्ष पौडेलले यसपटकको चुनावको पराजय गम्भीर भएको उल्लेख गर्न भने छुटाएनन् । यसपट इतिहासकै ठूलो धक्का व्यहोरेका कारण निर्मम समीक्षा जरुरी भएको भनाई पनि उनको थियो ।
पार्टी कार्यालय पेरिस डाँडामा स्थपना निवस मनाएकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टी कार्यकर्तालाई निराशाको कुरा नगर्न आग्रह गरे । पार्टीभित्र कतिपय नेताहरुले निराशा जन्य कुरा सुनाउन थालेको उल्लेख गदए अगाडी थपे, ‘मलाई आजकल निराशाको कुरा सुनाउने मान्छे मेरो अगाडि नआइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यस्तो होइन। हामीले सोचेभन्दा छिट्टै जनताको, आन्दोलनको, समाजवादको, कम्युनिस्ट पार्टीको एउटा अर्को उभार छिट्टै आउँदै छ।’
पार्टीका सहसंयोजक माधव कुमार नेपालले सम्बोधनको अधिकांश समय चुनावी पराजयबाट न आत्तिन कार्यकर्तालाई आग्रह गर्नमा खर्च गरे । ‘एउटा चुनावी पराजयबाट आत्तिने मानिसले गरिखाँदैन, उनको भनाई थियो ।