
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशक लामो माओवादी विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा फर्किएपछि आर्जन गरेको अपार जनमत चुहाउँदै–चुहाउँदै संसद्को चौथो दलमा झारे । विद्रोहबाट उदाएका धेरै नेताहरू ओइलाइसके । तैपनि, उनी झन्डै चार दशक लामो पार्टी नेतृत्वबाट विश्राम लिने मुडमा छैनन् । उनलाई लाग्छ, ‘मैले छाडे आन्दोलन के गति होला ?’ त्यही चिन्ताले खुम्चिँदै गएका प्रचण्डले ७७औं पार्टी स्थापना दिवसमा आउँदो असोजमा आफ्नो नेतृत्वदायी भूमिका परिवर्तन गर्ने वचन दिए, तर नेतृत्व छाड्छु भनेनन् । ‘सकेसम्म असोजसम्ममा महाधिवेशन गर्ने र पार्टी पुनर्गठन, अहिलेको नेतृत्वको रूप र भूमिकालाई नयाँ रूप दिने सोच छ,’ उनले प्रस्टै भनेका छन् ।
प्रचण्डले जे भने पनि नेकपाभित्र नीति कि नेतृत्व परिवर्तनबारे बहस भने सुरु भएको छ । तर, प्रचण्डपछिको नेतृत्व लिने अनुहार भने प्रस्ट देखिँदैन । विद्रोहबाट आएका माओवादी नेता र लामो समय नेकपा (एमाले)को नेतृत्वमा रहेका नेताबीच राम्ररी अन्तरर्घुलन हुन नसक्दा नेकपामा अहिले नेतृत्व संकट देखिन्छ ।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा गाइँगुइँ कुरा चलिरहेकै बेला प्रचण्डले दिएका अभिव्यक्तिले नेकपाभित्र नेतृत्व हस्तान्तरको मुद्दा सजिलै उठ्ने देखिँदैन । ‘पार्टीलाई नयाँ बनाउनेबेला हो यो,’ उनले भनेका छन्, ‘मैले त साथीहरूसँग सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु ।’ प्रचण्डको यो अभिव्यक्तिपछि पार्टी नेतृत्वका विकल्प खोज्नेहरूलाई झस्काएको छ ।
हाल नेकपाबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका जनार्दन शर्माले माओवादीमा रहँदा नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । संयोजक प्रचण्ड र उनीबीच अन्तरसंघर्ष चर्किएपछि जनार्दन नेकपामा सामेल नभई प्रलोपा गठनमा लाग्न बाध्य भए । २०८२ कार्तिक १९मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका आठ दलको एकता भएको थियो । पार्टी एकतामा असन्तुष्टि जनाउँदै शर्मा र नेता सुधन किरातीले प्रलोपा बनाएर छुट्टिएका थिए ।
नेतृत्व हस्तान्तरणको चर्चा
प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेर बनाएको नेकपा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सानो आकार खुम्चिएपछि महाधिवेशन र नेतृत्व हस्तान्तरणको माग बढ्न थालेको छ । निर्वाचनपछि युवा नेताहरूले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने माग उठाउन थालेका छन् । ‘समग्र पार्टी रूपान्तरण अहिलेको आवश्यकता हो,’ नेता हिमाल शर्माले भने, ‘पार्टीको नीति र नेतृत्व एकअर्कासँग सम्बन्धित विषय भएकाले दुवै परिवर्तन गरेर बदलिँदो जनभावनाअनुसार पार्टीलाई रूपान्तरण गरेर लान सक्नुपर्छ । नीति र नेतृत्व रूपान्तरणले मात्र पार्टी निर्माण गर्न सकिन्छ ।’
तर कतिपय भने अहिले नै नेतृत्वको बहस छिटो हुने बताउँछन् । महाधिवेशनको मिति नै तय नभइरहेको अवस्थामा नेतृत्व परिवर्तनको चर्चाले खासै अर्थ नराख्ने नेता हितराज पाण्डेले बताए । जेनजी आन्दोलनपछि प्रचण्डले अध्यक्ष पद छाडेको भन्दै आफैंले आफूलाई संयोजक घोषणा गरेका थिए । असोज तेस्रो साता उनले भनेका थिए, ‘जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्छ भनेर नै केन्द्रीय समिति भंग गर्ने, आयोजक समिति बनाउने, अध्यक्ष पद छोड्ने, संयोजक हुने, अधिवेशनमा जाने र लिडरसिप नै बदल्नेबारे मैले प्रस्ट रूपमा केन्द्रीय समिति बैठकमा भनेको थिएँ ।’
दाहाल विगत ३६ वर्षदेखि पार्टी मूल नेतृत्वमा छन् । नेकपाका कतिपय नेताहरूका अनुसार प्रचण्ड अझै पनि नेतृत्व हस्तान्तरण गर्न इच्छुक नहुने र दोस्रो÷तेस्रो पुस्ताका नेताहरूले खोसेरै लिने अवस्था छैन । ‘कमरेड प्रचण्ड संयोजक हुँदै फेरि अध्यक्ष हुने तयारीमा हुनुहुन्छ,’ नेकपाका एक नेताले मध्यान्हसँग भने, ‘पार्टीको मूल नेतृत्व लिनेगरी अरू कोही नेता पनि तयार भएजस्तो देखिँदैन ।’
माओवादी र नेकपा एकीकृत समाजवादीलगायत दलबीच कात्तिकमा भएको सहमतिअनुसार यहि वैशाखमा एकता महाधिवेशन हुनुपर्ने हो । तर, १९ चैत्र देखि सुरु भएको केन्द्रीय कार्यसंयोजन समितिको बैठक निरन्तर जारी छ । यद्यपि २१ दिनसम्म पनि बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
नेताका आ–आफ्नै तर्क
विश्वव्यापी प्रविधिसहितको जेनजी आन्दोलनले परम्परागत अभ्यासले मात्रै काम दिँदैन भन्ने देखाएको नेकपामा नेता वर्षमान पुनले बताए । असोजमा महाधिवेशन गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै महाधिवेशनबाटै नेतृत्व प्रणालीमा बहस हुने उनले दाबी गरे । महाधिवेशनमा नयाँ ढंगका साथ संरचनात्मक सुधार गरेर जाने उल्लेख गर्दै पुनले भने, ‘महाधिवेशनमा अध्यक्ष, महासचिव चयन गरेर परम्परागत शैलीले मात्रै काम दिँदैन । युवाहरूलाई पार्टीमा कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्छौं ।’
प्रचण्ड र नेपाल अब मूल नेतृत्वमा नरहने दाबी गर्दै उनले आवश्यक परे ५० प्रतिशतभन्दा बढी युवाहरूको सहभागितामा पार्टी पुनर्गठन गरिने बताए । महाधिवेशनसम्म जाँदा कोही नेता राख्ने र कोही नेता फाल्नेभन्दा पनि पुराना पुस्ताका नेताहरूलाई सम्मानित बनाएर समय र मागअनुसारको नेतृत्व स्थापित गरेर जाने विषयमा पार्टीका सबै पक्षबीच छलफल चलिरहेको पुन बताउँछन् ।
चैत २२ गते संयोजन समिति गठनमा वरीयता मिचिएको विषयलाई लिएर दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन् । एकताका बेला छैटौं वरीयता मागेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल वर्णनुक्रमअनुसार राखिएपछि बैठकमै सहभागी भएका छैनन् ।
केन्द्रीय संयोजन समितिको बैठकमा चाँडो एकता महाधिवेशन गर्नुपर्नेदेखि नेतृत्व पुस्तान्तरणसम्मको विषयले स्थान पाएको नेताहरूले बताएका छन् । पार्टीका प्रवक्ता अग्नि सापकोटा पार्टी केन्द्रको बैठकले चुनावी समीक्षाको निर्णयसँगै महाधिवेशनको कार्यतालिका समेत ल्याउने बताउँछन् । ‘यो बैठक विशेष गरी चुनावी समीक्षाका लागि तय भएको हो,’ सापकोटाले भने, ‘चुनावी समीक्षासहित पार्टीको आन्तरिक जीवनका विभिन्न पाटाहरूका विषयमा हामी छलफलरत छौं । यसले पार्टीको एकता महाधिवेशनको कार्यतालिका समेत ल्याउने गरी छलफल अघि बढेका छन् ।’ तर पार्टी नेतृत्व परिवर्तनको विषयमा महाधिवेशनले नै टुंगो लगाउने उनको जिकिर छ ।
सुरुमा आठ दलबीच भएको पार्टी एकता अभियानमा विभिन्न २५ समूह जोडिइसकेका छन् भने महाधिवेशन आयोजक समितिमा दुई हजार पाँच सय सदस्य पुगेका छन् । तर, ती नेताहरूलाई जिम्मेवारी दिइएको छैन । नेपालका कम्युनिस्ट पार्टीहरूमा सामूहिक नेतृत्वमा चल्नुपर्ने माग जोडतोडले उठे पनि मूल नेतृत्वको छाया अन्य नेता हुने गरेका छन् । व्यक्तिलाई धुरी बनाउने प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीहरूको विधि ओझलमा परेको डा. बेदुराम भुसालले बताए ।
‘कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व अभ्यास हुनुपर्दछ,’ उनले मध्यान्हसँग भने, ‘तर हाम्रोमा व्यक्तिलाई धुरी बनाउने प्रवृत्ति छ । यो कमजोर भयो कि भन्ने प्रश्न आमरूपमा उठेको छ ।’ पार्टीमा सामूहिक नेतृत्वको विकास भयो भने को मूल नेतृत्वमा पुग्यो भन्ने कुराले खासै अर्थ नराख्ने उनको भनाइ छ ।
युवा नेताहरूमै छैन मतैक्य
पार्टीमा नीति र नेतृत्व परिवर्तनको विषयमा नेकपाका युवा नेताहरूमै मतैक्य देखिएको छैन । नेता युवराज दुलाल, माधव सापकोटा, सरल सहयात्रीलगायत पार्टीलाई विधि, पद्धति र प्रक्रियामा लगेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिएका छन् । त्यस्तै, चक्रपाणि खनाल बलदेव, लेखनाथ न्यौपाने, रामप्रसाद सापकोटा, रञ्जित तामाङलगायत युवा नेताहरू तत्कालै नेतृत्व तहमा युवाहरूलाई स्थान दिनुपर्ने पक्षमा छन् ।
पुराना नेताले पार्टी हाँक्न नसक्ने उनीहरूको तर्क छ । तर पार्टीको मूल नेतृत्वमा जान दोस्रो वा तेस्रो तहका नेताहरूले बलियो खुट्टा टेकेको देखिँदैन । संगठनलाई पूरै सुधार गरेर लैजान नेताहरूको जिम्मेवारी व्यापक हेरफेर गर्नुपर्ने अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्षसमेत रहेका रञ्जित तामाङले बताए । ‘आमयुवाको भावनाअनुसार तत्काल केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनमा जाने र पार्टीमा नीति र नेतृत्व परिवर्तनको पक्षमा अभिनुपर्ने बेला आएको छ,’ उनले भने । युवा नेताहरूले वर्तमान संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेतालाई सल्लाहकार बनाएर जान चाहेका छन् ।
तर, उनीपछिका नेता को हुने भन्नेमा कुनै अग्लो कद देखिँदैन । आगामी महाधिवेशनमा पार्टीको जिम्मेवार तहमा पुगेर काम गर्न नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, नन्दबहादुर पुन, भीम रावल, शक्ति बस्नेत, अग्नि सापकोटा, बेदुराम भुसाल, प्रकाश ज्वाला, युवराज दुलाल, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतले इच्छा देखाएका छन् । यद्यपि उनीहरू मूल नेतृत्वमा पुग्नेगरी अझै बलियो रूपमा उभिएका छैनन् । न्यौपाने भन्छन्, ‘निर्वाचन परिणामले देखाइसक्यो कि अब पार्टीका पुनर्संरचना नगरी सुखै छैन । वैचारिक, सांगठनिक, मुद्दाको पुनर्संचना गर्न जरुरी भइसकेको छ ।’
पार्टीको मूल नेतृत्वको विषयमा पनि आन्तरिक छलफलहरू भइरहेको र महाधिवेशनबाटै यी सबै विषय टुंगिने उनी बताउँछन् ।