२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

ओली झस्काउने शंकर–विष्णु उठबस

Nada
रुपेश आचार्य
२०८३ वैशाख ११ गते ०६:४०
Shares
ओली झस्काउने शंकर–विष्णु उठबस

काठमाडौं : कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसमा नेकपा (एमाले)को मुख्यालय च्यासलमा केही रोचक दृश्यहरू देखिए । निम्तापत्रमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्ने वा नराख्ने दुई पक्षको होडबाजी थियो भने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको भाषणको टोन मिलेको थियो । दुवैले नेतृत्वविरुद्ध खुलेरै त बोलेनन्, तर केही संकेत भने छाडेका छन् । कार्यक्रम सुरु हुने बेलासम्म अध्यक्ष ओलीले सम्बोधन गर्ने भनिएको थियो । केहीअघि मात्र पित्तथैलीको अप्रेसन गरेका ओली अन्तिम समयमा नआउने खबर आयो । तर, उनको लिखित मन्तव्य बोकेर उपाध्यक्ष रामबहादुर थापा बादल आइसकेका थिए । उनले सुरुमा ओलीको शुभकामना सन्देश पढेर सुनाए, अनि आफ्नो मन्तव्यतर्फ लागे । र, अन्तिममा पार्टी पुनर्गठनलाई अन्तर्राष्ट्रिय गीतसँग जोड्दै भने, ‘यो अन्तिम युद्ध हो, आ–आफ्नो ठाउँबाट जुटौं ।’ 

ncell

च्यासलमा देखिएको यो दृश्यले एमालेमा आन्तरिक शक्ति सन्तुलन केही फेरबदल भएजस्तो देखिन्छ । तर, अध्यक्ष ओलीलाई चुनौती दिएर नेतृत्व लिन तयार दोस्रो वा तेस्रो पुस्ताका आशालाग्दा अनुहार भने देखिँदैनन् । जसका कारण एमालेमा उकुसमुकुस बढे पनि छिट्टै त्यस्तो उथलपुथलको आकलन गर्न कठिन छ । 

भदौ २३–२४को जेनजी आन्दोलनपछि नै एमालेमा नेतृत्व परिवर्तनको बहस सुरु भएको हो । तर, त्यो माग नफस्टाउँदै ओलीले अर्ली महाधिवेशन बोलाए । ११औं महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा अनुमोदित भएनन् मात्र, पार्टीमा उनकै गुटको दुईतिहाइ वर्चस्व कायम रह्यो । २१ फागुनको निर्वाचनमा एमालेले इतिहासकै ठुलो धक्का व्यहोरेपछि भने पार्टीमा नयाँ नेतृत्वको खोजी हुन थालेका छ । गत महाधिवेशनमा नेतृत्व आँट्न नसकेका शंकर–विष्णु अब ओलीको विकल्प खोज्न नजिकिएको देखिन्छ । तर, त्यसले आकार भने ग्रहण गरिसकेको छैन । बरु ओली पक्ष र विपक्षमा पार्टी पंक्ति विभाजन हुन थालेको छ । एमालेका राजधानी प्रदेश सचिव मिलन धरेल भन्छन्, ‘नेतृत्व एक÷दुुई अमुक पात्रको कुरा होइन । हरेक तहमै नयाँ ढंगले जानुपर्छ भन्ने आवाज पार्टीमा उठिरहेको छ ।’ अहिलेको बहसले वैशाखको अन्तिम वा जेठको पहिलो सातामा हुने केन्द्रीय कमिटी बैठकमा औपचारिक प्रवेश पाउने र सम्भवतः त्यसले केही न केही निकास दिने उनी बताउँछन् । 

तीन समूहको सक्रियता 

एमालेमा ‘अब केपी ओलीबाट पार्टी चल्दैन’ भन्ने नेताहरू तीनथरी देखिन्छन् । एकथरी जो विगतदेखि नै ओलीलाई अध्यक्षमा देख्न चाहँदैनथे । नवौं महाधिवेशनमै ‘स्वास्थ्य र स्वभावका कारण ओली हुन्न’ भनिरहेका थिए । जेनजी आन्दोलनपछि त्यो समूह फेरि जुमुर्राएको छ र निर्वाचन परिणामपछि ओलीको विकल्प खोज्न मुखरित छ । पार्टी नेता सुरेन्द्र पौडेल, उपमहासचिव गोकर्ण विष्ट र योगेश भट्टराईवरिपरि रहेको उक्त समूहले विगतमा ओलीसँग रहेका तर अहिले बिच्किएका नेताहरू आफूतिर तान्न खोजिरहेको छ । यस्ता नेतामा उपाध्यक्ष विष्णु पौडेल र पार्टीबाहिरको च्यानलबाट नेतृत्वलाई चुनौती दिइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहका नेता छन् । 

विगतमा ओलीनजिक रहेका वा ओलीकै मद्दतले करिअर अघि बढाएका केही नेता पनि अहिले ‘ओली गलत नभए पनि परिस्थति ओलीअनुकूल नबनेको’ तर्क राख्न थालेका छन् । उक्त समूह ओलीलाई परिवर्तनका लागि दबाब दिनेभन्दा पनि ‘नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गरिदिए हुन्थ्यो’ भने चाहन्छ । पार्टीमा चुनावको गम्भीर समीक्षा हुनुपर्ने र कार्यशैली बदलिनुपर्ने माग राख्ने यो समूहले अत्यन्त प्रतिकूल चुनावी परिणामको जिम्मेवारी ओली मात्र नभई सबै तहका नेतृत्वले लिनुपर्ने भनिरहेको छ । 

विशेष महाधिवेशनको माग 

एमालेमा एउटा समूहले विशेष महाधिवेशनको मागलाई सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको छ । चैत १४ गतेको सचिवालय बैठकका दिनदेखि सुरु भएको यो अभियानमा  बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियका उपमहासचिव कमल जोशी देखिएका छन् । उनीहरूले प्रदेशमा समेत प्रतिनिधि राखेका छन् । यो समूहलाई ओली समूहप्रति असन्तुष्ट कार्यकर्ताले भित्रबाट सघाए पनि खुला समर्थनमा थोरै मात्रै देखापर्ने गरेका छन । पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा.सुजन कडरियाले सामाजिक सञ्जालमार्फत अभियानको समर्थन गरे पनि हस्ताक्षर भने खासै जुटेको छैन । ‘हाम्रो पार्टीमा सचिवालयमा नटुंगिएका कुरा केन्द्रीय कमिटीले, त्यहाँ नटुंगिएका कुरा महाधिवेशन प्रतिनिधि परिषद्ले र त्यहाँ पनि नटुंगिए महाधिवेशनले टुंग्याउने प्रणाली छ,’ नेतृत्व परिवर्तनकै पक्षमा रहेका एमालेका अर्का नेता भन्छन्, ‘विशेष महाधिवेशन पार नलाग्ने काम हो ।’ विशेष महाधिवेशन मागकर्ताको नाममा बुधबार नयाँ १५ बुँदे प्रस्ताव सार्वजनिक गरियो । 

एमालेको नेतृत्वबारेको चिन्ता महाधिवेशनमा मतदानमा पराजित भएका र जिते पनि कुनै कारणले असन्तुुष्टहरूमा बढी देखिएको बताउँछन् एमाले नेता लालबाबु पण्डित ।  पार्टीले तल्लो तहदेखि नै निर्वाचनका समीक्षा गरिरहेको बताउँदै उनले केही सातापछि हुने केन्द्रीय कमिटी  बैठकले स्पष्ट दिशानिर्देश गर्ने बताए । ‘विद्वान्हरूले खुुसी वा चिन्ताको अवस्थामा निर्णय नगर्नू भनेका छन्, त्यसैले एमालेले आत्तिएर निर्णय गर्दैन,’ उनले भने । नेताहरूले पार्टीभित्रभन्दा फेसबुक आदि सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने प्रवृत्तिले पार्टीलाई अप्ठ्यारो पारेको पण्डितले बताए । नेतृत्व विकासका लागि अति केन्द्रीकरण बाधक हुने बताउँदै उनले नेतृत्व विकास एक रातमा नहुने समेत बताए । 

युवानेता ठाकुर गैरे भने चुनावपछि आमकार्यकर्तामा देखिएको निराशा र अन्योल चिर्न पनि नेतृत्वले तत्काल पुस्तान्तरणको योजना सार्वजनिक गर्नुपर्ने बताउँछन् । ‘यसका लागि अब सचिवालय बैठक र लगत्तै केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र तत्काल निर्णय गर्नुपर्छ,’ उनको भनाइ छ । 

पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको बहस भने बाहिर प्रचारमा आएभन्दा फरक ढंगले चलेको केही नेताहरू बताउँछन् । ‘पात्र, प्रवृत्ति र त्यो प्रवृत्तिलाई जन्माउने प्रणालीसमेत फेर्नुपर्छ भन्ने कार्यकर्ताहरू अमुक नेता हुन्छ वा हुन्न भन्ने बहसमा छैनन्,’ अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा भन्छिन् । पुस्तान्तरण नै केका लागि भन्नेसम्मका बहस भएको उनी बताउँछिन् । ‘सबैभन्दा कान्छो उमेर छानेर नेतृत्वको पगरी लगाइदिँदैमा पार्टीले भोगिरहेको समस्या समाधान हुँदैन,’ उनको भनाइ छ । 

पार्टीका हरेक तहमा विधानको मर्मविपरीत र योग्यताका आधारमा भन्दा पहुँचका भरमा जिम्मेवारी दिइनु, कमिटी प्रणालीभन्दा पनि व्यक्तिको तजबिजी हाबी हुन दिनेजस्ता संस्थागत गल्ती विगतदेखि नै हुँदै आएको लामा बताउँछिन् । ‘यस्तो प्रवृत्ति केन्द्रमा जस्तै तल्ला कमिटीमा पनि छ । त्यो पनि त फेरिनुपर्ला,’ उनले भनिन् । 

विगतमा जस्तो जनतामा कसरी संगठन फैलाउनेभन्दा कसरी नेतृत्व रिझाएर आफनो राजनीतिक करिअर अघि बढाउने प्रवृत्ति मध्यम तहका नेता कार्यकर्तामा देखिएको निष्कर्ष उनको छ । ‘यो कुरा सच्याउन दुई–चारजना नेताहरू फेरेर मात्र हुँदैन,’ लामाले भनिन्, ‘यसअनुसार जाँदा ओली नभए ईश्वर पोखरेल वा शंकर पोखरेल वा योगेश भट्टराई भन्ने कुरा गौण हुन्छ ।’ कार्यकर्ताले यो वा त्योभन्दा पनि समग्र नेतृत्वपंक्तिमै पुस्तान्तरण देख्न चाहेको उनी बताउँछिन् । 

केहीअघि संसदीय दलको नेतामा उम्मेदवारी दिएर पुस्तान्तरणको उद्घोष गरेका युवा नेता सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै पाएनन् । ‘यसले एमालेमा युवालाई कति कठिन छ भन्ने देखाँउछ,’ संस्थापनइतर एक नेताले भने । अर्को पक्ष भने सुहाङलाई अघि सार्नु पपुलिजमको नमुना भएको टिप्पणी गर्छ । कुनैबेला युवा मात्र देखिने पार्टी मानिने एमालेमा अहिले नवयुवा जमात सानो र प्रभाव पार्न सक्ने स्थितिमा नपुगेको भने प्रस्टै देखिन्छ ।  

विद्या भण्डारी फ्याक्टर 

राष्ट्रप्रमुखको भूमिका सकिएलगत्तैदेखि पार्टी राजनीतिमा सक्रिय हुन चाहन्थिन्, विद्यादेवी भण्डारी । पार्टी उपाध्यक्ष, पार्टी अध्यक्ष र प्रधानमन्त्रीको आकांक्षासहित अघि बढेकी उनलाई एमालेले राष्ट्रपति बनाएको थियो । शीतलनिवासबाट फर्किएको केही समयदेखि नै कार्यकारी प्रमुखको अतृप्त चाहना पूरा गर्न च्यासलतिर आँखा लगाएकी भण्डारीलाई अध्यक्ष ओलीले रोके । सुरुमा उनले गोप्य रूपमा सदस्यता नवीकरण गर्न दिए । तर, पार्टी नेतृत्व नै ताक्न थालेपछि सदस्य नवीकरण नहुने निर्णय मात्र गराएनन्, पूर्वराष्ट्रप्रमुख पार्टी राजनीतिमा आउनुहुँदैन भन्ने मान्यता स्थापित गराए । 

यसले भण्डारी मात्र होइन, ओलीको विकल्पका रूपमा भण्डारीलाई अघि सारेका नेताहरूलाई धक्का दिएको छ । उनलाई विगतदेखि सघाएका वा संरक्षण गरेका कतिपय नेता–कार्यकर्ताकै बलमा उनी अघि बढ्न खोजेकी थिइन् । एमालेभित्रको आन्तरिक कलह ओली र भण्डारीको बिग्रेको सम्बन्धको एउटा कारण हो । 

२१ फागुनको चुनावमा एमालेले धक्का व्यहोरेको र रास्वपा सरकारले ओलीमाथि जेनजी आन्दोलन दमनको आरोपमा धरपकड गरिरहँदा पूर्वराष्ट्रपति भण्डारी एमालेमा नेतृत्व परिवर्तनको कसरतमा छिन् । उनी सके आफैं नेतृत्वमा जाने वा आफूले चाहेको समूहलाई स्थापित गर्ने रणनीतिमा छिन् । ‘कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया तीव्र पार्नुभएको  छ । तर सदस्यता टुंगो नलागेसम्म यसले औपचारिक रूप पाउँदैन,’ भण्डारीनिकट एक नेताले भने । उनको पार्टी फिर्ती अभियानलाई सुरुमा तत्कालीन उपाध्यक्ष ईश्वर पोखरेलले साथ दिएका थिए । हालै सम्पन्न काठमाडौं जिल्ला कमिटीको चुनावी समीक्षा बैठकले त्यसलाई औपचारिक रूपमै साथ दियो । बैठकले ‘प्रतिकूल चुनावी परिणामका लागि मूल नेतृत्व जिम्मेवार’ भएको निष्कर्षका साथ विद्या भण्डारीको सदस्यता खुलाउनुपर्ने  निर्णयसमेत गरेको थियो । 

ताजा खबर

सम्बन्धित खबर