
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न सक्ने व्यवस्था बनाउनु नै सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,’ थापाले भनेका छन्, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’
थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अझ बढी जिम्मेवार र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण नागरिकहरूमा लोकतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरेका छन् ।