
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।
बैठकमा संसदीय दलको नेताको निर्वाचन प्रक्रिया, पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
कांग्रेसले आजै संसदीय दलको नेता चयन गर्न निर्वाचन कार्यक्रम तय गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार दिउँसो ३ बजे उम्मेदवारी दर्ता, ४:४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तथा त्यसपछि ५ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका छन् । यसबाहेक मोहन आचार्यदेखि निष्कल राईसम्मका नेताहरूको नाम पनि चर्चामा रहेको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन् । संसदीय दलको नेता चयनलाई पार्टीभित्रको भावी रणनीति र संसदीय भूमिकासँग जोडेर हेरिएको छ ।