
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनको आगमनका क्रममा समर्थकहरू पोखरा विमानस्थलमा भेला भई स्वागत गरेका छन् ।
विमानस्थल क्षेत्रमा बाजागाजासहित उपस्थित समर्थकहरूले स्वागत कार्यक्रम गरेका थिए । सो क्रममा केही समूहले राजसंस्थाको पक्षमा तथा वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी समेत गरेका जनाइएको छ ।
लोकतन्त्र दिवसकै दिन शाह पोखरा पुगेका हुन्। उनी पोखरामा हालै सञ्चालनमा आएको सोल्टी होटेलमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार शाह कम्तीमा दुई सातासम्म पोखरामा रहने प्रारम्भिक कार्यक्रमसहित त्यहाँ पुगेका हुन् । बसाइँ अवधिमा उनले विभिन्न स्थानको अवलोकन गर्नुका साथै भेटघाट कार्यक्रमसमेत गर्ने तयारी रहेको छ ।
पोखरा भ्रमण व्यवस्थापन समितिसँग आबद्ध अर्जुन खनालले यस पटकको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको बताएका छन् । उनका अनुसार लामो बसाइँसहितको यस भ्रमणले राजनीतिक सन्देशसमेत दिने अपेक्षा गरिएको छ ।
यसअघि २०८१ माघ २७ गते पनि शाह पोखरा पुगेका थिए। त्यतिबेला करिब दुई साताको बसाइँपछि काठमाडौँ फर्कँदा उनका समर्थकहरूले विमानस्थल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भई स्वागत गरेका थिए ।